चितवनमा कोभिसिल्डको पहिलो मात्रा लगाएका २६ हजार बढीले अझै पाएनन् दोस्रो मात्रा

भरतपुर, ११ श्रावण ।

चितवन जिल्लामा हालसम्म कोरोना भाइरस विरुद्धका १ लाख १७ हजार ३१० डोज खोप लगाइएका छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार आइतबारसम्म भाइरस विरुद्धको पूर्ण मात्राको खोप प्राप्त गर्नेको संख्या २३ हजार ९३८ रहेको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार १३ हजार १७२ जनाले कोभिसिल्ड खोपको दुवै मात्रा लगाएका हुन् । १० हजार ७६६ जनाले भने भेरो सेल खोपको पूर्ण मात्रा लगाएका हुन् ।

कार्यालयको आइतबारसम्मको तथ्यांक हेर्ने हो भने जिल्लामा कूल ९३ हजार ३७२ जनाले पहिलो मात्रा खोप लगाएका छन् । त्यस अन्तर्गत ३९ हजार ८७९ जनाले कोभिसिल्ड खोप लगाएका हुन् भने बाँकी ५३ हजार ४९३ भेरो सेल खोपको पहिलो मात्रा लगाएका हुन् । चितवनमा गएको जेठ २५ गतेदेखि २७ गतेसम्म र श्रावण १ गतेदेखि ४ गतेसम्म गरी दुई चरणमा भेरोसेल खोपको पहिलो मात्रा वितरण गरिएको थियो ।

भेरो सेल खोप अभियान अन्तर्गत श्रावण १ गतेदेखि ४ गतेसम्म १० हजार ८९२ जनाले पहिलो मात्राको खोप लगाएकामा सो संख्याको करिब ९८.८४ प्रतिशतले दोस्रो मात्रा समेत पाइसकेका छन् । श्रावण १ गतेदेखि ४ गतेसम्म ४२ हजार ६०१ जनाले भेरो सेल खोप लगाएका थिए । उनीहरूले पहिलो मात्राको खोप लगाएको करिब ४ हप्तापछि (२८ दिन) दोस्रो मात्राको खोप लगाउनुपर्नेछ ।

चिनियाँ कम्पनी सिनोफार्मद्वारा निर्मित भेरो सेल खोप हाल नियमित जसो आयात भइरहेको छ । चीन सरकारले पहिलो पटक १८ लाख मात्रा खोप निःशूल्क दिएकोमा नेपाल सरकारले थप ४० लाख मात्रा खोप पनि खरिद गरेको छ । भेरो सेल खोपको मौज्दात अझसम्म पर्याप्त रहेको हुँदा त्यस खोपको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा पनि पुग्ने देखिन्छ ।

तर पहिलो मात्रा कोभिसिल्ड खोप लगाएकाले दोस्रो मात्रा कहिले पाउने हुन् त्यो भने अझै पनि स्पष्ट हुन सकेको छैन । चितवन जिल्लामा पहिलो पटक २०७७ माघ १४ गतेदेखि खोप अभियान थालिँदा लक्षित समूहलाई कोभिसिल्ड खोप दिइएको थियो । चितवन जिल्लामा प्राथमिकताका आधारमा लक्षित समूहको वर्गीकरण गरिएको थियो । सबैभन्दा सुरुमा स्वास्थ्यकर्मी, सफाइकर्मी तथा सुरक्षाकर्मी लगायतलाई खोप प्रदान गरिएको थियो । त्यसपछि क्रमशः पत्रकार, सरकारी कर्मचारी, जनप्रतिनिधि, औषधि उत्पादन गर्ने उद्योगका कर्मचारी, बैंक तथा वित्तीय कार्यालयका कर्मचारी, आदिलाई खोपको व्यवस्था गरिएको थियो ।

स्वास्थ्य कार्यालयका अनुसार हालसम्म जिल्लामा ३९ हजार ८७९ जनाले पहिलो मात्राको कोभिसिल्ड खोप लगाएको तथ्यांक रहेको छ । जसमध्ये केवल ३३.०२ प्रतिशतले मात्रै खोपको पूरा मात्रा पाएका छन् । जिल्लामा कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका २६ हजार ७०७ जनाले अझै पनि उक्त खोपको पूरा मात्रा पाउन सकेका छैनन् । यो समूहमा पर्ने अधिकांश व्यक्तिहरू ज्येष्ठ नागरिक रहेका छन् ।

अक्सफोर्ड एस्ट्राजेनेका फर्मुलामा आधारित कोभिसिल्ड खोप भारतीय कम्पनी सिरम इन्स्टीच्युटद्वारा उत्पादन गरिएको हो । पछिल्लो समय भारतमा कोरोना भाइरसको संक्रमण अत्यधिक रूपमा फैलिएपछि त्यहाँको सरकारले आफ्ना नागरिकलाई खोप सुनिश्चित गर्नुपर्ने बताउँदै खोपको निर्यात रोकेको हो । सुरुवातमा खोपको लागि भारतसँग मात्रै भर पर्नाका कारण जोखिमयुक्त वर्गका रूपमा वर्गीकरण गरिएका ज्येष्ठ नागरिकले पूर्ण खोप पाउन नसकेका हुन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार पहिलो मात्राको खोप लगाएको ८ देखि १२ हप्तासम्ममा दोस्रो खोप पनि लगाइसक्नुपर्ने हुन्छ । तर २०७७ फाल्गुन २३ देखि चैत्र ३ गतेसम्म पहिलो मात्राको कोभिसिल्ड खोप लगाएका नागरिकले चार महिना बितिसक्दा पनि दोस्रो मात्राको खोप पाउन सकेका छैनन् । पूर्ण मात्रा नलगाउँदासम्म भाइरसको संक्रमणविरुद्ध पूर्ण सुरक्षा नमिल्ने विज्ञहरू बताउँछन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट