सार्वजनिक यातायातका साधनमा छैन पहिलेझैँ यात्रुको चाप

भरतपुर, १० मंसिर ।

कोरोना भाइरस महामारीको संक्रमणलाई फैलन नदिन जारी गरिएको लामो समयको लकडाउन तथा प्रतिबन्धका कारण यातायात सेवा ठप्प नै रह्यो । आश्विन महिनाको पहिलो सातादेखि भने जनस्वास्थ्यका मापदण्ड अपनाएर भाडाका यात्रुवाहक गाडी सञ्चालन गर्न सरकारले अनुमति दिइसकेको छ । बजार, पसल तथा अन्य केही व्यवसाय पहिलेकै अवस्थामा फर्किन लागेका भएपनि सार्वजनिक यातायातका सेवालाई तंग्रिन थप समय लाग्ने भएको छ ।

नारायणघाटदेखि टाँडी, पर्सा बजार हुँदै लोथरसम्म पुग्ने छोटो दूरीका बसमा कुनै समय खुबै भीड हुने गर्दथ्यो । कतिपय अवस्थामा यात्रुहरूले गन्तव्यसम्म पुग्न उभिएर नै यात्रा गर्नुपर्ने हुन्थ्यो । अचेल भने बसमा त्यस्तो भीड छैन । एक पटक नारायणघाट–लोथर रुट पार गर्दा बसमा मुस्किलले १० जना यात्रीले मात्रै यात्रा गर्ने गरेको चालक होमनाथ पाठक बताउँछन् । “पहिले एक साइडको एक लहरको सीटमा एक जना मात्र यात्रु राखेर पनि गाडी चलायौं”, उनले भने, “त्यो बेला भाडा दोब्बरसम्म लिन पाउने सहमति भएको थियो ।” पछि भने बिस्तारै जनस्वास्थ्यका मापदण्ड पालना गराएर लहरको सीटमा दुई जना पनि राख्न थालिएको उनले बताए । “अहिले पुरानै भाडा दर कायम गरेर सेवा सुचारु गरेका छौं । प्रत्येक यात्रुका लागि मास्क र सेनिटाइजरको प्रयोग अनिवार्य गरेका छौं”, उनले सुनाए, “तर यात्रीको उपस्थिति भने एकदमै न्यून रहेको छ ।”

कोरोना भाइरस महामारीका कारण धेरैजसो मानिसको पेशा तथा व्यवसाय खोसिएको छ । काम गर्ने ठाउँसम्म पुग्न विगतमा उनीहरूले सार्वजनिक यातायातका साधनको प्रयोग गर्ने भएपनि काम गुमाएपछि त्यस्ता यात्रीको संख्यामा कमी आएको चालकहरूको बुझाइ छ । फेरि गत चैत महिनादेखि क्याम्पस लगायतका शैक्षिक संस्था बन्दप्रायः छन् जसकारण विद्यार्थीको आवागमन पनि प्रभावित बनेको छ । “कलेज पढ्न वा अन्य प्रशिक्षणमा सहभागी हुन विद्यार्थीहरू एउटा पालिकाबाट अर्काे पालिकामा जाने गर्थे”, चालक पाठकले अगाडि थपे, “शैक्षिक संस्था बन्द भएपछि सार्वजनिक यातायातका साधनमा विद्यार्थीको चाप पनि घटेको छ ।” दिनभरि गाडी कुदाउँदा तेल हाल्ने पैसा समेत नउठ्ने गरेको दुःखेसो उनले पोखे ।

हाल कतिपय मानिसहरू आफूमा पनि कोरोना भाइरसको संक्रमण सर्न सक्ने भन्ने डरका कारण यात्रुवाहक सवारी साधनमा चढ्न छाडेका छन् । बरु तीन पांग्रे अटोरिक्सा रिजर्भ गरेर यात्रा गर्नेको संख्या केही बढेको देखिएको छ । “बसभित्र सबैले मास्क लगाएका हुन्छन् । शारीरिक दूरी पनि कायम गरिएकै हुन्छ”, भरतपुर–टाँडी रुटमा यात्रा गर्दै आएका यात्रु चेतन गौतमले भने, “तर भाडा नगदमै बुझाउनुपर्ने हुँदा नोटबाट संक्रमण फैलने हो कि भन्ने डर चाहिँ लागेकै हुन्छ ।”

काठमाडौँ–भरतपुर–धरान रुटमा न्यू कोशी सुपर डिलक्सको रात्री बस चलाउँदै आएका हेटौंडाका सीताराम लामाले पनि कोभिड–१९ महामारीका कारण सेवा सुचारु हुन नसकेको बताए । “कोरोना भाइरसका नयाँ संक्रमित थपिने क्रम रोकिएको छैन । त्यसैले हालसम्म पनि राजमार्गमा गाडी निकाल्न पाएका छैनौं”, उनले सुनाए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट