कथा : आकर्षण

गोरो वर्ण l आकर्षक शारीरिक बनावट । ओठमा कलेजी कलरको लिपिस्टिक ।
आँखामा कालो गगल्स लगाएकी,सेतो टिसर्ट र कालो पाईन्टमाअग्लो हिलमा टकटक आवाजका साथ एउटी सुन्दरी म बसेको कुर्सीको ठिक विपरीत आमने सामने रहनेगरी आएर बसिन् । उनको शरिरबाट महङ्गो बिदेशी अत्तरको सुवासना सिधै मेरो नाकमा आएर ठोकिन पुगेपछि हो मैले उनीतर्फ आफ्नो नजर तेर्साएको । यस्तो लाग्थ्यो उनी बलिउड फिल्म नगरीबाट सिधै यहाँ प्रवेश गरेकी हुन् । मैले जब पहिलोपटक आफ्नो नजर उनीतिर लगाएँ मलाई यस्तो लाग्यो म यतिबेला सपना देखिरहेको छु । विश्वास नलागेर मैले आफैलाई चिमोटें ।
आफूले आफैलाई चिमोट्दा समेत दुख्दो रहेछ भनेर मैले पहिलोपटक महसुस गरें ।
म सपनामा होइन । पुरै विपनामा थिएँ ।
आँखामा कालो गगल्स भएको कारण मैले उनको सुन्दर मुहारलाई अझै स्पष्टरुपमा देख्न नपाउँदा मनमा एक किसिमले उनले लगाइरहेको गगल्स एकपटक निकाले हुन्थ्यो झैं भएको थियो । तर मनले चाहे जस्तो हुन सकेन ।गगल्स मै उनको मुहारको विचरण गरिरहें ।
उनी को हुन् अनि कहाँबाट आएकी हुन्, मलाई केही पनि थाहा थिएन ।
थाहा होस् पनि कसरी ?
जब कि उनलाई मैले यो भन्दा अगाडि कहिल्यै देखेको याद छैन ।
एक मनले त उनीसँग परिचय गरुँ झैं लागेको थियो ।
फेरि सोंचे !
न उनले मलाई पहिले कतै देखेकि छन् नत मैले नै उनलाई
विना प्रसङ्ग के भनेर परिचय गर्नु  ?
मनमा निकै दुविधा भयो ।
एक मनले भन्छ यस्तो मौका फेरि आउँदैन ।
अर्क‍ो मनले भन्छ यतिका मान्छेहरु भएको बेला परिचय गर्नु उपयुक्त समय होइन ।
मैले दोस्रो मनको आवाजलाई सुनें र कार्यक्रम तर्फ आफ्नो ध्यान केन्द्रित गरें ।
कार्यक्रम सञ्चालकले सम्बोधन गर्दै भने
“आजको यस कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण संगीतप्रेमी महानुभावहरुलाई हार्दिक स्वागत गर्दछु ।”
निशाको “स्पर्श”  म्युजिक एल्वम विमोचन नाम लेखिएको एउटा सुन्दर व्यानर मञ्चमा टाँगिएको थियो ।
सञ्चालकले पुनः सम्बोधन गर्दै थिए “आज हामी यहाँहरु माझ एउटा म्युजिक एल्वमको विमोचन गर्न गइरहेका छौँ ।हाम्रो बिचमा यतिबेला एल्वमकी गायिका निशाको आगमन भैसकेको हुँदा अब हामी कार्यक्रमलाई कत्ति पनि ढिलो नगरी एल्वम विमोचनतर्फ जाने छौं । निशाजीलाई अगाडि मञ्चमा आउन अनुरोध गर्दछु ।´´
मेरो सामुन्नेमा बसिरहेकी उनै सुन्दरीको नाम रहेछ “निशा “
। उनी गायिका पो रहिछन् । गीतसंगीत त मलाई पनि असाध्यै मन पर्छ । एक किसिमले मनलाई यतिबेला सुकुन मिल्यो । अचानक मेरो मनमा बेग्लै प्रकारको खुशी प्राप्त भैरहेको महसुस हुन थाल्यो । उनी गायिका रहिछन् र आज उनैको एल्वम विमोचन रहेछ ।
कार्यक्रमका प्रमुख अतिथिको हातबाट एल्वमको विमोचन भयो । विमोचन पश्चात् एल्वममा समावेश भएका गीतहरु मध्येबाट निशाले म्युजिक ट्रयाकमा केही  गीत पनि गाइन् ।उनको स्वर पनि असाध्यै मीठो रहेछ ।
यतिबेला भने मेरो मनमा कता कता निशाले डेरा जमाउन पुगेको जस्तो महसुस गर्दै थिएँ । उनी हेर्दा पनि अप्सरा जस्तै देखिन्थिन् । त्यसमाथि पनि उनी संगीतप्रेमी रहिछन् ।अब भने मलाई निशाप्रेमी हुने चाह विस्तारै बढ्दै गएको आभाष हुँदै थियो । तर विडम्बना निशासँग भने मेरो कुनै सामान्य परिचय समेत थिएन ।
आखिर मन न हो कहिलेकाहीँ त्यसै बहकिन्छ । मन उडेर माथि माथि बादल छुन पुगिदिन्छ । कहिलेकाहीं आफ्नै मनलाई समेत कन्ट्रोल गर्न नसकिँदो रहेछ । यतिबेला मलाई यस्तै भैरहेको थियो ।
कार्यक्रममा उपस्थित हुनेहरुलाई सामान्य चियापानको व्यवस्था गरिएको रहेछ ।
म परें चियाप्रेमी
चिया पाएपछि मलाई अरु के चाहियो र ?
म सिधै चियाको कन्टेनरतर्फ लम्किएँ
संयोग भनुँ कि के भनुँ ?
निशा मेरो अगाडि टि कन्टेनरको सामुन्नेमा दुईवटा हातमा एक एकवटा कफमा चिया लिँदै रहिछन् ।
मैले सोचेँ ,निशाको हातमा भएको दुईवटा कप मध्ये एउटा कप निशाले आफ्नो लागि र अर्को कप निशाले आफ्नो कोही प्रिय मान्छेका लागि समाएको हुनुपर्छ । मैले मनमनै अड्कल काटिरहें । म निशाको छेवैमा उभिएको थिएँ ।उनले म तिर नजर लगाउँदै मुसुक्क हाँसिन् र उनको हातमा चियाले भरिएको एउटा चियाको कप म तिर लम्काउँदै “लिनुस् चिया यो तपाईंका लागि” भनिन् ।
म निकै अचम्मित परें ।
चियाको कप समाउनु कि के गर्नु
म निशालाई हेर्दै आफैमा दङ्ग खाएँ ।
“लिनुस् न चिया”
उनले दोस्रोपटक भनेपछि मैले चियाको कप समाउन बाध्य भएँ । एकपटक फेरि पनि मनमा यो सपना हो कि विपना भन्ने लागिरह्यो । तर यतिबेला म विपनामा नै छु भनेर म एकिनका साथ भन्न सक्थें । उनी चियाको कप मेरो हातमा थमाएर आफ्ना साथीहरूको माझमा पुगिन् । म उनले मेरो हातमा थमाइदिएको चियाको कपलाई बडो प्रेमपूर्वक हेर्दै चियाको चुस्कीमा रमाउन पुगें । जीवनमा चिया कति पटक पिइयो त्यसको कुनै हिसाब छैन तर आज पिएको चियाको स्वाद जस्तो पहिला पिएको चियामा पक्कै पनि थिएन ।किनकि आजको चियाको स्वाद सायद म मेरो जीवनकालमा कहिल्यै बिर्सन सक्नेछैन । किनकि आजको चिया अरु कसैले होइन एक सुन्दरीले प्रेमपूर्वक मेरो हातमा थमाएर गएकी थिइन् ।
म चियाको स्वाद लिँदै कहिले मीठो कल्पनामा हराउन पुग्थेँ त कहिले आँखा निशा भए तिर फाल्थें । निशा आफ्ना साथीहरू र शुभचिन्तकहरुबाट बधाई र शुभेच्छा लिँदैमा व्यस्त थिइन् । म भने एउटा कुना छेऊ पक्रेर निशालाई नै नियाली बसेको थिएँ । प्रेमको नजरले हेरिरहेको थिएँ ।मलाई कता कता निशासँगको भेटले म आफैलाई निशाप्रति धेरै नै नजिकिँदै गइरहेको महसुस हुन थालेको थियो । मेरा आँखाहरु निरन्तर निशा तर्फ नै अडिरहेका थिए । मान्छेहरु पातलिँदै गइरहेका थिए । त्यही मौका छोपेर मेरो मन निशाको समीप पुग्न खोजिरहेको थियो ।चियाको कप नजिकैको डस्विनमा राखेर म निशाको नजिक पुगें ।
मैले आफ्नो परिचय दिंदै भनें ” म विवेक शर्मा
निशा:- धेरै धेरै धन्यवाद हजुरलाई मेरो कार्यक्रममा आएर कार्यक्रमलाई सफल पारिदिनु भएकोमा ।
म – तपाईंलाई एल्बमको सफलताको शुभकामना साथै  बधाई छ । तपाईंको स्वर साह्रै मीठो रहेछ ।
निशा – धन्यवाद । मेरा गीतहरु सुनेर कस्तो लाग्छ सल्लाह सुझाव दिनु है ?
म –  भैहाल्छ नि !
हातको घडी हेर्दै आफूलाई निकै हतार भएको जस्तो गरेर म निशासँग बिदा भएँ । हतार पनि किन नहोस् निशासँग कुराकानी तन्काउनलाई हामी बिच कुनै त्यस्तो पुरानो चिनजान पनि त थिएन । हामी बिच पहिलोपटक भेट भएको थियो । त्यो पनि अकस्मात् भेट म
बेलुका खाना खाएर बेडमा पल्टिँदै गर्दा निशालाई नै सम्झिएँ, निशाकै बारे कल्पिएँ
कति राम्री केटी
कति मीठो आवाज
मान्छे पनि फरासिली रहिछे ।
यस्तै सोंच्दै थिएँ ।
पाइन्टको गोजीबाट मोबाइल निकालें ।
फेसबुकको भित्तामा निशाको नाम सर्च गरें ।
थुप्रै निशाहरुको प्रोफाइलको बिचमा मैले सर्च गरेको निशालाई भेट्टाउन सफल भएँ ।
तुरुन्तै निशाको फेसबुक प्रोफाइल भित्र प्रवेश गरें।
उनका सुन्दर सुन्दर तश्विरहरु नियालें ।
ठुला ठुला सुन्दर आँखा
त्यस्तै ठुला सुन्तलाका केसरा जस्ता ओठ
टमक्क परेको मोहनी लाग्ने उठेका छाती
हरेक तश्विर जुुम गरिगरी हेरिरहें । हरेक तश्विरहरु उत्तिकै सुन्दर थिए । आखिर मान्छेका तश्विरहरु सुन्दर देखिनलाई पनि त मान्छे स्वयं सुन्दर हुनुपर्छ नि हैन र ? मनले मनसँग यस्तै बातचित गरिरह्यो । अब भने मेरा आँखाहरु निशाका तश्विरलाई छाडेर निशाले फेसबुकमा पोष्ट गरेका उनका स्टाटसहरु तर्फ केन्द्रित हुुन पुगेँ ।
उनका केही प्रेमिल स्टाटसहरुले मनमा बेग्लै किसिमको  तरङ्ग उत्पन्न गरिदियो । मान्छे जस्तै सुन्दर स्टाटसहरुले मेरो मन विस्तारै निशातिर खिचिंदै गइरहेको थियो ।
यत्तिकैमा “खै उठ्नु विस्तारा लगाउनु पर्‍यो । य‍ो छोरा मान्छेको जातलाई विस्तारा जस्तो सुकै भए पनि पल्टिन पाए हुने ” श्रीमतीको अप्रत्याशित आवाजले निशातिरको मेरो ध्यान भङ्ग हुनुपुग्यो ।
श्रीमतीले भनेको कुरा त मान्नै पर्‍यो । नत्र आफैलाई समस्या पर्छ । विस्ताराबाट उठ्दैगर्दा मैले निशालाई फेसबुकमा फ्रेण्ड रिक्योस्ट पठाई सकेको थिएँ । श्रीमतीजी विस्तारा मिलाउँदै गर्दा म भने मोबाइल हातमै लिएर बाथरुम प्रवेश गरें । वास्तवमा यतिबेला मलाई न त पिसाब लागेको थियो न त दिसा नै !
निशाले कतिबेला मेरो फ्रेण्ड रिक्योस्ट एक्सेप्ट गर्लिन् र निशासँग कुरा गरुँला भन्नेमात्र ध्यान थियो । करिब दश मिनेट यतिकै कमोडमा बसिरहें । यतिबेलासम्म पनि निशाले मेरो फ्रेण्ड रिक्योस्ट एक्सेप्ट गरेकि थिइनन् । आज उनको एल्वम विमोचन भएको दिन । घरमा पारिवारिक जमघट भएर सायद अनलाइन आउन भ्याइनन् भन्ने ठम्याईँका साथ निशालाई एउटा मेसेज यसरी लेखी पठाएँ …हाई निशा जी म विवेक
दिउँसो तपाइको एल्वम विमोचन कार्यक्रममा हाम्रो भेट भएको थियो । यति लेखेर म अफलाइन हुँदै बाथरुमबाट बाहिर निस्किएँ ।
अनि बाबू नानीले खाना खाए त ? श्रीमतीतर्फ प्रश्न तेर्साउँदै सोधेँ ।
श्रीमती – `हैन तपाईं कस्तो खालको मान्छे हो भनेको ? अघि छोराछोरीसँग सँगै टेवलमा बसेर खाना खाएको होइन ? हैन तपाईंको दिमागमा के चाहिँ कुरा नाचिरहेको छ र यति छिट्टै बिर्सिने ?
म – हैट ! दिमाग के भएको होला मेरो ? हो त छोराछोरीसँग टेवलमा सँगै बसेर खाना खाएको हुँ कसरी बिर्सिन पुगेछु हँ ? आफैसँग प्रस्न गरें । ध्यान जति निशाले खिचिछन् भन्ने कन्फर्म भयो ।
श्रीमती –  हैन के भयो हजुरलाई ?
किन टोलाउनु भएको ?
कि कुनै तरुनीले तपाईंलाई टुनामुना लगाई ?
म –  मनमनै ” कस्तो ठ्याक्कै पारेकी ! तिमी ज्योतिषी हौ क्या हो “भन्न मन त लागेको थियो तर भन्न मिलेन।
” ह्या तिमी पनि के के पो सोची पठाउँछेऊ भन्या,
खै मलाई थकाई लागेको छ म सुत्छु “भन्दै पलङ्को देब्रे कुना तिर गएर पल्टिएँ ।
श्रीमती – त्यही त, कत्तिन बारी जोतेर आएको झैं थकाइ लाग्यो रे ? हैन आजभोली तपाईँलाई के भएको हो कुन्नि !परिवार प्रति कुनै ध्यान नै दिनुहुन्न । परिवारमा कसैको मतलवै राख्नुहुन्न । के भएको छ हो तपाईंलाई ? हेर्नू है बुढा मलाई त तपाईंको चालामाला निको लागिरहेको छैन ।
म – ए कति कचकच गरेकी के तिमी । सुत न हो बत्ति निभाएर,भोलि कुरा गरौंला नि ।
श्रीमती  – तपाईंले यस्तो त कति पटक भनिसक्नु भो !
