गैँडा गणनामा खटिएको टोलीमाथि धुर्वे हात्तीको आक्रमण

भरतपुर, २० चैत्र ।

चितवन राष्ट्रिय निकुञ्जमा एक सिंगे गैँँडाको गणनाका लागि खटिएको टोलीमाथि जंगली हात्तीले आक्रमण गरेको छ । गणक टोलीलाई धुर्वे हात्तीले आक्रमण गर्दा राष्ट्रिय प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत विनोद श्रेष्ठ गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि साँझ ५ बजेतिर हेलिकप्टरबाट काठमाडौं पठाइएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए । बरालकाअनुसार गैँडाको गणनाका लागि शुक्रबार निकुञ्जको टोली पश्चिम सेक्टरको गैँडाखासा भन्ने ठाउँमा पुगेको थियो।

‘जंगली हात्तीले टोलीलाई लखेटेछ । भागाभाग हुँदा पाँच जना कर्मचारी घाइते भएका छन्,’ बरालले भने । उनकाअनुसार चार जनालाई सामान्य चोट लागेको छ। गम्भीर घाइते श्रेष्ठलाई नवलपुरको कावासोतीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाइएको हो । उनको हाल काठमाडौंस्थित ह्याम्स अस्पतालमा उपचार भइरहेको बताइएको छ।

धुर्वे नामक जंगली हात्तीले वि.सं. २०६६ देखि २०६९ सालसम्म १३ जनाको ज्यान लिएको थियो । पछिल्लो समयमा यस्ता गतिविधि नगरेको यो हात्तीले शुक्रबार पुनः मान्छेमाथि आक्रमण गरेको हो। उक्त घटनासँगै चितवन निकुञ्जमा जारी रहेको गैँडा गणना कार्य तत्कालका लागि स्थगित गरिएको छ । गणना कार्यक्रमलाई फेरि ‘कहिलेबाट निरन्तरता दिने भन्ने विषयमा हामी छलफल गरेर निर्णय गरिने बराल बताए । चितवन राष्ट्रिय निकुञ्जमा चैत ९ गतेदेखि एक सिंगे गैँडाको गणना सुरु गरिएको थियो । बर्दिया र शुक्लाफाँटा निकुञ्जमा पनि गैँडा गणना चलिरहेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट