काठमाडौँ, १ मंसिर ।
साहित्य लेखनमा सधैँ नयाँ प्रयोग गर्दै आइरहेका फिक्सन डिजाइनर कुमार नगरकोटीको नयाँ कथासङ्ग्रह ‘कल्प-ग्रन्थ’को प्रिमियम संस्करण प्रकाशन हुने भएको छ । ६३ वटा विभिन्न बान्की र शैलीका कथा समेटिएको सो पुस्तक ७७७ पृष्ठको रहेको प्रकाशक बुक-हिलद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
`पुस्तकमा कन्सेप्चुअल, ग्रे, पोस्टकार्ड, इन्स्टलेसन, स्क्रीन प्ले, ट्रान्स क्रियटेड, टाइपोग्राफिक लगायत कथाहरू रहेका छन् । नेपाली साहित्यमा नगरकोटीको यो किताब उच्चतम प्रयोग हो ।´, बुक-हिलका अध्यक्ष भूपेन्द्र खड्का भन्छन्, `पश्चिमा मुलुकहरूमा विशेष लेखकहरूका किताब विशेष तरिकाले प्रकाशन हुन्छन्, हामीले पनि लेखनमा सधैँ प्रयोग गर्दै आइरहेका नगरकोटीको यो किताबलाई विशेष तरिकाले प्रकाशन गर्न लागेका हौँ´
‘एसिड फ्री’ कागजमा छापिने किताब हार्ड कभरमा बक्ससहित उपलब्ध हुनेछ । एउटा बुक-मार्क, केही विशेष पोस्टकार्ड र झोला किताबसहित प्रत्येक ग्राहकले हात पार्नेछन् । साथै, हरेक ग्राहकले नगरकोटीको अटोग्राफसहित किताब प्राप्त गर्नेछन् ।
आजदेखि प्रि-अर्डर खुल्ला गरिएको किताब खरिद गर्न आगामी फागुन १ गतेसम्म अग्रीम बुकिङ गर्न सकिनेछ । किताबको मूल्य २०२१/- रुपैयाँ तोकिएको छ ।
यो पुस्तक जति ग्राहकले प्रि-अर्डर गर्छन्, त्यति ‘प्रति’ मात्र छापिने बुकहिलले जनाएको छ । देश वा विदेशका कुनै पनि पुस्तक पसलमा यो पुस्तक उपलब्ध नहुने तर बिक्री गर्न इच्छुक पसलले पनि अभियानमा सहभागी भएर प्री अर्डर गर्नुपर्ने नियम छ ।





