भरतपुर, २६ कार्तिक ।
चितवनको पहिलो रेडियो स्टेसन सिनर्जी एफ एम ९१.६ मेगाहर्जले आफ्नो स्थापनाको १९औँ वर्ष पूरा गरेको छ । २०५८ सालको कार्तिक २६ गते स्थापना भएको एफ एम आजदेखि २०औँ वर्षमा प्रवेश गरेको हो । १९औँ वार्षिकोत्सवकै अवसर पारेर उसले भरतपुर महानगरपालिका वडा नं १ देवघाटस्थित राम जानकी बालिका आश्रममा रहेका ३२ जना बालिकाहरूलाई दिनको भोजन खुवाएको हो । सो क्रममा बालिकहरूले पनि स्वस्तिवाचन गरेर एफएमलाई शुभकामना दिएका थिए ।
लोक कल्याण सेवा प्रतिष्ठान्द्वारा सञ्चालित सो आश्रममा अभिभावकको संरक्षण गुमाउन पुगेका ६ महिनादेखि ६ वर्षसम्मका बालिकाहरूलाई आश्रय दिइने गरेको त्यहाँकी अध्यक्ष सबिता टण्डनले बताइन् । अभिभावकको संरक्षण गुमाएर अपहेलित बनेका बालिकाहरूलाई गुरुकूलीय शिक्षा प्रदान गरी समाजमा पुनस्र्थापना गर्ने काममा आफूहरू केन्द्रित रहेको उनको भनाइ थियो । बालिकाहरूलाई भागवत् वाचिकाको रूपमा तयार पार्नु प्रमुख उद्देश्य भएको आश्रमका कथा सुनाउन सक्ने बनाउनु पनि प्रमुख योजना रहेको आश्रमका महासचिव रामेश्वर खनालले बताए ।

आश्रम परिशरमा आयोजित एक कार्यक्रममा मानवसेवाको सन्देश दिन सो प्रकारले वार्षिकोत्सव मनाइएको एफ एमका स्टेसन म्यानेजर रामकान्त पौडेलले बताए । मन्तव्य राख्ने क्रममा पौडेलले आश्रमलाई थप सबल बनाउन आफू र एफ एमको तर्फबाट पनि सक्दो प्रयास जारी राख्ने गर्ने प्रतिबद्धता जनाएका थिए । कोभिड–१९ महामारीको संक्रमणबाट बच्न शारीरिक दूरी कायम गर्नुपर्ने भएका कारण यस पटक श्रोतासँग प्रत्यक्ष भेटेर कार्यक्रम आयोजना गर्न नसकिएको पौडेलले बताए ।





