प्रशासनले निषेधाज्ञा थपेको थप्यै, नागरिक भने असन्तुष्ट

भरतपुर, ९ श्रावण ।

जिल्ला प्रशासन कार्यालय चितवनले कोरोना भाइरस महामारी नियन्त्रण तथा रोकथामका लागि जारी गरिएको निषेधाज्ञाको समयावधि बिहीबार दशौँ पटक थप गर्‍यो । गत वैशाख १६ गतेको मध्यरातदेखि लागू गरिएको निषेधाज्ञालाई प्रशासनले थप ७ दिनका लागि निरन्तरता दिइने निर्णय गरेको हो ।

प्रशासनले फेरि पनि निषेधाज्ञा लम्ब्याएसँगै स्थानीयहरूका असन्तुष्टि स्वर सुनिन थालेका हुन् । गत वर्ष महामारीको पहिलो लहर सुरु हुँदै गर्दा पनि २०७६ चैत्र ११ गतेदेखि करिब ६ महिनासम्म देशव्यापी बन्दाबन्दी तथा निषेधाज्ञा जारी गरिएको थियो । यस पटक कोरोना भाइरसको नयाँ स्वरूपहरू देखा पर्न थालेपछि स्थानीय प्रशासनले जनतालाई थप सचेत बन्न आग्रह गर्दै निरन्तर निषेधाज्ञा थपिरहेको छ । तर नागरिकहरू भने आफ्नो पेशा तथा व्यवसाय सञ्चालन गर्न नपाएको तथा लामो निषेधाज्ञाका कारण जनजीविकामा पनि असर पुगेको भन्दै तत्काल निषेधाज्ञा हटाउन माग गरिरहेका छन् ।

प्रमुख जिल्ला अधिकारीहरूलाई निषेधाज्ञा गर्ने अधिकार दिइँदा उनीहरू स्वेच्छाचारी बन्न थालेको भन्ने खालका आरोप पनि स्थानीयले लगाउने गरेका छन् । प्रशासनले पनि निषेधाज्ञालाई क्रमिक रूपले खुकुलो पार्दै गइरहेको अवस्थामा शहरबजारमा भीडभाड गर्ने क्रम पनि बढ्न थालेको छ । कडा खालको निषेधाषा नै अक्षरसः पालना नगरिएको अवस्थामा स्मार्ट लकडाउनको नाममा निषेधाज्ञा खुकुलो पार्दै जाँदा संक्रमण फैलने जोखिम पनि उस्तै रूपले बढ्न थालेको छ । प्रशासनलाई एकातिर संक्रमणलाई नियन्त्रण गर्न निषेधाषालाई लम्ब्याउनै पर्ने र अर्काेतिर नागरिकको जीवनयापनलाई सहज बनाउन पनि निषेधाज्ञालाई खुकुलो बनाउँदै लानुपर्ने बाध्यता छ । यता कोरोना भाइरस महामारीको तेस्रो लहर आइहाले पनि जनताले प्रशासनमाथि नै औँला ठड्याउने अवस्था आउनसक्छ ।

निषेधाज्ञाका कारण आजित भइसकेका नागरिकहरू बरु खोप अभियानलाई प्रभावकारी बनाउँदै अर्थतन्त्रलाई चलायमान गराउन लाग्नुपर्ने मत राख्छन् । “विश्वभर नै बिस्तारै लकडाउन हटाउँदै लगिएको छ । हामीले पनि अब आर्थिक गतिविधि बढाउनमा जोडदिनुपर्छ”, जेम्स वर्ल्ड फन पार्क, भरतपुरका प्रबन्ध निर्देशक महेश तिवारीले बताए । लामो समयको निषेधाज्ञाका कारण पर्यटन व्यवसाय नै धरासायी बनेको बताउँदै तिवारीले निषेधाज्ञाभन्दा पनि खोप कार्यक्रमलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । “हाल उमेर समूह तथा विभिन्न पेशामा आबद्ध भएका व्यक्तिहरूका लागि खोप कार्यक्रम ल्याइएको छ । सरकारले त्यसरी नै पयर्टन व्यवसायीका लागि पनि खोप सुनिश्चित गर्नुपर्छ”, भेटघाट रेष्टुरेन्टको समेत प्रबन्ध निर्देशक रहेका तिवारीले भने ।

तिवारी जसरी नै यातायात व्यवसायीहरूको पनि त्यस्तै किसिमको माग रहेको छ । निषेधाज्ञाका कारण यात्रु नहुँदा रित्तो गाडी गुडाउनु परेको गुनासो उनीहरूको थियो । “लामो दूरीमा चल्ने गाडीलाई त निकै अप्ठेरो परेको छ । यात्रु छैनन् । खालि गाडी कुदाउँदा तेलको पनि पैसा उठ्दैन”, पुरानो नारायण यातायात कम्पनी प्रा.लि.को नाराणणघाटस्थित पुल्चोक काउण्टरका कर्मचारी सन्तोष श्रेष्ठले भने । सरकारले पछिल्लो पटक भाडादर समायोजन गरेको भएपनि यात्रु नै नहुँदा खासै कमाइ नभएको उनको तर्क थियो । “लामो समय गाडी थन्काउँदा व्यवसायीहरूलाई गाडीको किस्ता बुझाउनै सकस भएको अवस्था छ”, उनले थप्दै भने ।

जिल्लामा खोप कार्यक्रम सञ्चालन गर्दै आएको स्वास्थ्य कार्यालय चितवनले भने महामारी नियन्त्रणका लागि खोप कार्यक्रमसँगै जनस्वास्थ्यका मापदण्डको पालना पनि अत्यावश्यक रहेको बताउँदै आएको छ । “हाल शैक्षिक संस्था बाहेक अरु क्षेत्रलाई बिस्तारै खुकुलो बनाएर लगिएको पनि छ । लामो समय घरबाहिर निस्कन नपाउँदा पनि नागरिकमा हैरानी देखिएको हो”, स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले भने, “यस्तो बेला नागरिकले पनि जनस्वास्थ्यका मापदण्डको पालना गर्नुपर्ने हो । तर त्यस्तो देखिएको छैन ।” खोप नै भाइरस विरुद्धको अचुक औषधि भएपनि खोपको वितरण कार्य सहज नभएको उनको तर्क थियो ।

“हामीसँग दैनिक १७ हजारभन्दा धेरै मात्रा खोप वितरण गर्ने क्षमता छैन । खोप क्रमशः लगाउँदै जाने कुरा हो”, तिवारीले थप्दै अगाडि भने, “खोपलाई हरेक जिल्लामा पुर्‍याउनुपर्ने हुँदा हामीलाई एकै पटक पर्याप्त खोप प्राप्त हुँदैन । फेरि करोडौँ मात्राको खोप एकै पटक वितरण गर्ने हाम्रो सामथ्र्य पनि छैन ।” जिल्लामा ५० वर्षमाथिका सबैलाई खोपको सुनिश्चितता भएसँगै अन्य उमेर समूहको पनि पालो आउने बताउँदै उनले नागरिकलाई धैर्य राख्न आग्रह गरे ।

“हाम्रो जिल्लाको स्वास्थ्य प्रणालीमा हाल एक हजार जनासम्म कोरोना संक्रमितलाई मात्रै उपचार गर्न सक्ने क्षमता छ । हामी नै संयमित भएनौं भने त अस्पतालले भोलि बिरामीको उपचार गर्न नसक्ने अवस्था पनि आउनसक्छ”, तिवारीले भने ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट