भरतपुर, १५ चैत ।
काभ्रेबाट प्रकाशित साहित्यिक त्रैमासिक अक्षरमार्गले आठौंँ वार्षिकोत्सवको अवसर पारेर नेपाली भाषा–साहित्यको श्रीवृद्धिमा समर्पित रहेका पाँचजना साहित्यसेवीलाई सम्मानित गरेको छ । सम्मानित हुनेमा चितवन साहित्य परिषद्का अध्यक्ष सुरेन्द्र अस्तफलसहित अन्य छन् । अस्तफलले `कृष्णदास अक्षरमार्ग स्रष्टा सम्मान’ प्राप्त गरेका हुन् ।
सम्मानित हुने अन्यमा ‘विष्णुहेम अक्षरमार्ग वरिष्ठ साधक सम्मान’बाट साहित्यकार तथा पत्रकार श्रीओम श्रेष्ठ ‘रोदन’, ‘कृष्णसुन अक्षरमार्ग साहित्यिक पत्रकार’ सम्मानबाट वियोगी बुढाथोकी, ‘नरबहादुर अक्षरमार्ग सम्मान’बाट विष्णुसिंह राई, र ‘अक्षरमार्ग भरतराज काभ्रेली गौरव सम्मान’बाट तारा केसी छन् ।
कार्यक्रमका प्रमुख अतिथि साहित्यकार डा. तुलसी भट्टराईले स्रष्टाहरूलाई सम्मान अर्पण गर्दै आफूहरु अक्षरमार्गको यात्रामा यात्रारत रहेको र अक्षरमार्गको अक्षरकर्म सुरम्य रहेको बताए ।
कार्यक्रममा विभिन्न मुक्तककारहरूको संयुक्तसंग्रह ‘मुक्तकमा समवेत् स्वरहरू’ पनि लोकार्पण गरियो । सो मुक्तकसंग्रहमा १३६ जना स्रस्टाका मुक्तकहरू समाविष्ट छ । सार्वजनिक मुक्तकसंग्रहमाथि समालोचक डा. शैलेन्दुप्रकाश नेपालले समीक्षात्मक टिप्पणी गरे ।
शनिबार आयोजित कार्यक्रममा सम्मानित स्रष्टाहरूका साथै साहित्यकार मोहन दुवाल, सूर्यप्रसाद लाकोजू, रत्नप्रसाद अनामणि, डा. पुष्करराज भट्ट, गार्गाी शर्मालगायतले आफ्नो विचार व्यक्त गरे ।




