गैंडाकोट, २७ कात्तिक ।
अन्तर्राष्ट्रिय जलरङ समाज ( आइडब्लुएस) नेपाल च्याप्टरले आयोजना गरेको अविछिन्न १०० घन्टे जलरङ सिर्जना कार्यशाला कार्यक्रम अन्तर्गत चितवन र नवलपरासीका १० जना कलाकारले १५ घन्टाको अबधिमा सामुहिक चित्र सिर्जना गरेका छन् । पूर्वीनवलपरासीको गैंडाकोटमा अवस्थित मौलाकालिका मन्दिरमा पुगेर कलाकारले पानी रङको सहायताले विभिन्न प्रकृतिका चित्र बनाएका हुन् ।
कार्यशाला शृङ्खलाको तेस्रो दिन मंगलबार साँझ ६ बजेबाट सुरु भएको चितवन र नवलपरासीका कलाकारहरूको यो सामूहिक चित्र सिर्जना कार्यशाला `थर्ड नाइट फिप्टिन आवर्स एट मौलाकालिका´ शृङ्खला बुधबार बिहान ९ बजेसम्म चलेको थियो ।
कार्यशालाको सुरुवातमा कलाकार भीम शर्माले चित्रपटमा कुची दौडाए । शर्मा कलावती आर्ट काउन्सिल गैंडाकोटका अध्यक्ष हुन् । उनले पानी रङका विभिन्न प्रकारलाई कागजमा पोख्दै केही बेरमा नै चित्रलाई आकार दिए । रुखमा गुँड बनाएर बसेका जोडी चरालाई तोकिएको समयावधि १ घण्टा ३० मिनेटमा चित्रमा उतारे । तयार भएको चित्रमा हस्ताक्षर गरेपछि सबैले ताली बजाएर शर्मालाई अभिनन्दन गरे । शर्मापछि प्राज्ञ लालकाजी लामा त्यसैगरी प्रस्तुत भए । लामाले पनि कुची समातेर कागजमा रङ भर्न थाले । नेपाललाई बुद्धको देश भनेर चिनाउन मिल्ने गुम्बा, हिमाल र थांका देखिने चित्र उनले उतारे । चित्रकार लामा नेपाल प्रज्ञा प्रतिष्ठानको मूर्तिकला विभागका प्रमुख हुन् भने अन्तर्राष्ट्रिय जलरङ समाज नेपालका केन्द्रिय उपाध्यक्ष हुन् । लामापछि कार्यशालामा चितवनका चर्चित कलाकार प्रकाश थापाले आफ्नो प्रस्तुति दिए । कात्तिक महिनामा रातभरि टोलटोलमा हिँडेर फेरी लाउने जोगीको चित्रलाई कागजमा उतारे ।
त्यसपछि भरतपुर- १० निवासी कलाकार दामोदर बराल रङ र कुची समातेर आसनमा बसे । बरालले कास्कीको घाचोक गाउँको सुन्दरतालाई दुरुस्तै उतारेका छन् । बराल अन्तर्राष्ट्रिय जलरङ समाज नेपाल केन्द्रिय समितिका क्रियाशील सदस्य हुन् । बरालपछि भरतपुर-२ क्षेत्रपुरका कलाकार बरुणबाबु घिमिरेको पालो थियो । घिमिरेले चितवनको राप्ती किनारमा डुलीरहने लोपोन्मुख एकसिङ्गे गैंडालाई चित्र मार्फत उतारे । `आन्तरिक तथा बाहय पर्यटनमा चितवन भन्ने बित्तिकै आम मानिसले गैंडा सम्झन्छन्´, घिमिरेले भने- `मलाई पनि चितवनसँग गैंडा जोडेर चिनाउन पाउँदा सन्तुष्टि मिल्ने हुनाले कार्यशालामा गैंडालाई पानी रङको चित्रमा सजाएको हुँ ।´
घिमिरेपछि सहभागी भएका भरतपुर-११ बसेनीका मिलन गुरुङले मौलाकालिका मन्दिरलाई चित्रमा उतारे । लगत्तै भरतपुर – ७ कृष्णपुरका सुशील गुरुङ सोही आसनमा बसे । गुरुङले नारायणगढ- हेटौंडाखण्डको राजमार्गको स्केच बनाएर सोही बाटोमा गुड्ने मालबाहक ट्रकलाई चित्रमा उतारे । माडी नगरपालिकाका दिनेश्वर महतोले माडी उपत्यकाको पुरानो थारु परिवेशलाई चित्रमा उतारे । महतो माडीमै जन्मे हुर्केका हुन् । आफू खेलेको ढुङ्गा माटोलाई सम्मान गर्दै आफ्नै आँगनको चित्र कोरेको महतोले बताए । महतोपछि रत्ननगर- १४ पिठुवाका योगेश खनाल आसनमा आए । खनालले बुद्ध, शिव र रिसाएकी कुमारीको एकीकृत तस्वीरलाई कागजमा उतारे । अन्तिम सहभागीका रूपमा प्रस्तुत भएका माडी- ६ का राजेश बरालले माडी उपत्यकाको दृश्य सँगसँगै भूगोल र थारू बसोबासलाई चित्रण गरे ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाडौंमा कात्तिक २३ गते सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङद्वारा उद्घाटन गरेर सुरु गरिएको चित्र सिर्जना कार्यशालामा नेपालभित्र र बाहिर रहेका कलाकारहरू सहभागी थिए । कार्यशालामा कुल ७३ जना कलाकार सहभागी भए । सबै कलाकारले डेढ घण्टाको समयावधिमा चित्र कोरेका थिए । चार दिन, चार रात र चार घण्टा गरि कुल १०० घण्टाको यो अभियान बिहीबार दिउँसो साढे २ बजे सकिएको छ ।
१०० घण्टे रिले चित्र सिर्जना कार्यशाला नेपालमा पहिलोपटक आयोजना गरिएको हो । यसअघि भारतका कलाकारले ७२ घण्टाको यस्तै चित्र कार्यशाला गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा लेखाएका छन् । नेपालमा १०० घण्टाको कार्यशाला गराएर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा पठाउने योजना आयोजकको छ ।
कार्यशालामा स्वदेश तथा बिदेशमा रहेका नेपाली कलाकारले आफ्नै घरमा बसेर चित्र कोरेका छन् । चितवन र नवलपरासीका कलाकारले भने सुरक्षाविधि अपनाएर सामुहिकरूपमा कार्यशाला चलाएका हुन् । १०० घन्टाको यो कार्यशालालाई अन्तर्राष्ट्रिय जलरङ समाज नेपालको फेसबुक पेजबाट प्रत्यक्ष प्रशारण गरिएको थियो ।
विश्व रेकर्ड कायम गर्ने योजनाका साथ गरिएको यो अभियानले नेपाली कलालाई संसारभर पुर्याउन सहयोग पुग्ने सहभागी भीम शर्माले बताए । `विश्वमा कला र कलाकारलाई महत्त्वका साथ हेरिन्छ´, शर्माले भने- `नेपालमा भने सबै क्षेत्र जस्तै कला पनि पछाडि परेको छ ।´ १०० घण्टे रिले वाटरकलर पेन्टिङ डेमोले कलाकार र कलापारखीलाई सिर्जनात्मक बन्न हौसला प्रदान गरेको शर्माको दाबी छ । मौलाकालिका मन्दिरमा आएर गरिएको यो सामूहिक सिर्जनाले चितवन र नवलपरासी क्षेत्रको कलाले उचाई लिन सहयोग पुग्नेमा शर्मा ढुक्क देखिए ।
कार्यशालालाई नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले मुख्यरूपमा सहयोग गरेको छ । नवलपरासीमा गरिएको कार्यक्रमलाई भने हामी कलाकार, कलावती आर्ट काउन्सिल तथा धार्मिक सेवा समिति मौलाकालिका मन्दिरले संयोजन गरेका हुन् ।