बिहान नौ बजेसम्म तपाईंलाई निन्द्राले छोड्ने होइन । चिया त विस्तारामै टकारिदिनुपर्छ । मसँग, छोराछोरीसँग कुरा गर्ने फुर्सद हुनु पर्‍यो नि हजुरलाई ।
खाना खाएर हिँडेको मान्छे एक्कासि बेलुका हो घरमा आउने । कसैको मतलव छैन तपाईंलाई । कमसेकम छोराछोरीलाई त समय दिनुस् । उनीहरुलाई कतै घुमाउन लैजानुस् । खुशी हुन्छन् ।
म – श्रीमतीको कुरा सुनेर पनि नसुने जस्तै गरि कताकता हराए जस्तो हुँदै यसरी सोच्न पुग्छु …
उसलाई लाग्दो हो कि मैले उसका लागि र परिवारका लागि समय दिन सकिन भनेर
कति गुनासोका पोकाहरु फुकाउन मन छ होला मेरा सामु उनलाई
म भने यसकुरा प्रति खासै गम्भीर हुन सकिरहेको छैन ।उनका पनि त रहरहरु होलान् ।
मन भरी थरिथरिका सपनाहरु होलान् ।
कतिपय अव्यक्त चाहनाहरु मन भित्रै गुम्सिएका होलान् ।आफ्नो श्रीमानको साथमा कतै टाढा छोराछोरीलाई पनि सँगै लिएर घुम्न जाने रहर, केही आफ्नो खुशीका लागि भने केही सन्तानका खुशीका लागि तर यी सबै कुराहरु कल्पनामा मात्रै सिमित हुनपुगेकाछन् । एकदिन यीनै कल्पनाका कुराहरु जीवनमा यथार्थ भएर आउनेछन् भन्ने विश्वासको साथ निदाउन पुग्छु । ऊ भने एकोहोरो फलाकिरहेकी थिई । सायद उसका कुराहरुलाई मैले बडो ध्यानपूर्वक सुनिरहेको छु भन्ने लागेर होला पुराण सुनाए झैं भट्भट्याई रहेकी थिई । म निदाइसकेको छु भन्ने कुरा बिचरीलाई थाहा भएको भए यसरी आधारात सम्म कराउने पनि थिइन होला ।
विहानपख मलाई निन्द्राले छोड्यो । बेड नजिकै रहेको टेवलमा भएको मोबाइल समाउँदै फेसबुक खोलें । निशाले मेरो फ्रेण्ड रिक्योस्ट एक्सेप्ट गरेर धन्यवादका केही शब्दहरु समेत लेखी पठाएकी रहिछिन् । एक प्रकारले एकाविहानै मनमा खुशीको मीठो तरङ्ग पैदा हुन पुग्यो। । मैले पनि पुन: गुड मर्निङ भनेर लेखें  ।
निशा पनि अनलाइन मै रहिछिन् क्यारे उताबाट पनि रिप्लाईमा गुड मर्निङ भनेर आयो । केही बेरको कुराकानी  पश्चात् दिउँसो कतै कफिसपमा भेटेर कुरा गर्ने सहमतिमा एक अर्काको मोबाइल नम्बर आदानप्रदान गर्दै बिदा भैयो ।निशाले यसरी सजिलोसँग भेट्न राजी होलिन् जस्तो मनमा पटक्कै लागेको थिएन । कहिलेकाहीँ जीवनमा नसोचेको कुरा भैदिंदो रहेछ ।
ओछ्यान बाट उठें
बाथरुम गई फ्रेस भएँ
त्यतिञ्जेलसम्म श्रीमतीजी चियाको साथमा सिटिङ रुममा आइसकेकी थिइन् ।
पत्रिका पढ्दै चियाको चुस्कि लिनुको मजा नै बेग्लै
नानीबाबु अझै उठिसकेका थिएनन् ।
श्रीमती जी चिया लिएर मेरो छेवैमा आएर बसिन् ।
श्रीमती  – सुन्नुन
म – अँ भनन
श्रीमती – हामी कतै जाउन घुम्न परिवारको साथमा हुँदैन ?
म – भैहाल्छ नि ! किन नहुनी । केही समय पर्ख ।
श्रीमती  – अनुहारमा खुशीका किरण ल्याउँदै साँच्चै हो नि ? कि मेरो कुरालाई यतिकै टार्नका निम्ति भन्नू भएको ?
म – होइन । साँच्चै जाने ।बमैले पनि सोचिरहेको छु परिवारलाई कतै घुमाउन लैजाउँ कि भनेर ।
श्रीमती  – खुशी हुँदै ,ल अब म खानाको तयारी गर्न भान्सामा गएँ  ! तपाईंले गोठमा भैंसीलाई अलिकति पराल थुतेर दिनु, डुँडमा पानी राखिदिनु !
म – सिटिङ रुमबाट उठें अनि श्रीमतीले भने अनुसारको कामधन्दा सकें । निशालाई आज भेट्ने दिन । नुहाई धुवाई गरेर खाना खाएर म निशाले दिएको समय र लोकेसनमा  पुगें ।
निशालाई फोन गरें । निशाले आफू साथीको पार्लरमा छु भन्दै थिइन् । मलाई पछाडि फर्केर माथि हेर्न भनी, मैले निशाले भनेझैं पछाडि फर्किएँ र माथि हेरें । निशा कफि सपको माथिल्लो तलामा रहिछिन् । म सरासर फलामे सिंढी चढेर कफि सपमाको एक शोफामा गएर बसें । कफि सपको आडैमा निशाको साथीको पार्लर रहेछ । म शोफामै बसेर निशालाई केही बेर पर्खें ।
निशा – सरि है विवेक जी मैले तपाईंलाई कुराएँ ।
म – हैन ठिकै छ । सन्चै हुनुहुन्छ नि ? मैले केही फर्मालिटी पुरा गरें ।
निशा- म एकदम ठिक छु । तपाईंको के छ सुनाउनुस्न।
म – मेरो पनि सबै राम्रो नै छ ।
यतिञ्जेलसम्म कफिको अर्डर लिन एउटी सुन्दरी हाम्रो छेवैमा आएर उभिसकेकी थिईन् र भनिन् “हजुरहरुको अर्डर के छ ?
म – दुईवटा क्यापाचिनो अर्डर गरें ।
निशाको सामुमा यतिबेला म निकै नर्भस भैराखेको थिएँ ।कुराको थालनी कहाँबाट ,कसरी गर्ने भनेर केही मेसोमेलो नै पाइरहेको थिइन । सुनेको थिएँ ” सुन्दरीहरुको सामु केटाहरुको पत्लु गिला हुन्छ” भनेर ।
साँच्चै आज मेरो सवालमा यो भनाई सत्य सावित हुन पुगेको थियो । हामी केही बेर दुबैजना मौन रह्यौं ।
विस्तारै निशाले नै कुराको थालनी गर्दै भनिन्,
” हजुर के गर्दै हुनुहुन्छ आजभोलि ?”
म – आफू पनि गीत-संगीतको क्षेत्रमै छु भनेर जवाफ फर्काएँ ।
निशा – अचम्मित हुँदै वाउ ! कति राम्रो
विवेकजी म त भरखरै मात्र यो संगीतको दुनियाँमा प्रवेश गरेको छु । मलाई तपाईंको फुल सपोर्ट चाहिन्छ है ?
म – आफूले जानेको सम्म सिकाउने र सधैं साथ-सपोर्ट रहने प्रतिबद्धता जाहेर गरें ।
आकर्षक कपमा कफि हाम्रो सामु टेवलमा आइपुगेको थियो । कफिको चुस्कि लिंदै हामीले विविध बिषयमा कुराकानी गर्दै अगाडि बढ्यौं ।
म – घरिघरि म निशाले थाहा नपाउने गरी उनको सुन्दर मुहारमा एकोहोरो हेरिरहेको हुन्थे। साँच्चै निशा निकै  सुन्दरी थिइन् । निशाले लगाएको आकर्षक पहिरनले त झन मेरो मनलाई समेत कब्जा गरिसकेको थियो । कता कता निशालाई मेरो मनले मनमनै मन पराउन थालिसकेको थियो ।
निशा – हजुरको परिवारमा को को हुनुहुन्छ ?
म – निशाको प्रस्नको जवाफ कसरी दिने भनेर निकै दोधारमा परें । तर पनि अब जवाफ त मैले दिनु नै पर्ने थियो । मैले आफू पनि विवाहित र एक छोरा ,एक छोरी छौं भनेर जवाफ दिएँ ।
निशा – कति सुन्दर परिवार रहेछ।अनि म्याडमले के गर्नु हुन्छ ? कि म्याडम पनि संगीत क्षेत्रमै हुनुहुन्छ ? निशाको यो चाहिँ दोस्रो प्रस्न थियो ।
म – होइन ।म्याडम टोटल्ली गृहिणी हुनुहुन्छ ।अनि तपाईंको परिवारमा चाहिँ को को हुनुहुन्छ ?मैले पनि निशा सामु प्रस्न तेर्साइदिएँ ।
निशा – मेरो एउटा बाबू छ । म हालसालै मात्र बिदेशबाट नेपाल आएको हुँ । मेरो म्युजिक एल्बमको कामले गर्दा म अहिले नेपाल छु । सर चाहिँ बाहिर नै हुनुहुन्छ । भिषाको प्रोसेस भैरहेको छ । भिषा प्रोसेस सफल हुनासाथ म बाबुलाई लिएर बाहिर जानेछु ।
म – मैले कल्पना नै नगरेको कुरा एक्कासि मेरो सामु निशाले भरररर भनिदिंदा म निकै अचम्मित भएँ । सोचेको थिएँ ,निशा अनम्यारिड होलिन् भनेर । तर यहाँ कथाले अर्कै मोड पो लिएर आयो। यतिबेला मेरो मन भरङ् भएर उध्रियो । कता कता नमजा अनि निकै असहज लागिरहेको थियो । तर पनि निशाको सामुन्नेमा मैले सबै कुरालाई सहज मानिलिएँ । मैले पनि `आहा कस्तो सुन्दर परिवार´ निशाकै शैलीमा व्यक्त गरिदिएँ ।
केही बेरको कुराकानी पश्चात् हामी कफि सप बाट उठ्यौं ।काउन्टरमा कफिको बिल मैले नै बुझाएँ ।
निशा – मेरो एक छिन पार्लरमा सानो काम बाँकी छ । फेरि भेटौंला है भन्दै निशाले बाई भन्दै पार्लर तिर छिरिन् ।
मैले पनि हस् भन्दै टाउको हल्लाउँदै घरतर्फ लागें ।
मान्छेको जीवनमा नसोचेको पनि हुन्छ भन्थे हो रहेछ ।
निशालाई भेटेपछि मैले धेरै थोक गुमाउन पुग्दाको बेला निरास भए जस्तै हुन पुगेको थिएँ । घरमा पनि कतिबेला आइपुगें पत्तै भएन । मनमा अनेकौं कुराहरू खेलिरहेका थिए । कतै निशाले मसँग झुट त बोलेकि होइन भन्ने पनि लाग्यो । फेरि सोचेँ आखिर मसँग निशाले झुट बोल्नु पर्ने त्यस्तो कारण नै के थियो र ? निशाको कुरा सत्य हो भनेर मेरो मनले स्वीकार गरिसकेको हुँदा आफ्नो मनलाई जसोतसो सम्हालें ।
बेलुका म फेसबुक चलाउँदै थिएँ ।
निशाले तपाँइसँग भेटेर खुशी लाग्यो भनेर मेसेज पठाएकी रहिछन् । मैले पनि आफूलाई खुशी लागेको जानकारी गराएँ ।
निशा – के गर्दै हुनुहुन्छ ?
म – फेसबुक चलाउँदैछु । रेडिमेड उत्तर फर्काएँ  ।
निशा – हाँसेको इमोजी सहित खाना खानु भो भनेर लेखी पठाइन् ।
म – अब एकछिनमा खाने, तपाईंले खानु भयो ?
निशा – मैले खाएँ ।
म – कति छिटो त ?
निशा – हामी अलि छिटो नै खान्छौं ।
यतिकैमा ” ल खाना खान आउनु है बूढो” भन्दै श्रीमती जीको निम्तो कानमा आएर ठोकियो । निशालाई `मेरो खाना खाने बेला भयो, पछि कुरा गरौंला´ भन्दै बाई भनें ।
छोरा  – बाबा ममीले भन्नू भएको हजुरले हामीलाई घुमाउन लैजाने रे हो ?
म – खाना चपाउँदै अँ अँ को शैलीमा मुन्टो हल्लाएँ ।
छोरी – हामी पोखरा जाने कि इलाम बाबा ?
म – इलाम ।
श्रीमती  – इलामको चिया बगान साह्रै सुन्दर छ भन्छन् ।गज्जब रमाइलो हुने भो । साँच्चै बूढो हामी जाने चाहिँ कहिले ?
म – नानी बाबुको परीक्षा सकिएपछि ।
सबैजना सहमति सहितको खुशी ब्यक्त गर्‍यौँ ।
खाना खाएर पुनः निशासँग कुरा गर्ने मनसायले मेसेन्जरमा निशालाई अनलाइनमा खोजें । निशा अनलाइनमा थिइनन् । निशा विवाहित भएको कुरा थाहा पाएर पनि मेरो मन निशाबाट पर हट्न सकिरहेको थिएन । मैले कतिबेला निशालाई मन पराउन थालेछु आफैलाई थाहा छैन । हुन त यो माया भन्ने चिज नै यस्तै हो । कहाँ कतिबेला कोसँग भेट हुन्छ । कतिबेला कोसँग माया बस्छ थाहै हुन्न । माया त आफै हुनेरहेछ ।
निशा र म प्रायजसो मेसेन्जरमा ,फोनमा कुरा गरि नै रहन्थ्यौं । कता कता हाम्रो मन र बिचार पनि मिलेको हो कि जस्तो लाग्थ्यो।हामी कहिलेकाहीँ खुब जिस्केर पनि कुरा गरिरहेका हुन्थ्यौं।यतिबेला निशाले पनि कतै मलाई मन पराएकी छन् कि झैं लाग्थ्यो।निशालाई मन पराएको कुरा खै कसरी ब्यक्त गर्ने म संग कुनै अाइडिया नै थिएन।हामी दुबै जना विवाहित थियौं ।दुबै जनाको परिवार छ।फेरि मेरो कुराले निशालाई अप्ठ्यारो पर्छ कि भन्ठानेर कति पटक त मैले यस्ता कुराहरुलाई मनमै दवाएर राखें।
अाखिर मन न हो बहकिन्छ।मेरो मन पनि बहकियो।जति कोसिस गरे पनि मैले निशालाई भुल्न सकिन।अब मैले यो कुरा निशादाई भन्नै पर्छ भन्ने निश्चयकासाथ मैले निशालाई पुनः के हामी भेट्न सक्छौं भनेर मेसेज पठाएँ।
केही दिन अाफु घरायसी कामले निकै ब्यस्त रहेको कारण अर्को हप्ता अाइतवार पहिला भेट भएकै कफि सपमा भेट्ने भनेर निशाले मेसेज गरिन्।
मैले पनि हुन्छ भन्दै सहमती जनाएँ।
श्रीमती – हजुरलाई एउटा कुरा सोधुँ ?
म – के कुरा भनन
श्रीमती – तपाई अाजकल किन परिवार प्रति खासै ध्यान दिनुहुन्न ?
म – लौ फेरि एक्कासि यस्तो कुरा कहाँबाट अायो ?
मैले मेरो परिवारलाई ध्यान नदिए अरु कसले दिन्छ त?
समयमा घरमा अाएकै छु।घर खर्च धानेकै छु।तिमीहरुलाई लाउन खान पुराएकै छु अनि यो भन्दा कति ध्यान दिनुपर्यो मैले?
श्रीमती – तपाईले मलाई पहिलेको जस्तो माया नै गर्नुहुन्न।मेरा पनि त रहरहरु हुन्छन्,चाहानाहरु हुन्छन्।मैले कसलाई सुनाउँ ,कसले बुझिदिन्छ मेरा रहर अनि चाहानालाई ? तपाईं अाजभोली म संग नजिक हुन खोज्नुहुन्न।पहिला त्यति धेरै माया गर्ने मान्छे अाज एक्कासि यसरी परिवर्तन हुनुभयो ।
म – हेर तिमीले भनेजस्तो म केही परिवर्तन भएको छैन।उमेरछँदा पो माया पिरती,प्रेमका कुरा अादी इत्यादि हुन्छन् अब बुढेसकाल लागिसक्यो बुढी।फेरि तिमी दुईवटा बच्चाकी अामा समेत भैसक्यौ ।ल यी ऐना हेर त तिमी कति बुढी देखिन्छेऊ।अनि तिमी पनि त परिवर्तन भएकी छौ।पहिला पहिला त खुब सुत्नेबेला गिलासमा तातो दूध लिएर मेरो नजिक अाउँथ्यौ ।तर अाजभोली पुरै वेवास्ता गरेकीछौ।मैले यति कुरा त बुझ्छु के।मलाई जिस्किन मन लाग्दा तिमी छोराछोरीले थाहा पाउँछन् भनेर मेरो नजिकै पर्न खोज्दिनौ।कतिबेला छोराछोरी निदाउलान् भनेर कुरेर बस्यो उल्टै तिमी समेत भुसुक्क निदाईसकेकी हुन्छेऊ।अनि निदाएको मान्छेलाई कसरी ब्युँझाउनु जस्तो लागेर म पनि जसोतसो मन बुझाउन बाध्य हुन्छु।खै त तिमीले मेरो मनको चाहनालाई बुझेकी ?
