भरतपुर, ११ श्रावण ।
पछिल्लो २४ घण्टामा चितवनका थप १८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ११७ जनामा पीसीआर तथा ७२ जनामा एन्टिजेन विधिद्वारा गरिएको परीक्षणबाट संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जनाएको हो ।
कार्यालयले सोमबार प्रकाशन गरेको अद्यावधिक तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा पीसीआर परीक्षणका लागि १ हजार २०६ जनाको स्वाब संकलन गरिएको थियो । यस्तै सोही अवधिमा १८८ वटा एन्टिजेन परिीक्षण भएका थिए । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा करिब १३.५६ प्रतिशत नमूनामा कोरोना पोजिटिभ पाइएको हो ।
यस्तै, चितवन जिल्लाभित्र सक्रिय संक्रमितको संख्या हाल १ हजार ९०३ रहेको कार्यालयले प्रकाशन गरेको तथ्याङ्कमा उल्लेख छ । तीमध्ये १०९ जना अस्पतालको आइशोलेसनमा छन् भने १ हजार ७८७ जना घरमै आइशोलेसनमा रहेका छन् । ७ जना संक्रमित भने स्थानीय तहले निर्माण गरेको आइशोलेसनमा छन् ।
थपिएका संक्रमितसँगै चितवन जिल्लाभित्रका कूल संक्रमितको संख्या १९ हजार ५२९ पुगेको छ । जिल्लाभित्र हालसम्म भरतपुर महानगरपालिकामा सबैभन्दा धेरै १३ हजार ९४० जनामा संक्रमण पुष्टि भइसकेको छ । पछिल्लो २४ घण्टामा जिल्लाका ११४ जना संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार हालसम्म १७ हजार ३०५ जना संक्रमितलाई निको भइसकेको छ ।
कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाका कुनै पनि संक्रमितको मृत्यु भएको छैन । जिल्लाभित्र हालसम्म संक्रमणका कारण ३२१ जनाले ज्यान गुमाइसकेका छन् । हालसम्म सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका २०४ जनाको संक्रमणका कारण मृत्यु भइसकेको छ ।
रत्ननगर नगरपालिकाका ३२ जना संक्रमितको मृत्यु हुँदा खैरहनीका २२ तथा राप्तीका २९ जनाको मृत्यु भएको छ । कालिका नगरपालिकाका २०, माडी नगरपालिकाका ११ तथा इच्छाकामना गाउँपालिकाका ३ जनाको पनि संक्रमणका कारण मृत्यु भएको छ ।
चितवनका अस्पताल तथा आइसोलेसनमा १९७ जना संक्रमितले उपचार गराउँदै
स्वास्थ्य कार्यालय चितवनले सोमबार प्रकाशन गरेको दैनिक कोभिड–१९ रिपोर्ट अनुसार हाल चितवनका अस्पताल तथा आइशोलेसन केन्द्रमा राखिएका कोरोना संक्रमितको संख्या १९७ पुगेको छ ।
हाल अस्पतालका आइसीयु कक्षमा ७० जना, एचडीयू कक्षमा ४५ जना तथा स्थानीय तहले निर्माण गरेका आइशोलेसन केन्द्रका समेत गरी जेनरल बेडमा ८२ जना संक्रमितले उपचार गराइरहेका छन् । आइसीयुमा रहेकामध्ये ११ जनाले भने श्वासप्रश्वासका लागि भेण्टिलेटरको सहायता लिइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार हाल भरतपुर अस्पतालमा ९०, चितवन मेडिकल कलेज (सीएमसी) शिक्षण अस्पतालमा ५४, कलेज अफ मेडिकल साइन्सेस (सीएमएस) शिक्षण अस्पतालमा १९ तथा विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ९ जना संक्रमितको उपचार भइरहेको छ । यस्तै भरतपुरका अन्य निजी अस्पतालमा पनि १४ जना संक्रमितले उपचार गराइरहेका छन् ।
अस्पताल तथा स्थानीय तहले तयार पारेको आइशोलेसन केन्द्र समेत गरी जिल्लामा हाल संक्रमितको उपचारका लागि ९४४ वटा शैया छुट्याइएका छन् ।
हाल जिल्लाभित्र भरतपुर महानगरपालिकाको आइसोलेसन केन्द्रमा ७ जना तथा कालिका नगरपालिकाको आइसोलेसन केन्द्रमा ४ जना संक्रमित राखिएका छन् । अन्य स्थानीय तहका आइशोलेसन भने खालि रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा चितवन जिल्लाका अस्पतालमा उपचार गराइरहेका १ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका अनुसार भरतपुर अस्पतालमा ज्यान गुमाएका ती संक्रमित नवलपरासीका हुन् ।
यस्तै, पछिल्लो २४ घण्टामा अस्पताल तथा आइशोलेसन केन्द्रबाट २८ जना डिस्चार्ज भएका छन् ।





