भरतपुर, १३ साउन।
दुग्ध सहकारी संघ चितवनले अग्रपंक्तिमा खटिएका दुग्ध कर्मचारीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ । संघले बुधबार पत्रकार भेटघाट कार्यक्रम गर्दै दैनिक उच्च जोखिममा रहेर काम गर्नुपर्ने कर्मचारीलाई खोप उपलब्ध गराउन माग गरेको हो ।
‘हरेक दिन चार सयभन्दा बढी किसानसँग पत्यक्ष सम्पर्कमा रहेर काम गर्नुपर्ने दुग्ध सहकारीका कर्मचारी खोपको लागि प्राथमिकतामा नपर्नु दुःखद हो’, संघका सचिव किशोर बगालेले भने, ‘सरकारले तुरुन्तै खोप उपलब्ध गराउनु पर्छ ।’
चितवन दुग्ध सहकारीका अध्यक्ष रत्नमणि न्यौपानेले पहुँचका आधरमा लक्षित समूहभन्दा बाहिरकाले खोप लगाएपनि वास्तविक जोखिम समूह प्राथमिकतामा नपर्नुले शासकीय प्रणालीको खिल्ली उडाएको बताए । उनले खोपका लागि मन्त्रालयदेखि स्थानीय तहसम्म आग्रह गरिएपनि एकले अर्कोलाई देखाएर पन्छिने गरेको सुनाए । चितवनमा रहेका एक सय २० सहकारी संस्थाका ५ सय कर्मचारीलाई तुरुन्तै खोप उपलब्ध गराउनुपर्ने अध्यक्ष न्यौपानेको माग छ ।





