क्वालिफायरमा हैदराबादलाई हराउँदै दिल्ली फाइनलमा

भरतपुर, २४ कार्तिक ।

युएईमा जारी १३औँ संस्करणको इण्डियन प्रिमियर लिग आइपिएल टिट्वान्टीको फाइनलमा डिफेण्डिङ च्याम्पियन मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्स भिड्ने भएका छन् । प्लेअफ चरण अन्तर्गत दोश्रो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई १७ रनले हराउँदै दिल्ली आइपिएल इतिहासमा पहिलो पटक फाइनल पुगेको हो ।

दिल्लीले प्रस्तुत गरेको १९० रनको लक्ष्य पछ्याउने क्रममा हैदराबादले पूरै २० ओभर खेलेर ८ विकेटको क्षतिमा १७२ रन मात्रै बनाउन सक्यो । उसका लागि केन विलियम्सनले डटेर ६७ रन बनाएपनि अन्यले उनको साथ निभाउन सकेनन् । अब्दुल सामदले १६ बलमा ३३ रन प्रहार गर्दा जेशन होल्डर भने ११ रन बनाएर आउट भए । यस्तै मनिष पाण्डेले २१, प्रियम गर्गले १७ तथा कप्तान डेविड वार्नरले २ रन मात्रै बनाउन सके । बलिङमा भने कागिसो रबाडाले ४ विकेट हात पारे । यस्तै मार्कस स्टोइनिसले ३ तथा अक्षर पटेलले पनि १ विकेट चट्काए ।

Photo: BCCI

यसअघि अबु धाबीस्थित शेख जायद क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १८९ रन जोडेको थियो । उसका लागि बायाँहाते ओपनर ब्याट्सम्यान शिखर धवनले ५० बलमा ७८ रनको पारी खेले । यस्तै अर्का ओपनर मार्कस स्टोइनिसले पनि २७ बलमा ३८ रनको योगदान दिए । हैदराबादविरुद्ध अलराउण्ड प्रदर्शन गरेका उनी म्यान अफ दि म्याच समेत घोषित भए । उनका अलावा सिमरन हिटमेयरले पनि नट आउट रहँदै २२ बलमा तुफानी ४२ रनको योगदान दिए । कप्तान श्रेयस अय्यर भने २१ रनमा आउट भए । हैदराबादका लागि रसिद खान, जेशन होल्डर र सन्दीप शर्माले १–१ विकेट हात पारेका थिए ।

यो सीजनको आइपिएल फाइनल भोलि मंगलबार दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने गरी तय भएको छ । खेल नेपाली समयानुसार राति ७ः४५ बजे सुरु हुनेछ । भारतमा कोरोना भाइरस संक्रमणको दर उच्च रहेका कारण भारतीय क्रिकेट बोर्डले आइपिएलको आयोजना स्थल युएईमा सारेको थियो ।

Photo: BCCI

(क्रिकइन्फोको सहयोगमा)

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट