भरतपुर, २५ कार्तिक ।
इण्डियन प्रिमियर लिग आइपिएल टिट्वान्टीको तेह्रौँ संस्करणको उपाधिमा डिफेन्डिङ च्याम्पियन मुम्बई इण्डियन्सले कब्जा गरेको छ । दुबईमा मंगलबार राति सम्पन्न फाइनल खेलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराउँदै मुम्बईले उपाधि रक्षा गरेको हो । सोसँगै पाँचौँ पटक आइपिएल उपाधि जितेको मुम्बईले आफूलाई फेरि एक पटक सर्वोत्कृष्ट साबित गरेको छ ।
दिल्लीले दिएको १५७ रनको सामान्य लक्ष्य मुम्बईले खेल सकिन ८ बल बाँकी छँदा भेट्टायो । उसका लागि कप्तान रोहित शर्माले ६८ रनको योगदान दिए । ५१ बलको सामना गरेका शर्मा ५ चौका र ४ छक्का प्रहार गरेर आउट भए । ईशान किशन ३३ रनमा अविजित रहँदा क्विन्टन डि ककले २० रनको पारी खेले । यस्तै सूर्यकुमार यादव भने १९ रनमा आउट भए । बलिङमा आनरिच नोकियाले २ तथा कागिसो रबाडा र मार्कस स्टोइनिसले १-१ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको दिल्लीलाई मुम्बईका बलरले ठूलो योगफल बनाउनबाट रोकेका थिए । कप्तान श्रेयस अय्यरको नट आउट ६५ रनको मद्दतमा दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १५६ रन बनाएको थियो । उनका अलावा ऋषभ पन्तले ५६ रनको योगदान गरेपनि अन्यको प्रदर्शन भने सम्झनलायक रहन सकेन । मुम्बईका तर्फबाट ट्रेन्ट बोल्टले ३, नाथन कुल्टर नाइलले २ तथा जयन्त यादवले १ विकेट लिए । खेलमा बोल्ट म्यान अफ दि म्याच समेत रहे ।
प्रतियोगितामा कूल ६७० रन बटुलेका किंग्स इलवेन पञ्जाबका कप्तान लोकेश राहुलले ओरेन्ज क्याप प्राप्त गरे । प्रतियोगितामा ३० विकेट लिएका रबाडाले भने पर्पल क्याप हात पारे । प्रतियोगिता दोश्रो स्थानमा सकेको दिल्लीले १२.५ करोड भा.रु. पुरस्कार प्राप्त गर्यो । मुम्बईले भने ट्रफी र २० करोड रुपैयाँ हात पार्यो ।
भारतमा कोभिड१९ को संक्रमण फैलने दर उच्च रहेको भन्दै प्रतियोगिताको आयोजना युएईमा सारिएको थियो ।





