भरतपुर, १४ मंसिर ।
भारत र अष्ट्रेलियाबीच जारी एकदिवसीय शृंखलामा अष्ट्रेलियाले कब्जा गरेको छ । आइतबार खेलिएको शृंखलाको दोश्रो खेलमा भारतलाई ५१ रनले हराउँदै घरेलु टोलीले एक खेल अगावै शृंखलामा कब्जा गरेको हो ।
अष्ट्रेलियाले दिएको ३९० रनको उच्च लक्ष्य पछ्याउने क्रममा भारतले पूरै ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा ३३८ रन मात्रै बनाउन सक्यो । उसका कप्तान विराट कोहलीले ८९ तथा विकेटकिपर ब्याट्सम्यान लोकेश राहुलले ७६ रन प्रहार गर्दै जीतको आशालाई जोगाउने प्रयास गरेका थिए । यद्यपि ती दुई ब्याट्सम्यान सफल भने हुन सकेनन् । श्रेयस अय्यरले ३८ रन बनाएको खेलमा ओपनरद्वय शिखर धवन र मयंक अग्रवालले क्रमशः ३० र २८ रन मात्रै बनाउन सके । यस्तै, तल्लो क्रमका हार्दिक पाण्डेयले २८ रनको पारी खेल्दा रवीन्द्र जडेजा २४ रनको व्यक्तिगत स्कोरमा प्याभिलियन फर्किए । बलिङतर्फ भने कंगारु टोलीका प्याट कमिन्सले सर्वाधिक ३ विकेट हात पारे । त्यस्तै, एडम जाम्पा र जोश हेजलउडले २–२ विकेट चट्काउँदा ग्लेन म्याक्सवेल र मोइसिस हेनरीक्सले पनि १–१ विकेट लिन सफल भए ।
यसअघि सिड्नी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको अष्ट्रेलियाले स्टिभ स्मीथको उत्कृष्ट पारीको मद्दतमा निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३८९ रनको योगफल तयार पारेको थियो । लगातार दोश्रो एकदिवसीय शतक प्रहार गर्ने क्रममा स्मीथ १०४ रन जोड्दै आउट भए । सोही शतकका आधारमा उनी म्यान अफ दि म्याच समेत घोषित भए । बायाँहाते ओपनर डेविड वार्नर ८३ रनको व्यक्तिगत स्कोरमा आउट हुँदा कप्तान ओपनर एरोन फिन्चले ६० रनको योगदान दिए । पहिलो विकेटका लागि फिन्च र वार्नरबीच १४२ रनको साझेदारी बनेको थियो । चौँथो क्रममा ब्याटिङ गर्न आएका मार्कस लेबुसेनले ७० रन जोड्दा अलराउण्डर म्याक्सवेल भने ६३ रनमा नट आउट रहे । जम्मा २९ बलको सामना गरेका म्याक्सवेलले चार चौका र चारै छक्का प्रहार गरेका थिए । मिन इन ब्लुका बलर घरेलु टोलीका ब्याट्सम्यान विरुद्ध दोश्रो एकदिवसीय खेलमा पनि निरीह देखिएका थिए । उसका मोहम्मद समी, जस्प्रित बुम्राहा र हार्दिक पाण्डेयले १–१ विकेट लिए । थप १ विकेट भने रन आउटबाट सम्भव भएको थियो ।
जीतसँगै अष्ट्रेलियाले ३ खेलको शृंखलामा २–० को अग्रता बनाएको छ । यस्तै, आइसीसी क्रिकेट वल्र्ड कप सुपर लिगमा पनि उसले १० अंक जोडेको छ । लिगमा ५ खेल खेलेको अष्टे«लियाले ४ मा जीत हात पार्दै ४० अंक जोडेको छ । दोश्रो एकदिवसीय खेलमा भारतलाई हराएपछि ऊ अंकतालिकामा शीर्ष स्थानमा उक्लिएको हो । ६ खेलमा समान ३ जीत र ३ हार निकाल्दै ३० अंक जोडेको इंगल्याण्ड भने दोश्रो स्थानमा झरेको छ । भारतले भने जारी सुपर लिगमा दुई खेल खेल्दा दुवैमा हार बेहोरेको छ ।
अष्ट्रेलिया र भारतबीचको अन्तिम एकदिवसीय खेल आगामी बुधबार क्यानबेरामा खेलिनेछ ।





