भरतपुर, १२ मंसिर ।
न्यूजील्याण्ड र वेष्ट इण्डिजबीच जारी टिट्वान्टी शृंखलाको पहिलो खेलमा न्यूजील्याण्ड विजयी भएको छ । घरेलु टोली न्यूजील्याण्डले शुक्रबार खेलिएको खेलमा वेष्ट इण्डिजलाई डकवर्थ लुइस नियमका आधारमा ५ विकेटले हराएको हो ।
वर्षा पटकपटक बाधक बनेको खेलमा न्यूजील्याण्डलाई १६ ओभरमा परिस्कृत १७६ रनको लक्ष्य मिलेको थियो । उक्त लक्ष्य न्यूजील्याण्डले खेल सकिन ४ बल बाँकी छँदा पाँच विकेट गुुमाएर भेट्टाएको थियो । अलराउण्डर जिमी निसमले टोलीका लागि सर्वाधिक ४८ नट आउट रनको योगदान दिए । यस्तै किवी टोलीलाई जीतसम्म डो¥याउन डेवोन कोन्वेले ४१ तथा ग्लेन फिलिप्सले २२ रनको पारी खेले । ओपनर मार्टिन गुप्टिल ५ रनमा आउट भएको खेलमा मिचेल स्यान्टनर ३१ रनको स्कोरमा अविजीत रहे । क्यारेवियन टोलीका तर्फबाट ओसाने थोमसले २ विकेट चट्काउँदा सेल्डन कोट्रेलले पनि १ विकेट लिए । उनका अलावा वेष्ट इण्डिजका कप्तान किरोन पोलार्डले १ विकेट लिए पनि टोलीलाई जीत भने दिलाउन सकेनन् ।

यसअघि अक्ल्याण्डमा टस हारेर पहिले ब्याटिङ गर्न उत्रिएको पाहुना टोलीले निर्धारित १६ ओभरमा ७ विकेट गुमाएर १८० रन बनाएको थियो । यद्यपि उसको सुरुवात भने फितलो हुन पुगेको थियो । एक समय उसले ५.१ ओभरमा ५ विकेट गुमाएर जम्म ५९ रन बनाउन सकेको थियो । त्यसपछि ब्याटिङ गर्न आएका क्यारेबियन ब्याट्सम्यान किरोन पोलार्डले ३७ बलमा ७५ प्रहार गर्दै टोलीको उद्दार गरेका थिए । उनले आफ्नो अर्धशतकीय पारीमा कूल ४ चौका र ८ छक्का प्रहार गरे । उनीसँगै फेबिएन एलानले पनि २६ बलमा ३० रनको सहयोगी पारी खेले । न्यूजील्याण्डका लागि भने लोकी फर्गुसनले पाँच विकेट हात पारे । ४ ओभरको स्पेल बलिङ गरेका उनले जम्मा २१ रन खर्चिएका थिए । उनी म्यान अफ दि म्याच समेत घोषित भए । यस्तै कप्तान टिम साउथीले पनि टोलीका लागि २ विकेट हात पारे ।
जीतसँगै न्यूजील्याण्डले तीन खेलको टिट्वान्टी शृंखलामा १–० को अग्रता लिएको छ । यी दुईबीचको दोश्रो टिट्वान्टी आगामी आइतबार खेलिनेछ । न्यूजील्याण्डको भ्रमणमा रहेको वेष्ट इण्डिजले त्यहाँ थप दुई खेलको टेष्ट शृंखला पनि खेल्ने कार्यतालिका रहेको छ ।
(क्रिकइन्फोको सहयोगमा)