श्रीमती  – के गरम् त नि ! छोराछोरी बुझ्ने भैसकेकाछन्।डराउनु त पर्यो नि ,त्यसै गति छाड्नु पनि त भएन नि।अनि तपाईं पनि त खाना खायो कि मोबाइल चलाउन हतार हुन्छ।भयो अब मोबाइल बन्द गर्नु भन्दा सुन्ने होइन ।अहिले अाएर मलाई मात्रै दोष लगाउनुहुन्छ।
म – साँच्ची अाजकल तिमी साह्रै गतिछाडा भाकि छौ है।बुढी अाइमाईले लगाउने जस्तो कपडा लगाएर बस्छेउ सधैं ।अलि सुहाउँदो लगाउनु नि।अाफ्नो बुढी हो कि होइन भनेर छुट्याउन समेत गाह्रो हुनेगरी बिनासित्ति झुम्री भएर नबस त
श्रीमती  – तपाईं पो कलाकार ।म केलाई राम्रो भएर बस्नु पर्यो र ? घरको काम धन्दाले भ्याईनभ्याई हुन्छ अनि कतिबेला राम्री हुन पाउनु ?त्यसमाथि दुई दुई सन्तानकी अामा भैसकें।अब पनि तपाईंले मलाई भर्खरैकि तरुनी जस्तै बन भनेर हुन्छ त ?
म – कमसेकम यसो हल्का श्रृङ्गार त गर्न सक्छेऊ नि ।अाजकल तिमी साह्रै बुढी देखिन थालेकी छौ।अरुका श्रीमतीहरु कति राम्री भएर हिंड्छन् अाफ्नो भने सधैं उस्तै ।कहिल्यै राम्री देख्न नपाउने
श्रीमती  – ल्याईदिनु पर्यो नि त अलि राम्रा राम्रा कपडा र गहना।सधैं उहीँ पुरानो थोत्रा भिर्नु पर्छ अनि कताबाट सुन्दरी देख्नुहुन्छ त ?राम्री देखिनलाई त बुढोले पनि मेरी बुढीलाई कस्तो लगाउँदा राम्री देखिन्छे भनेर सोंच्नु पर्यो नि।हैन कुनै तरुनीले मायाजालमा त पारेकी छैन तपाईलाई ?खुबै मलाई  तरुनी बन भन्दै हुनुहुन्छ ?तपाईंको चालामाला निको लाग्याछैन है बुढा अाजभोली मलाई ..कतै तरुनीको चक्करमा त पर्नु भाछैन।तपाईंको पारा हेर्दा त अलिअलि शंका लाउन थाल्यो मलाई हा हा हा
म – के कुरा गरेको होला ? यो अाईमाईको जात नै यस्तै हो के ।खाली शंका गर्ने
मोबाइल चलाउँदा नि को संग मस्केको हो रे
अलिकति ढिलो घर अाउँदा अाज कुन चाहिँ तरुनीसंग बसेर अायो होला रे
अचम्म लाग्छ ।
हैन तिमीले भन्न खोजेको के ?
हामी छोरा मान्छे तिमीहरु झैं घर भित्रै थन्किएर कसले कमाएर ल्याउँछ र पेट भर्ने ?
घरमै बसिबसि अाउने भए किन दु:ख गर्नुपर्थ्यो र ?
अनि तिमीलाई त थाहै छ।म ठुलो नभए पनि सानोतिनो कलाकार हुँ।साथीभाइ भेट हुन्छ।काम नै यस्तै भएपछि कहिलेकाहीँ रमाइलो त गर्नै पर्यो नि।कलाकार भएपछि राम्रो देखिनै पर्यो,नत्र कसैले पत्याउँदैनन्।कहिले कहाँ जानुपर्छ ,कहिले कता सुटिङ पर्छ केही ठेगान हुन्न।हामी कलाकार जुनसुकै बेला तयार हुनुपर्छ ।तिमी भने घरमा बसेर कचकच मात्रै गर्न जानेकी छौ।ल म हिंडे बजार तिर तिम्रो गन्थन सुन्नु छैन मलाई ..
अाज अाइतबार निशालाई भेट्ने दिन।
मेरो मनमा निशा प्रतिको प्रेम प्रकट गर्ने दिन
म निक उत्साहित थिएँ।अाफूलाई जेन्टल बनाएर म निशालाई भेट्न कफि सप गएँ।
यसपालि भने निशा म भन्दा पहिला नै अाएर कफि सपमा बसिरहेकी रहिछन्।यसपालि निशाले क्याविनमा मलाई पर्खेर बसेकी रहिछन्।मलाई पनि मन पर्यो निशाको क्याविनको रोजाई ।
मलाई देख्नासाथ निशाले हात हल्लाउँदै हाई भनिन्
मैले पनि हेल्लो भनि जवाफ फर्काएँ।
केही बेर बस्न नपाउँदै टेवलमा कफि अाइपुग्यो।
अरु केही मगाउँ ?निशा भन्दै थिइन्।निशाको यस्तो खालको प्रस्तुतिले निशाको मनमा पनि मेरो जस्तै प्रेमको  हुटहुटी बढेको हुनुपर्छ , मैले मनमनै अनुमान लगाएँ।
नाई पर्दैन । कफि इनफ छ भनिदिंए
म अाफ्नो मन भित्र चलिरहेको प्रेमको अाँधीलाई निशाले नै शान्त पारिदेअोस् भन्ने चाहन्थे।अब यो भन्दा  धेरै मेरो मनमा निशा प्रतिको प्रेमलाई मन भित्र मात्रै सिमित राख्न चाहन्नथें।
हामी दुबै जना कफि त पिउँदै थियौं तर मौन रुपमा
निशाले नै कुराकानीको शिलसिलालाई अगाडि बढाउने जमर्को गरिन्।
निशा – ल सुनाउनुस् विवेक जी कसरी दिनहरु बिताउँदै हुनुहुन्छ ?
म -निशा जी धेरै दिनदेखि मेरो मनमा एउटा कुराले मलाई साह्रै नै बेचैनी बनाएको छ।
निशा – हाँस्दै ! लौन के भयो ? के कुराले बेचैनी बनायो तपाईंलाई के म जान्न सक्छु ?
म – खै कसरी ब्यक्त गरुँ निशा जी।तपाईंलाई देखेपछि मेरो मनमा एक प्रकारको बेचैनी अाफसे अाफ शुरु भएको छ।तपाईंलाई देखेपछिका मेरा बाँकी दिनहरु तपाईंकै कल्पना गरेर बितिरहेछन्।तपाईंसंग मात्रै कुरा गरिरहुँ जस्तो भैरहन्छ।साँच्चै निशा जी म तपाईंलाई थाहै नपाई प्रेम गर्न थालिसकेको रहेछु।
निशा – तपाई पनि खुब मजाक गर्नुहुँदोरहेछ ।तपाईंको कुरा सुनेर मलाई रमाइलो पनि लाग्यो ।
म – निशा जी मैले कुनै मजाक गरेको छैन।सबै कुरा थाहा पाउँदा पाउँदै पनि ।हामी दुवै जना विवाहित हौं भन्ने जानेर पनि खै किन हो मेरो मनमा तपाई प्रति प्रेमको टुसा उम्रिदैं गएको मैले महसुस गरेको छु।म तपाईंलाई मन पराउँछु निशा जी! साँच्चै म तपाईंलाई प्रेम गर्छु।
निशा – विवेक जी तपाई यो के भन्दै हुनुहुन्छ ?यो असम्भव कुरा नगर्नुस्।हाम्रो परिवार छ।हाम्रो अाफ्नै जिम्मेवारी पनि छ।तपाईंले जे भन्दै हुनुहुन्छ वास्तवमा यो कुनै प्रेम होइन।यो त केवल अाकर्षण मात्रै हो।मेरो बारेमा तपाइलाई कति नै थाहा छ र? अनि मलाई पनि तपाईंको बारेमा कति नै कुरा थाहा छ र?
म – तपाईंले भनेको सबै कुरा अाफ्नो ठाउँमा ठिक हुन्।यी सबै कुरा हुँदाहुँदै पनि निशा जी म तपाईंलाई माया गर्छु।निशा जी मलाई भन्नुस्, ” के हामी विवाहित महिला-पुरुषले कसैलाई मन पराउन सक्दैनौ र ?कसैलाई प्रेम गर्न सक्दैनौं र ? प्रेम त जोसंग पनि त हुन सक्छ नि निशाजी होइन र ?
निशा – विवेकजी प्रेमलाई यति साह्रै सस्तो पनि बनाउनु हुँदैन।तपाँइले अाज मलाई राम्री देखेर मलाई मन पराउनु भएको पनि त हुन सक्छ नि ?अनि अाँखाले राम्रो देखे जतिका सबैसंग प्रेमगर्दै जाने हो भने वास्तविक प्रेमको महत्त्व नै रहँदैन।
प्रेम त मैले पनि गरेको छु।म मेरो श्रीमानलाई प्रेम गर्छु।मेरो मनमा मेरो श्रीमान बाहेक म अरु कसैलाई प्रेमको स्थानमा राख्न सक्दिन।तपाईंले अहिले जुन कुरा भन्दै हुनुहुन्छ, यो वास्तवमा कुनै प्रेम नभएर क्षणिक शारीरिक अाकर्षण मात्रै हो।
विवेक जी यदि तपाईं मलाई  साँच्चै प्रेम गर्नुहुन्छ भने मलाई गर्ने प्रेम तपाईंले अाफ्नो श्रीमतीलाई गर्नुहोस्।साँच्चै तपाँईको प्रेमको पहिलो हकदार तपाँईको श्रीमती हुनुहुन्छ ।
अाज प्रेमको नाउँमा शारीरिक अाकर्षणहरु बढ्दै गएर कयौं सुन्दर परिवारहरु तहसनहस बन्न पुगेका छन्।तपाईंको यति सुन्दर परिवार छ।अाफ्नो सुन्दर परिवारलाई कुरुप बनाउने बाटोमा पाइला चाल्न बन्द गरिदिनुस् ।
विवेक जी क्षणिक अाकर्षणमा परेर वास्तविक प्रेमको सुवासनालाई दुर्गन्धित नपार्नुहोस्।म तपाईंलाई एउटा असल साथीको रुपमा मात्रै यी सब कुरा भन्दै छु।
यदि मेरो कुराले तपाईंलाई चोट पुगेमा कृपया मलाई माफ गर्नुहोला।म तपाईंले सोचेको जस्ती केटी होइन ।तपाईंले मलाई कुन नजरले हेर्दैहुनुहुन्छ त्यो त म जान्दिन।
यतिकैमा निशाको मोबाइलको घण्टी बज्छ।निशाले अाफ्नो फोन रिसिभ गर्छिन्।
म निरीह प्राणी जस्तो भएर निशाको सामुन्नेमा चुपचाप बसिरहेको छु।भर्खरै पिएको कफिको मीठो स्वाद पनि एकछिनमा कस्तो नमिठो लागेर अायो।
निशा – सरि विवेक जी बाबुलाई एक्कासी बिसन्चो भएछ।घरबाट फोन अायो हामी फेरि कुनै अर्को दिन भेटेर कुरा गरौंला है ?भन्दै हतार हतारमा काउन्टरमा कफिको बिल तिरेर निशा अाफ्नो स्कुटर लिएर घरतर्फ लागिन्।म भने एकोहोरो निशा कुदिरहेको बाटो तर्फ चुपचाप हेरिरहें !
bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट