खैरहनीमा पनि लैंगिक हिंसा विरुद्धको अभियानको शुभारम्भ

चितवन, १० मंसिर ।

चितवनको खैरहनी नगरपालिकामा पनि लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ । खैरहनी नगरपालिका तथा इलाका प्रहरी कार्यालय खैरहनीको संयुक्त आयोजनामा अभियानको बुधबार शुभारम्भ गरिएको हो । खैरहनी न.पा. वडा नं ६ पुरानो पर्सा चोकमा नगर उपप्रमुख सुनिता थपलियाले मैनबत्ती बालेर अभियानको उद्घाटन गरेकी हुन् ।

सो अवसरमा बोल्दै उपप्रमुख थपलियाले व्यक्ति आफैँबाट हिंसा अन्त्यका लागि प्रतिबद्ध हुनुपर्ने बताइन् । सबै खालका हिंसा अन्त्य भए मात्र समुन्नत समाज निर्माण हुने उनको भनाइ थियो । १६ दिने अभियान सांकेतिक रूप भएको भन्दै ती १६ बाहेक अन्य दिन पनि हिंसा हुन नहुने उपप्रमुख थपलियाले बताइन् । अभियानको अवधिभर विभिन्न कार्यक्रम आयोजना गरिने नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख कृष्णकुमारी गुरुङले जानकारी दिइन् । १६ दिने अभियानका अवसरमा लैंगिक हिंसा अन्त्य सम्बन्धी अन्तरक्रिया, महिला पुरुष समविकास तालिम, आइपिएम कृषक पाठशाला, लगायतका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । त्यस्तै समाजमा व्याप्त कुरीति, लैंगिक विभेद, मानव बेचबिखन तथा ओसारपसार विरुद्धको कार्यक्रम गरी अभियानको समापन गरिने महिला बालबालिका शाखा प्रमुख गुरुङ्गले बताइन् ।

उपप्रमुख थपलियाको अध्यक्षतामा भएको अभियान उद्घाटनका अवसरमा स्थानीय शिक्षा अधिकारी राजु बानियाँ, खैरहनी वडा नं १ का वडा अध्यक्ष भूमि प्रसाद कंडेल, वडा नं ६ का अध्यक्ष रामशरण पाण्डे, वडा नं ७ का अध्यक्ष मनेजर महतो, स्वास्थ्य शाखा प्रमुख अनुप अधिकारी, इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक ऋषिराम घर्ती मगर, कार्यपालिका सदस्य, महिला तथा बालबालिका शाखा उपप्रमुख विमला रानाभाट लगायतको उपस्थिति रहेको थियो ।

बुधबारै भरतपुर महानगरपालिकामा पनि विभिन्न संघसंस्थाले महिला हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको जानकारी दिन विविध कार्यक्रमको आयोजना गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट