भरतपुर, १७ फागुन ।
लेखक सीताराम कोइरालाको पाँचौं पुस्तक `अजिब मान्छे´ आउने भएको छ । लामो समयदेखि साहित्य साधना गरिरहेका कोइरालाको नयाँ पुस्तकलाई सम्पूर्ण किताबले प्रकाशन गर्न लागेको हो । पुस्तक फागुनको अन्त्यमा बजारमा आइसक्ने सम्पूर्ण किताबकी संचालक सिरिषा सापकोटाले बताइन् ।
कोइरालाका यसअघि कविता, कथा, समालोचना गरेर ४ कृति प्रकाशित छन् । पाँचौं कृति `अजिब मान्छे´ संस्मरणसङ्ग्रह हो । पुस्तकमा ११ वटा संस्मरण समेटिएको लेखक कोइरालाले बताए । `बाल्यकालका महत्त्वपूर्ण भोगाइलाई संस्मरणमार्फत उतार्ने कोसिस गरेको छु´ लेखक कोइरालाले भने- `किशोरावस्थाका शिक्षासँग सम्बन्धित मुद्दाहरूलाई संस्मरणमा लेखिएकोले शिक्षक, विद्यार्थी र अभिभावक सबैलाई यो पुस्तक उपयोगी हुनेछ ।´
कोईराला गम्भीर बिसयमा कलम चलाउने लेखकका रूपमा चिनिन्छन् । अभिव्यञ्जना साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष कोइराला पल्लव साहित्य प्रतिष्ठानको `पल्लव´ पत्रिकामा लामो समय सम्पादकीय भूमिकामा आवद्ध थिए । १ सय ७५ रुपैयाँ मूल्य राखिने पुस्तक सम्पूर्ण किताब नारायणगढबाट प्रकाशन हुँदैछ ।




