ग्लेन फिलिप्सको तुफानी पारीमा न्यूजील्याण्ड विजयी

भरतपुर, १४ मंसिर ।

वेष्ट इण्डिज विरुद्धको टिट्वान्टी शृंखलाको दोश्रो खेलमा आइतबार न्यूूजील्याण्डले ७२ रनको शानदार जीत हात पारेको छ । जीतसँगै २–० को अग्रता बनाएको किवी टोलीले ३ म्याचको शृंखला पनि आफ्नो पक्षमा पारेको छ ।

माउण्ट माउनगानुइमा न्यूजील्याण्डले प्रस्तुत गरेको २३९ रनको विशाल लक्ष्य पछ्याउने क्रममा वेष्ट इण्डिजले पूरै २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १६६ रन मात्रै बनाउन सक्यो । उसका लागि कप्तान किरोन पोलार्डले २८ तथा किमो पाउलले नट आउट २६ रन जोडेपनि त्यो जीतका लागि पर्याप्त भने हुन सकेन । ओपनर आन्द्रे फ्लेचरले २० रन मात्रै जोड्दा सिमरन हिटमेयर पनि २५ रन बनाएर आउट भए । क्यारिबियन टोलीलाई ठूलो स्कोरको आवश्यकता रहेको भएपनि अन्यको प्रदर्शन उल्लेख्य रहन सकेन । उसका काइल मेयर्स पनि २० रन बनाएर प्याभिलियन फर्किए । ब्ल्याक क्याप्सका लागि मिचेल स्यान्टनर र काइल जेमिसनले २–२ विकेट हात पारे । त्यसैगरी इस सोधी, जिमी निसम, लोकी फर्गुसन र टिम साउथीको नाममा पनि १–१ विकेट रह्यो ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको न्यूजील्याण्डले ग्लेन फिलिप्सको शानदार शतकको मद्दतमा निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २३८ रनको विशाल योगफल तयार पारेको थियो । जम्मा ५१ बलको सामना गरेका फिलिप्सले १० चौका र ८ छक्का प्रहार गर्दै १०८ रन बटुलेका थिए । उनी म्यान अफ दि म्याच समेत घोषित भए । उनका अलावा मार्टिन गुप्टिलले ३४ तथा डेवोन कन्वेले नट आउट ६५ रनको योगदान दिए । बलिङमा भने ओसाने थोमस, फेबियन एलन र किरोन पोलार्डले १–१ विकेट हात पारे ।

यी दुई टोलीबीचको अन्तिम टिट्वान्टी भोलि सोमबार माउण्ट माउनगानुइमा खेलिनेछ ।

(क्रिकइन्फोको सहयोगमा)

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट