भरतपुर, २३ कार्तिक ।
राष्ट्रिय परीक्षा बोर्डको निर्देशिका र हिसान चितवनको निर्णय अनुसार नारायणी पब्लिक कलेज भरतपुर, चितवनले आइतबारदेखि कक्षा ११ को परीक्षा सुरु गरेको छ ।
कक्षा ११ का ४ सय ५२ जना विद्यार्थीहरूलाई बिहानी तथा दिवा सिफ्टमा कलेजको आफ्नै फुटसल ग्राउण्डमा परीक्षा लिन लागेको हो । आजबाट सुरु भएको परीक्षा कात्तिक २७ गतेसम्म संचालन हुने कलेजका ११/१२ संयोजक जनकराज घिमिरेले बताए ।
कोभिड-१९ (कोरोना भाइरस)को संक्रमणदर तीव्र रुपमा बढिरहेको चितवनमा परिक्षा दिन पुगेका विद्यार्थीहरूलाई मास्क र स्यानीटाइजर प्रयोग गर्न लगाएर र शरीरको तापक्रम जाँच गरेर मात्र परीक्षामा सहभागी गराइएको छ । कोरोना संक्रमणबाट जोगिनका लागि परिक्षाहलमा जानूअघि अनिवार्य स्वास्थ्य चेकजाँचका साथै मास्कको प्रयोग गर्न लगाईएको कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक राजेश्वर खनालले बताए ।
हरेक दिन विद्यार्थी र शिक्षक सबैको स्वास्थ्य जाँच र सुरक्षा सामग्री प्रयोग पछि मात्रै आफ्नै व्यवस्थित फुटसल ग्राउण्डमा परीक्षा सञ्चालन हुने कलेजले जानकारी गराएको छ ।





