भरतपुर, ६ साउन ।
चितवनको कुसुमखोलाका प्रजा परिवारले निस्तो भात खानु नपर्ने भएको छ । खानेकुराको अभावमा रहेका यी परिवारको बारेमा केही दिन अगाडि समाचार सार्वजनिक भएसँगै उनीहरुलाई खाद्यान्न सहयोग मिलेको हो ।
मितेरी फाउण्डेशन नेपालकी उपाध्यक्ष अनिता खनालले समाचार सुनेपछि आफ्नो व्यक्तिगत खर्चमा चामल, नुन, तेल, दाल, मस्यौरा, आलु, चिउरा, दालमोठ, सलाई सहित एक थान त्रिपाल सहयोग गरेकी छिन् ।
कुसुमखोलाका काजीमान प्रजा, उनकी श्रीमती नैनीमाया र पाँच वर्षकी छोरीले नुन, खुर्सानी र पानीसँग निस्तो भात खानुपर्ने बाध्यता समाचारमार्फत सार्वजनिक भएको थियो । कुनै समय एक सय ६० भन्दा बढी चेपाङ समुदाय रहने यो गाउँमा अहिले प्रजा दम्पती मात्र बस्छन् । माडीको वसन्तपुर बजारदेखि पुल नभएका दर्जन बढी खोला र खोल्सासँगै घना जंगल कटेपछि माडी नगरपालिका–९ मा रहेको कुसुमखोला पुगिन्छ । वसन्तपुर बजारदेखि झन्डै १८ किलोमिटर मोटरबाटो हुँदै ४५ मिनेटको पैदल दूरीमा रहेको यो ठाउँमा वर्षामा खोला बढ्न्ने भएकाले पुग्न निकै कठिन छ । राहत लिन उनीहरुको परिवार माडी सदरमुकाम आएका थिए ।
गत वर्ष ३ साउनमा चितवन राष्ट्रिय निकुञ्जले चेपाङका घरटहरामा आगो सल्काई हात्ती लगाएर भत्काएपछि अन्य परिवार यहाँबाट विस्थापित भएका थिए । तर, काजीमान र नैनीमाया भने यहीँ छन् । १५ साउनमा सर्वोच्च अदालतले घरटहरा नभत्काउन, भत्केका घरको क्षतिपूर्ति दिन र चेपाङहरूका लागि बसोवासको व्यवस्था गर्न सरकारको नाममा आदेश दिएको थियो । तर, एक वर्ष बितिसक्दा पनि विपन्न चेपाङको आवाज र सर्वोच्चको आदेश सरकारले सुनेको छैन । विगतमा ६ कट्ठा जमिन पाइन्छ भनेर फारम पनि भर्न लगाइएको भएपनि लालपुर्जाविना खोलाको छेउमा एक कट्ठा दिनेभनेर हटाउन खोजिएकाले त्यसको विरोध गर्दै उनीहरु सो ठाउँ छाड्न मानेका छैनन् ।
उनीहरुको एउटै प्रश्न छ– `कतिपटक कति ठाउँमा गएर कति सुकुम्बासी बन्ने ?´
माडीमा निकुञ्जको अवरोधका कारण कुसुमखोलाबाट विस्थापित चेपाङको समेत उचित व्यवस्था हुन सकेको छैन । निकुञ्जले उठीवास लागेका चेपाङको व्यवस्थापन गर्नुभन्दा बरू अघिल्लो ओली सरकारले त्यही वडामा नक्सासमेत पास नगरी उस्तै प्रकृतिको जग्गामा अस्थायी रूपमा राम, सीता, लक्ष्मण र हनुमानको मुर्ति राख्न लाखौँ खर्चमा राममन्दिर निर्माण गरेको छ ।





