टोकियो, ११ साउन ।
टोकियो ओलम्पिक २०२० मा आइतबार जापानी दाजु–बहिनीले स्वर्णपदक जितेर इतिहास रचेका छन् । निप्पोन बुदोकान हलमा आबे परिवारका हिफुमी र उताले जुडोको व्यक्तिगत स्पर्धामा स्वर्णपदक जितेका हुन् ।
विश्व जुडो च्याम्पियनसिप २०१८ मा समेत यी दाजु–बहिनीले स्वर्ण जितेका थिए । आबे दाजु–बहिनीले टोकियोमा पनि सोही कथा दोहोर्याएका हुन् ।
२१ वर्षीया उताले महिला ५२ केजीमुनिको स्पर्धाको फाइनलमा चार मिनेटको बारबरीपछि गोल्डेन स्कोरमा फ्रान्सकी अमादिनी बुचार्डलाई हराएर स्वर्ण हात पारिन् । त्यसको २० मिनेटभित्रै दाजु हिफुमीले पुरुष ६६ केजीमुनिको फाइनलमा जर्जियाका भाजा मार्वेलाभ्स्वीलाई वाजरी (अंकको आधारमा) पराजित गर्दै कोबेका आबे परिवारलाई ओलम्पिक स्वर्णमय बनाइदिए ।







