काठमाडौँ, ११ साउन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को वर्तमान अवस्था तथा संक्रमण दरका आधारमा अगामी असोज दोस्रो सातादेखि नेपालमा तेस्रो लहर आउने प्रक्षेपण गरेको छ। मन्त्रालयले उक्त प्रक्षेपणको विषयमा संसदको शिक्षा तथा स्वास्थ्य समितिमा जानकारी दिएको छ।
मन्त्रालयले सम्भवतः असोज १५ देखि मंसिर महिनासम्म तेस्रो लहर आउन सक्ने प्रक्षेपण गरेको हो। ‘कोभिड–१९ को वर्तमान अवस्था तथा संक्रमणको दरलाई हेर्दा तेस्रो लहर सम्भवतः असोज १५ देखि मंसिर महिनामा पुनःआउन सक्छु’, संसदीय समितिमा बुझाइएको प्रतिवेदनमा भनिएको छ। मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. गुणराज लोहनीले आउँदो असोज १५ गतेदेखि सङ्क्रमणको तेस्रो लहर आउने प्रक्षेपण रहेको बताए । उनले अहिलेको निषेधाज्ञा खुकुलो र जनस्वास्थ्य मापदण्डलाई प्रभावकारी रुपमा लागू नगरिएकाले आउँदो असोज १५ गतेदेखि सङ्क्रमणको तेस्रो लहर आउने बताए ।
तेस्रो लहर सङ्क्रामक र बालबालिकालाई बढी असर गर्ने उन भनाइ छ । उनका अनुसार आगामी पाँच महिनामा एक लाख ९३ हजार ८५६ नयाँ सङ्क्रमित थपिने अनुमान गरिएको छ । यसअघि मन्त्रालयले सङ्क्रमणको तेस्रो लहर आउने भन्दै सचेत रहन निर्देशनसमेत दिइसकेको छ ।
मन्त्रालयले कोरोनाका भेरियन्टको स्वरुप र प्रकृति, खोपको उपलब्धता र प्रयोग, सामाजिक गतिविधि तथा जनस्वास्थ्यका आधारभुत मापदण्डको पालनाको स्तरले तेस्रो लहर आउने समय केही अगाडि पछाडि धकेल्न सकिने विषयमा पनि समितिमा जानकारी दिएको छ।
हालको स्थिर संक्रमणको आधारमा हेर्दा आगामी पाँच महिनामा झण्डै २ लाख संक्रमित थपिने प्रक्षेपण पनि मन्त्रालयले गरेको छ। ‘हालको पछिल्ला हप्ताहरुको स्थिर संक्रमणको आधारमा १ लाख ९३ हजार ८५६ नयाँ संक्रमित थपिने सम्भावना छ’, मन्त्रालयले बुझाएको प्रतिवेदनमा भनिएको छ।
मन्त्रालयका अनुसार अबको पाँच महिनाको अवधिमा थपिने नयाँ संक्रमितमध्ये ३८ हजार ७ सय ७१ जनालाई अस्पताल भर्ना गरी उपचार गर्नुपर्ने र तीमध्ये ९ हजार ७ सय ९३ जनालाई सघन उपचार गर्नुपर्ने अनुमान रहेको मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. लोहनीले जानकारी दिए।





