भरतपुर, १० श्रावण ।
खेलाडीहरूमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि रोकिएको चौधौँ संस्करणको इण्डियन प्रिमियर लिग आइपिएल टिट्वान्टी का बाँकी खेल आगामी सेप्टेम्बर १९ तारिखदेखि युएईमा खेलिने भएको छ । प्रतियोगिताको आयोजक भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले आइतबार साँझ प्रतियोगिताका बाँकी खेलहरूको तालिका समेत सार्वजनिक गरिसकेको छ ।
गत वर्षको आइपिएलको संस्करण पनि कोरोना भाइरस महामारीका कारण युएईमै आयोजना गरिएको थियो । बीसीसीआईका अनुसार युएईका विभिन्न तीन शहरमा प्रतियोगिताका बाँकी ३१ खेल खेलिनेछन् । ती सबै खेल सम्पन्न हुन २७ दिन लाग्ने बीसीसीआईले विज्ञप्तिमा भनेको छ ।
परिमार्जन गरिएको खेल तालिका अनुसार सेप्टेम्बर १९ तारिखका दिन मुम्बई इण्डियन्सले चेन्नई सुपर किंग्सको सामना गर्नेछ । उक्त खेल दुबईमा खेलिने भारतीय क्रिकेट बोर्डले जनाएको छ । लिग चरणका २९ वटा खेल भने यसअघि ९ अप्रिलदेखि २ मेसम्म भारतकै शहरहरूमा खेलिएका थिए ।
नयाँ खेल तालिका अनुसार लिग चरणको अन्तिम खेल अक्टोबर ८ मा खेलिनेछ । लिग चरणको समापन पछि १० अक्टोबरमा पहिलो क्वालिफयर, ११ अक्टोबरमा इलिमिनेटर र १३ अक्टोबरमा दोस्रो क्वालिफायर खेलिनेछ । प्रतियोगिताको फाइनल खेल भने १५ अक्टोबरमा दुबईमा हुने भारतीय क्रिकेट बोर्डले जनाएको छ ।
प्रतियोगिताका सुरुवाती २९ वटा खेल सकिँदासम्म अंक तालिकामा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा रहेको छ । उसले ८ खेलमा ६ जीत र २ हार बेहोर्दै १२ अंक जोडेको छ । तालिकाको दोस्रो र तेस्रो स्थानमा रहेका चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बेंगलोरको समान १०-१० अंक छ भने चौथो स्थानको मुम्बई इण्डियन्सले ८ अंक बटुलेको छ ।





