भरतपुर, २३ फागुन ।
कोरोना भाइरस विरुद्धको दोस्रो चरणको खोप अभियानको पहिलो दिन आइतबार चितवनमा ४ हजार ५ सय ९७ जनाले पहिलो मात्राको खोप लिएका छन् । उनीहरूमध्ये २ हजार ४२ जना महिला र बाँकी २ हजार ५ सय ५५ जना पुरुष रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्राथमिकताका आधारमा ६५ वर्षमाथिका ज्येष्ठ नागरिकका लागि दोस्रो चरणको खोप अभियान सुरु गरेको हो ।
आइतबार चितवन जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामनामा १ सय ६६ जना ज्येष्ठ नागरिकले खोप लगाउँदा भरतपुर महानगरपालिकामा सबैभन्दा धेरै २ हजार ४ सय २७ जनाले खोप लिए । यस्तै, रत्ननगर नगरपालिकामा ५ सय ६१, राप्ती नगरपालिकामा ५ सय ४, माडी नगरपालिकामा ४ सय ५०, कालिका नगरपालिकामा २ सय ७६ र खैरहनी नगरपालिकामा २ सय १३ जनाले खोप लगाएको स्वास्थ्य कार्यालयले प्रस्तुत गरेको तथ्याङ्कमा उल्लेख छ ।
चितवन जिल्लामा यसअघि सम्पन्न पहिलो चरणको खोप अभियानमा १३ हजार ५ सय जनालाई पहिलो मात्राको खोप दिइएको थियो । प्राथमिकताका आधारमा स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी, लगायत अग्रपंक्तीमा रहेर काम गर्ने व्यक्ति एवं सरकारी निकायका कर्मचारी तथा जनप्रतिनिधिलाई पहिलो चरणको अभियानमा खोप प्रदान गरिएको थियो ।





