भरतपुर, ६ मंसिर ।
उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिइएसँगै छठ पर्व सकिएको छ । चार दिनसम्म मनाइने यो पर्वअन्तर्गत शुक्रबार साँझ व्रतालुहरूले अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिएका थिए ।
कोरोना महामारीका कारण विगतका वर्षमा भन्दा यस पटक छठ केही फरक ढंगले मनाइएको छ । नदी, पोखरी तथा जलाशयलाई सिँगारेर झकिझकाउ पार्ने गरिएकामा यस पटक खासै उल्लास थिएन । चितवनमा नारायणी, राप्ती, लगायतका नदीका किनार यस पटक सिँगारिएका थिएनन् । जलाशयमा मानिसको उपस्थिति पनि कम रहेको थियो ।
छठघाटमै गएर शिरसोप्ताको पूजा, छठी मैँयाको आराधना र सूर्यको उपासना गर्ने कतिपयले यस वर्ष घरको छत र आँगनमै पर्व मनाएका छन् । कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै स्थानीय प्रशासन र स्थानीय सरकारले छठघाटमा भिडभाड नगर्न पनि आग्रह गरेका थिए ।
कार्तिक शुक्ल षष्ठी र सप्तमीका दिन सूर्यलाई विशेष विधिपूर्वक अर्घ्य दिएर छठ पर्व मनाइन्छ । ‘सँझिया घाटे’ भनिने षष्ठीको दिनलाई छठको मुख्य दिन मानिन्छ । छठ पर्व विशेष गरी नेपालको मध्य र पूर्वी तराईमा मनाइने गरिएको भएपनि पछिल्लो समय देशका अन्य जिल्लामा समेत उल्लासका साथ मनाउन थालिएको छ ।
छठपूजामा सूर्य भगवान र छठी मातालाई पूजापाठ र अघ्र्य दिनका लागि गहुँ वा चामलको पिठोबाट ठेकुवा बनाउने गरिन्छ । यस्तै, पातसहितको मुला, अदुवा र बेसारको हरियो बेर्ना, ज्यामिर, नरिवल, सुन्तला, केरा, स्याउ, पानीसिंगडा, सुथनी, उखु लगायतका फलफूल पनि चढाउने गरिन्छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइनुको साथै सन्तान सुख प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास रही आएको छ । कार्तिक शुक्ल पक्षको समयमा जलाशयमा स्नान गरेमा चर्मरोग निको हुने पनि विश्वास रहँदै आएको छ ।





