नेकपाको सचिवालय बैठकले टुंग्याउँला विवाद ?

भरतपुर, २७ कार्तिक ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक शुक्रबार बस्‍ने भएको छ । प्रधानमन्त्रीसमेत रहेका नेकपाअध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँगको परामर्शमा महासचिव विष्णु पौडेलले बैठक बोलाएका हुन् । पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक शुक्रबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बस्‍न लागेको जानकारी दिएका हुन् ।

नेकपाभित्र रहेको विवाद समाधानका लागि ओलीलाई नेकपाका नौ सदस्यमध्ये पाँच जना सदस्यले गत २२ गते बैठक राख्‍न दुई दिनको म्यादसहित लिखित पत्र दिएका थिए । दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले दिएको उक्त म्याद पनि सकिएको छ । नेकपाका एक नेताका अनुसार सोही समयमा ओलीले बैठक नराखे आफूहरूले बैठक राख्‍ने चेतावनी दिएका थिए । दाहाल-नेपाल समूहले दबाब दिएपछि ओलीले आइतबार विष्णु पौडेल, डा. भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, पम्फा भुसाल र रघुजी पन्तलाई बालुवाटार बोलाएर छलफल गर्न खोजेका थिए । तर पूर्वमाओवादी समूह भने छलफलमा गएनन् ।

शनिबार पाँच सदस्यले बैठक बोलाउन लिखित पत्र नै ओलीलाई बुझाएपछि आइतबार माधवकुमार नेपाललाई बालुवाटारमा बोलाई छलफल गरेका थिए । बैठकमा ओलीका तर्फबाट खास तथा ठोस प्रस्ताव नआएपनि नेता नेपालको धारणा बुझ्‍ने काम मात्र भएको बैठकमा सहभागी पूर्व मन्त्री एवम् नेता सुरेन्द्र पाण्डेले बताएका थिए । ‘उहाँ ९ओली० बाट ठोस प्रस्ताव केही आएन, हाम्रा धारणा सुन्‍ने काम मात्र भयो,’ बैठकपछि स्थायी कमिटी सदस्य पाण्डेले भने ।

आइतबार अन्तरपार्टी विवादलाई माक्‍सवादी र विधिसम्मत तरिकाले आपसमा बसेर सुल्झाउन समेत आयोगका अध्यक्ष अमृतकुमार बोहोराले सुझाएका थिए । उनले पार्टी समितिका आधिकारिक निकायलाई गतिशील तुल्याई विभाजनजस्ता सुन्‍न नसकिने कुरा सार्वजनिक नगर्न सुझाव दिएका छन् ।

अध्यक्ष बोहोराले गत भदौ २६ को स्थायी समिति बैठकका निर्णय कार्यान्वयनमा लैजान सुझाएका थिए । त्यसका लागि नेतृत्वलाई तत्परता देखाउन आग्रह गर्दै बोहोराले समृद्ध समाजवादी समाज बनाउने ऐतिहासिक आवश्यकता पूरा गर्न पार्टी एकता जरुरी भएकाले फुटतर्फ नजान सुझाएका छन् । ‘जति सकिन्छ चाँडो पार्टीको बैठक राखौँ । बैठक राख्‍ने विषयलाई कुनै प्रतिष्ठाको विषय नबनाऔँ । पार्टी एकताका बाँकी सबै काम छिटो पूरा गर्दै पार्टी एकता प्रक्रियालाई दिगो र सुदृढ पार्न केन्द्रदेखि आधारभूत तहसम्मका पार्टीका सबै शक्तिलाई वैचारिक र संगठनात्मक रूपमा एकताबद्ध बनाऔँ,’ उनले भनेका छन्, ‘पार्टीमा देखापरेका अनुशासन र पद्दतिहीनता, गुटबन्दी र अराजकता, कम्युनिष्ट आचरणमा विचलन जस्ता विद्यमान विकृति र विसंगतिलाई सघन वैचारिक संघर्षद्वारा परास्त गरौँ ।’

उनले नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनमा नेकपाको भूमिका अत्यन्त महत्वपूर्ण रहिआएको विषय नेतृत्वले भुल्न नहुने उल्लेख गरेका छन् । समाजलाई रुपान्तरण गर्ने प्रक्रियामा यसले गरेको संघर्षलाई नेतृत्वले इन्कार गर्न नहुने भन्दै पार्टीमा अहिले देखिएको किचलो र आरोप प्रत्यारोपणले कार्यकर्ता दुःखी बनेको बोहोराद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘पार्टीमा हिजो आज दिनहुँजसो सम्पूर्ण जनसमुदाय र आमपार्टी पंक्तिलाई निराश पार्ने ‘गालिगलौज’ ‘निन्दा भत्र्सना’ ‘आरोप-प्रत्यारोप’ र ‘पार्टी विभाजन’ जस्ता सुन्‍नै नसकिने अत्यन्त अप्रिय कुराहरू सार्वजनिक सञ्‍चारमाध्यमबाट आउने गरेका छन,’ विज्ञप्तिमा भनिएको छ, ‘यो हाम्रा लागि गम्भीर चिन्ताको विषय हो । हामीसँग आन्तरपार्टी विवाद सञ्‍चालनका निक्कै राम्रा माक्‍सवादी परम्परा रहेका छन् । विगतमा पार्टीमा उत्पन्‍न ठूलठूला विवादहरू पनि अन्तरपार्टी संघर्षका माध्यमबाट समाधान भएका धेरै उदाहरणहरू हामीसँग छन् । त्यतातर्फ म नेतृत्वगणको ध्यानाकर्षण गर्दछु ।’ विधि र पद्दति पार्टीका प्राण हुन भन्दै विज्ञप्तिमा उल्लेख छ, ‘पद्दति र प्रणाली रहेनन् भने पार्टी जीवन रहँदैन । यी कुराहरु हामीले बुझेकै छौं । तर हामी किन पार्टी विधानअनुसार विधि पद्दतिको पालना गर्दैनौं ? बैठकको औचित्य र निर्णय पालनाको मर्मलाई किन बुझ्दैनौं ?’

नेकपा केन्दीय कमिटीको बैठक यही कार्तिक १५ गते बस्ने तय भएको थियो । तर नेताहरूबीच बढ्दो विवादका कारण केन्द्रीय कमिटी बैठक एक महिना पर धकेलिएको छ । यसको असर आगामी चैतमा गर्ने भनिएको नेकपाको एकता अधिवेशनसम्म पर्ने देखिन्छ ।

कर्णालीमा आफ्नै पार्टीका सांसदहरूले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव गरेपछि चुलिएको विवाद हाल उत्कर्षमा पुगेको छ । त्यसपछि प्रधानमन्त्री ओलीले आफूखुशी मन्त्रिपरिषद पुनर्गठन र भारतीय जासुसी संस्था रअ प्रमुख सामन्तकुमार गोयलसँग भेटवार्ता गरेपछि ओली दाहालबीच अविश्वास बढेको छ ।

इकागजबाट साभार

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट