ट्युनिस,
एजेन्सी, ११ साउन ।
अफ्रिकी मुलुक ट्युनियसियामा राजनीतिक संकट निम्तिएको छ । राष्ट्रपति कैस सय्यदले प्रधानमन्त्री हिचम मेकिचीलाई बर्खास्त गर्दै संसद् भंग गरेपछि ट्युनिसियामा राजनीतिक संकट छाएको हो ।
कोरोना महामारी रोकथाम र नियन्त्रणमा सरकार असफल भएको भन्दै देशभर प्रदर्शन भइरहेका बेला राष्ट्रपतिले प्रधानमन्त्रीलाई बर्खास्त गरेका हुन् । संसद्समेत भंग भएपछि ट्युनिसियामा ‘कु’ भएको आशंका व्यक्त गरिएको छ ।
राष्ट्रपति सय्यदले भने देशमा शान्ति सुरक्षा कायम राख्न आफूले कदम चालेको दाबी गरेका छन् । नयाँ प्रधानमन्त्री चयन गरेर देशको अवस्था नियन्त्रणमा आउने उनले बताएका छन् । सुरक्षा अधिकारीहरूको आपत्कालीन बैठक बोलाएर उनले टेलिभिजनमार्फत सम्बोधन गरेका थिए । उनले भने, ‘ट्युनिसियामा सामाजिक शान्ति पुनःस्थापना नभएसम्मका लागि हामीले यो कदम चालेका हौं ।’ देशमा सम्भावित खतरा आउन लागेको अवस्थामा संसद् भंग गर्ने अधिकारी संविधानले दिएको पनि राष्ट्रपतिले दाबी गरेका छन् । तर विपक्षीले भने यसलाई ‘कु’ को संज्ञा दिएका छन् ।
आइतबार प्रधानमन्त्री बर्खास्तीमा परेको खबर सार्वजनिक भएसँगै राजधानी ट्युनिसमा सर्वसाधारणले खुशीयाली मनाएका थिए । राष्ट्रपति पनि सर्वसाधारणको प्रदर्शनमा सहभागी भएको बताइएको छ । त्यसभन्दा पहिले पनि राजधानीसहित मुलुकका विभिन्न शहरमा सत्तारुढ दलविरुद्ध प्रदर्शन भएको थियो । राष्ट्रपतिले हिंसा मच्चिए सेनालाई परिचालन गरेर भए पनि नियन्त्रणमा लिइने बताएका छन् ।
१० वर्षअघि सन् २०११ मा भएको क्रान्तिले ट्युनिसिया लोकतान्त्रिक बाटोमा हिँडेको थियो । जुन आन्दोलन ‘अरब क्रान्ति’ का नामले समेत चर्चित छ । लोकतान्त्रिक सरकार आएसँग्र बेरोजगारीलगायतका नागरिकका समस्या सम्बोधन हुने आश गरिएको थियो । तर सोचेअनुरूप काम नभएकाले आम नागरिकमा निराशा छाएको थियो ।





