काठमाडौँ, १० साउन ।
वैदेशिक रोजगारीका शिलशिलामा विभिन्न कारणले ज्यान गुमाएका नेपाली नागरिकको शव नेपाल ल्याइएको छ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले शनिबार मलेसियाको राजधानी क्वालालम्पुरबाट २४ वटा शव तथा ३ वटा अस्तु ल्याएको हो । निगमका जहाजले हरेक महिनाको एक उडानबाट नेपाली नागरिकको शव ल्याइरहेका छन् ।
मलेशियामा ज्यान गुमाएका नेपालीको शव ल्याउन त्यहाँस्थित नेपाली राजदूतावासको आग्रहमा महिनामा एक उडानबाट शव ल्याउन निगमको जहाज प्रयोग हुँदै आएको हो । त्यसका लागि कार्गो उडान जटिल र संवेदनशील हुने भएकाले निजी क्षेत्रका अन्तरराष्ट्रिय वायुसेवा कम्पनीले शव ल्याउन आनाकानी गर्ने गर्छन् । राष्ट्रिय ध्वजाबाहक भएकाले सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि पनि मलेसियालगायत अन्य गन्तव्य मुलुकबाट निगमले नेपालीको शव ल्याएकोे थियो।
निगमका एक उच्च अधिकारीका अनुसार हरेक महिनाको कम्तीमा एक उडानबाट शव ल्याउन त्यहाँस्थित नेपाली दूतावासले पत्राचार गर्दै आएको छ । निगमले मलेसियासँगै अन्य खाडी मुलुकबाट पनि शव ल्याउँदै आएको छ । वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य मानिएको मलेसियामा हाल साढे तीन लाख नेपाली श्रमिक रहेको बताइन्छ ।
निगमको जहाजले गत २०७७ माघ १० मा पनि एकैपटक १८ शव ल्याएको थियो ।
(रासस)





