महोत्तरी, ११ साउन ।
महोत्तरीको गौशाला नगरपालिका–१ रामनगरमा एक अर्ब पचास करोड रूपैयाँको लागतमा नयाँ कागज उद्योग स्थापनाका लागि शिलान्यास भएको छ । आइएमई समूहका अध्यक्ष तथा उद्यमी चन्द्रप्रसाद ढकालसहितका उद्योगपतिले नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रिज प्रालिको शिलान्यास गरेका हुन् ।
अध्यक्ष ढकाल, जनकपुरधामको सर्राफ समूह, उद्योगपति सुनिल गोपाल श्रेष्ठ, होमनाथ ज्ञवालीलगायतको सो उद्योगमा लगानी रहेको छ । उनीहरूले संयुक्त रूपमा उद्योगको शिलान्यास गरेका हुन् ।
आइएमई समूहद्वारा प्रवर्द्धित यस उद्योगको आफ्नै ११ बिघा जमिनमा निर्माण हुने भवनमा कारखाना सञ्चालन हुने बताइएको छ । उद्योगलाई आवश्यकपर्ने सबै उपकरण र यन्त्र जडानको काम एक वर्षभित्र सम्पन्न गरेर उत्पादनको काम शुरु गरिने ढकालले बताए ।
दैनिक ७५ टन कागज उत्पादन गर्ने क्षमताको यस उद्योग सञ्चालनमा आएलगत्तै कम्तीमा एक सय जनाले तत्काल रोजगार पाउने बताइएको छ । यस उद्योगले कागजको आयातलाई प्रतिस्थापन गर्ने अपेक्षा लगानीकर्ताले गरेका छन् ।





