भिनाजुको छोराले जोगाइदिएको बाटो

संस्मरण                                                          पेसाले म एक स्वयंसेविका र शिक्षिका । उमेरले चौवन्न वर्ष । आज म मेरो संघर्षको कथा लेख्दैछु । हुन त मेरो संघर्ष म जन्मिनुभन्दा पहिले नै सुरु भएको थियो । सुनाउन ढिलो भयो । ढिलै सहि भए पनि यो मन हलुका बनाउने प्रयासमा छु । हुन त मेरो पिर व्यथा कसले पो सुनेनन् ? कसलाई पो पोखिन ? खै जसले बुझे म बाट कहिल्यै नफर्किने गरि टाढा भए । जसलाई बुझाउन सकिन ति पनि टाढिए । अब बस यही कथा सुनाउन बाँकी छ र सुनाउँछु पनि ।
मेरो संघर्ष म जन्मिनुभन्दा पहिले नै अर्थात म आमाको गर्भमा रहँदै सुरु भयो । कारण म छोरी थिएँ, मलाई गर्भ मै तुहिनु थियो । तर मलाई बुझ्ने मेरी आमाले मलाई बचाइन् । त्यो बेला जहाँ पुरै पितृसत्तात्मक समाज थियो । त्यही संघर्षमा बाँच्न आमाले सिकाईन् । आफू समाज र परिवारबाट टाढा भएर पनि । म माथिका पाँच दिदी र मलाई लिएर मेरी आमा माईतीको शरणमा बसिन्, धेरै दु:ख झेलेर कयौं वर्ष । अन्ततः मेरा बुवाले ६ वर्ष पछि घर फर्काए हामी सबैलाई ।

बाल्यकालदेखि नै मेरो पढ्ने ईच्छा ज्यादै थियो। तर म पहिलोपटक ६ वर्षको उमेरमा विद्यालय टेकें, आमाको सहयोगले । दिदीहरु त विद्यालय जानै पाएनन् । मेरो दिउँसोको काम दिदीहरुले गरिदिन्थे । बिदाको दिनमा र बिहान बेलुकी सकिनसकी आफैले गर्नु पर्थ्यो । कारण मैले आफ्नो बालश्रम बेचेकी थिएँ पढाईको नाममा । जसोतसो दस कक्षा पढ्दै थिएँ । सबै दिदीहरू पराई भईसकेका थिए बिहे गरेर । मलाई पनि घरबाट अब नपढ, बिहे गरिदिने हो जस्तो धम्की आईसकेको थियो । त्यसै समयमा साहिली दिदी छोरो पाएको पन्ध्र दिनमा स्वर्गीय हुनु भयो । वज्रपात पर्‍यो । त्यो दुधे बालकको पुकार सुनेनन् कसैले । अब भिनाजुले अर्को बिहे गर्नु पर्‍यो । सबैको सल्लाह र नजरमा मै थिएँ त्यो घर सम्हाल्ने । आमा रोएरै मलाई पगाल्नु भयो । `त्यो दुधे बालक स्याहार्ने काम अरूले गर्दैनन् । पराईलाई माया नि हुन्न । जा छोरी त्यो घर सम्हाल्न ।´ आमा अर्धचेत हुनु भयो कयौं दिनसम्म । दुधे बालक यतै ल्याएर भैसीको दुध खुवाएर बचायौं । तीन महिनापछि म पढ्न पाउने सर्तमा भिनाजुको घर भित्रीएँ छोरो च्यापेर ।

गाउँबाट एक घन्टा पैदलमा क्याम्पस थियो । घर अनि बच्चाको काम सकेर पुनः धाएर आफैंले पढ्न सकिन । बिस्तारै पढाईले आफै बिट मार्‍यो । जेनतेन एसएलसी पासको सर्टिफिकेट हात परेको थियो । समयसँगै बाबु ठुलो हुँदै गयो । गाउँमै शिक्षिका र स्वास्थ्य स्वयंसेविका बनेर काम गर्न थालें । भिनाजु अर्थात मेरो श्रीमानको साथ सदैव पाएँ । यता म नि गर्भवती थिएँ । योपटक मेरो जीवनमा अर्को बज्रपात पर्‍यो । भिनाजु घाँस काट्न रुख चढेको बेला हाँगो भाँचिएर लड्नु भयो । मृत्युको मुखमा परेको मान्छे तीन महिना सदरमुकाम अस्पतालमा राखेर बाँच्नु भयो । मेरो स्वास्थ्य तिरको चिनजान डाक्टर, नर्स र स्वयं मेरो सहयोगले उहाँले जीवन पाउनु भयो । त्यसपछि गाउँमा बिस्तारै सचेतना बढ्न थाल्यो । मैले समाज परिवर्तनको सक्रिय जिम्मा पाएँ । तर पनि मैले केही वर्ष पछि आफ्नो कोखबाट जन्मिएको छोरो गुमाएँ । बाढी हेर्न गएको छोरो अरुलाई बचाउन जाँदा आफू पनि भंगालोमा परेर ज्यान गुमायो ।

यता मलाई सदैब साथ हौसला दिने मेरी आमा गुमाएको छ महिना पुग्दैथियो । भगवानले मलाई नै किन बज्रपात पार्छन् । म एउटा छोरो जसको निम्ति भिनाजुको घर भित्रीएँ । त्यही छोराको लागि बाँच्नु परिरहेको छ । मनभित्रका अथाह पीडालाई च्यापेर विद्यालय र स्वास्थ्यको क्षेत्रमा काम गरिरहेँ । आफ्नो पहिलो श्रीमती र छोरो गुमाएका भिनाजु पिरैपिरमा बस्न थाल्नु भयो । कमजोर शरिर कमजोर मन लिएर ६ वर्षपछि उहाँ नि यो संसार छोडेर हामीबाट टाढिनु भयो । त्यसपछि म एक्लो भएँ । कामबाट वर्ष दिनसम्म टाढिएँ ।

ठुलो छोरो डाक्टर बनेर गाउँ आईसकेको थियो । उसको भलाइ र सहजताको लागि पनि मैले बाटो बिराउन उचित थिएन । उसैका लागि मैले फेरि काममा फर्किनु पर्‍यो । किनकी म घरभित्रैको शून्यतामा विलीन हुन लागेको थिएँ । मानसिक र शारीरिक रुपमा विक्षिप्त मलाई मेरो त्यही ठुलो छोरोले पुनर्जन्ममा फर्कायो । जसको निम्ति मैले भिनाजुसँग जिन्दगी बिताउन उहाँको घरमा भित्रीएकी थिएँ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट