टोकियो ओलम्पिकमा गौरिकाले सुधारिन् राष्ट्रिय कीर्तिमान्

टोकियो, १३ साउन ।

नेपाली पौडीबाज गौरिका सिंहले टोकियो ओलम्पिक २०२० अन्तर्गत महिला १ सय मिटर फ्रिस्टाइल स्पर्धा १ मिनेट ११ मिलिसकेन्डमा पूरा गर्दै बुधबार आफ्नै नामको राष्ट्रिय कीर्तिमान्लाई सुधारेकी छन् ।

“राष्ट्रिय रेकर्ड बनाउन सकेकोमा एकदम हर्षित भएकी छु”, टोकियो अक्वाटिक्स सेन्टरमा पहिलो हिट्सको लेन ४ मा उत्रिएकी १८ वर्षीया गौरिकाले भनिन्, “कोभिड १९ को कारण लामो समय अभ्यास गर्न पाएको थिइनँ । लङ कोर्स (५० मिटरको स्वीमिङ पुल)मा ओलम्पिक अघि मात्रै केही दिन अभ्यास गरेकी थिएँ । त्यहाँ (तोकुसिमा) मेरो प्रशिक्षक पनि हुनुहुँदैनथ्यो । त्यसलाई पनि टाइफुनले असर पारेको थियो । तैपनि यहाँ (टोकियोमा) रेकर्ड बन्यो ।”

उनले ५० मिटरको स्वीमिङ पुल (लङ कोर्स) मा दुई वर्षअघि दक्षिण कोरियाको ग्वाङ्जुमा आयोजित १८औँ फिना वर्ल्ड च्याम्पियनसिप २०१९ मा निकालेको १ मिनेट ६२ मिलिसेकन्डको रेकर्डलाई टोकियो ओलम्पिकमा सुधार गरेकी हुन् । हिट्स १ मा उनीसँगै नाइजेरिया, मोन्टेनेग्रो र ग्वामका खेलाडीले प्रतिस्पर्धा गरेका थिए । उक्त हिटमा नाइजेरियाकी एबियोला उगुन्बानयोले ५९.७४ सेकेन्डसाथ पहिलो भइन् । पहिलो हिटमा गौरिका भने तेस्रो भइन् । सो स्पर्धाको ७ वटा हिटमा ५१ जना खेलाडी पुलमा उत्रिएका थिए । यो स्पर्धामा समयको आधारमा शीर्ष १६ खेलाडी सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

१८ वर्षीया गौरिकाले गृष्मकालीन ओलम्पिकमा दोस्रो पटक सहभागिता जनाएकी हुन् । यसअघि उनले रियो ओलम्पिक २०१६ मा पनि प्रतिस्पर्धा गरेकी थिइन् । उनले ब्राजिली भूमिमा ५ वर्षअघि ११ हजार बढी खेलाडीमध्ये सबभन्दा कम उमेरकी खेलाडी भएर विश्वमै चर्चा पाएकी थिइन् । त्यस बेला १३ वर्ष २५५ दिनको छँदा प्रतिस्पर्धा गरेकी उनी आफ्नो हिट्समा पहिलो भएकी थिइन् ।

नेपालले आयोजना गरेको १३औँ दक्षिण एसियाली खेलकुद (साग) २०१९ मा चार स्वर्ण, २ रजत र ३ कांस्यसहित नौ पदक जितेकी उनी घरेलु प्रतियोगितामा सात वर्षयता कीर्तिमानी रहँदै आएकी छन् । उनले १२औँ साग २०१६ (गुवहाटी) मा पनि १ रजत र ३ कांस्यसहित ४ पदक जितेकी थिइन् ।

जारी टोकियो ओलम्पिकमा पौडीकै पुरुष १ सय मिटर फ्रिस्टाइलमा अलेक्जेन्डर शाहले मंगलबार आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान् सुधार गरेका थिए । उनले ५३.४१ सेकेन्डको समय निकाल्दै १८औँ फिना वर्ल्ड च्याम्पियनसिप २०१९ मा बनाएको ५६.२८ सेकेन्डको कीर्तिमान्लाई टोकियो ओलम्पिकमा सुधार गरेका हुन् ।

टोकियो ओलम्पिक्स २०२० मा नेपालको तर्फबाट सहभागिता जनाएका पाँचमध्ये अन्तिम खेलाडी सोनिया भट्टले १०० मिटर एथ्लेटिक्स स्पर्धातर्फ खेल्न बाँकी छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट