म्यान्मार – म्यानमारमा सैन्य शासनको विरोधमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर एकै दिन १८ जनाको मृत्यु भएको छ ।
संयुक्त राष्ट्र संघको मानवाधिकार कार्यालयले यसलाई सैन्य शासनको विरोधमा भइरहेको प्रदर्शनका दिनमध्ये सबैभन्दा घातक दिन बताएको छ ।
आइतबार म्यानमारका यंगुन, दवेई र मन्डाले शहरमा प्रदर्शन चर्किएको थियो । ती शहरमा धेरै प्रदर्शनकारीको ज्यान गएको बिबिसीले जनाएको छ ।
प्रदर्शनकारीहरूमाथि दमन गर्न त्यहाँको सुरक्षाबलले रबर बुलेट, टियर ग्याससँगै गोली समेत चलाएको थियो ।
सामाजिक सञ्जालहरूमा आएका भिडियोमा प्रहरीले कारबाही गर्दा प्रदर्शनकारीहरू भागिरहेको देखिन्छ ।
फेब्रुअरी १ मा सेनाले शासन सत्ता हातमा लिएयता म्यानमारमा व्यापक रूपमा शान्तिपूर्ण प्रदर्शन भइरहेका छन् ।





