विरगञ्ज, २३ फागुन ।
विरगञ्जका व्यवसायी एवं लेखक गणेश लाठको चौथो कृति ‘क्षमादान’ विमोचन गरिएको छ । साहित्यकार मुकुन्द आचार्य, पाठशालाका अध्यक्ष बालगोपाल थापा, भूषिता वशिष्ट, सैजन मास्के र लेखक लाठ स्वयंले पुस्तक विमोचन गरेका हुन् ।
विरगञ्जको जैन धर्मशालामा आयोजित कार्यक्रममा भूषिता वशिष्टले लाठसँग उनको साहित्यिक यात्राका बारेमा कुराकानी गरेकी थिइन् ।
उनी नेपाल उद्योग वाणिज्य संघको कार्यकारिणी सदस्य र विरगञ्ज उद्योग वाणिज्य संघको अध्यक्ष समेत भइसकेका व्यक्ति हुन् ।
लाठले ३५ वर्षअघि व्यापारी समुदायको बारेमा अफवाह फैलाउने खालको समाचार आएको र त्यसको प्रत्युत्तर पत्रिकामा पठाउँदा छापिएपछि लेखनमा प्रोत्साहन मिलेको बताए । प्रविधिको विकास नहुँदा मनोरञ्जनका लागि भागेर फिल्म हेर्ने वा रामलिला हेर्ने गरेको स्मरण गर्दै उनले फिल्मका पात्रहरुलाई नै आइडल मानेर आफू हुर्किएको सुनाए ।
‘पहिले समाज कछुवा गतिमा अघि बढ्थ्यो, अहिले भ्यागुतो जस्तै उफ्रिएको छ । नयाँ पुस्ताको हिसाबले अघि बढ्न सक्नुपर्छ, आफूलाई अपडेट गर्नुपर्छ ।’ उनले भने ।
क्षमादान पुस्तक कसलाई लक्षित गरेर लेखेको हो ? भन्ने वशिष्टको प्रश्नमा लेखक लाठले भने ‘युवा जमातलाई लक्षित गरेर लेखेको हुँ, जो नेपालको माटोमा बस्न सक्दैन, तर नेपाललाई माया गर्छ । अमेरिकामा बसेर नेपाली झण्डा बोक्छ ।’
एकपटक फेल हुँदैमा जिन्दगी सकिँदैन भन्ने सन्देश पनि पुस्तकबाट मिल्ने उनले बताए ।
पुस्तकका बारेमा चर्चा गर्दै साहित्यकार मुकुन्द आचार्यले पढौं पढौं भन्ने उत्साह जगाउने, पाठकलाई बाँधेर राख्ने पुस्तक क्षमादान भएको बताए । उनले विषयबस्तुलाई न्याय दिने नाम पुस्तकमा रहेको उनको भनाई छ ।
पत्रकार चन्द्रकिशोरले लाठले तराईको भावभंगीलाई नेपाली मूल साहित्यमा ल्याउन सफल भएको बताए । उनले विषालु सर्पले क्षमा दियो भने त्यो ठूलो भएको बताउँदै बिष नभएको सर्प त जहिल्यै नम्र हुने तर्क गरे ।
उद्योगी अशोक वैद्यले दान मध्ये क्षमादानलाई निकै महत्वपूर्ण मानिने बताउँदै जैन धर्ममा एउटा पर्वमा क्षमादान गर्ने चलन नै रहेको जानकारी गराए ।
क्षमादानमाथि सोमबार चितवनमा पनि अन्तरक्रिया हुँदैछ । लेखक लाठ सोमबार चितवन आउँदैछन् । उनीसँग एलबी क्षेत्रीले संवाद गर्ने कार्यक्रम रहेको आयोजक संस्था चितवन साहित्य परिषद्का अध्यक्ष सुरेन्द्र अस्तफलले जानकारी दिए ।





