टोकियो, ११ साउन ।
जापानकी १३ वर्षीया मोमिजी निसियाले जारी टोकियो ओलम्पिक्स २०२० को महिला स्ट्रीट स्केटबोर्ड स्पर्धातर्फ स्वर्ण पदक जित्न सफल भएकी छिन् । सोसँगै उनी सबैभन्दा कम उमेरमा ओलम्पिक स्वर्ण पदक हात पार्ने जापानी खेलाडी बन्न पुगेकी छिन् ।
उक्त स्पर्धामा ब्राजिलकै अर्की १३ वर्षीया रयासा लेलले रजत पदक हात पारिन् । यस्तै, कांस्य पदकमा भने जापानकै १६ वर्षीया फुका नाकायामाले आफ्नो नाम लेखाएकी छिन् । सोमबार सम्पन्न फाइनल खेल जितेपछि निसियाले हर्षका आँसु चुहाएकी थिइन् । पदक हात पारेपछि मिडियासँग बोल्दै उनले आफू एकदमै खुशी भएको बताएकी थिइन् ।
स्ट्रीट स्केटबोर्डको पुरुषतर्फको उपाधि पनि जापानकै किशोरले हात पारेका थिए । आइतबार सम्पन्न उक्त स्पर्धामा युतो होरिगुमेले स्वर्ण पदक जित्दा ब्राजिलका केब्रिन होफ्लरले रजत तथा अमेरिकी जेगर इटनले कांस्य पदक हात पारे ।








