जीवा लामिछानेको `देश देशावर´ सार्वजनिक

भरतपुर, ४ मंसिर ।
उद्यमी एवम् लेखक जीवा लामिछानेको नियात्रा सङ्ग्रह ‘देश देशावर’ सार्वजनिक भएको छ । कोभिड-१९ को संक्रमणको जोखिमका कारण बिहीबार औपचारिक कार्यक्रमबिनै भिडियोमार्फत पुस्तक सार्वजनिक गरिएको हो । पुस्तक फाइन प्रिन्टले प्रकाशन गरेको हो ।

लामिछानेले नितान्त नौलो क्षेत्रमा गएर नौलो विषय टिपेर मिहिनेतसाथ यो कृति लेखेको लेखक खगेन्द्र संग्रौलाले बताए । ‘यो किताब अति सजिलो ढंगले लेखिएको छ । सामान्य मान्छेले यसलाई सजिलोसँग बुझ्छ, यो कृति पढ्दा उसले नयाँ भूगोल पढ्छ,’ उनी भन्छन्, ‘नयाँ संस्कृति पढ्छ, नयाँ मान्छे भेट्छ, नयाँ रमाइलो भेट्छ ।’

शब्दले संसार घुमाउने किताब ‘देश देशावर’ रहेको लेखक अमर न्यौपानेले बताए । यसले विशेषगरी अफ्रिकी चार देशको युद्ध र शान्ति, विनाश र विकासको कथा पनि भन्‍ने उनको भनाइ छ । ‘संसार घुम्न चाहनेहरूका लागि पुस्तक पथप्रदर्शक हो,’ उनी भन्छन्, ‘विकासप्रेमी एवम् राजनीतिज्ञहरूका लागि यसले आफ्नो देश बनाउन मार्गप्रशस्त पनि गर्छ ।’

जसले एउटै पुस्तक पढेर संसारका धेरै ठाउँबारे जानकारी राख्न चाहन्छ, उसका लागि पुस्तक उपयोगी हुन सक्ने लेखक जीवा लामिछानेले बताए । ‘यो पुस्तकमा तपाईंले ठूलो ‘लिटरेरी भ्यालु’ खोज्‍नुभयो भने त्यो पाउनुहुन्‍न,’ उनी भन्छन्, ‘तर एउटै पुस्तकबाट संसारका विभिन्‍न देश एवम् ठाउँबारे जान्न, त्यहाँको रहनसहन बुझ्‍न र भौगोलिक अवस्थाबारे जानकारी दिन भने पक्कै काम लाग्‍नेछ ।’

यात्रा गर्ने र त्यसलाई लिपिबद्द गर्न रूचाउने लामिछानेले संसारका एक सय ३० भन्दा बढी देश घुमिसकेका छन् । पुस्तकमा लेखकले विभिन्‍न देशका विशिष्टतासँग आफ्नो देशको स्थिति तुलना गरेका छन् । पुस्तकको मूल्य ३९५ रुपैयाँ रहेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट