भरतपुर, २० कार्तिक ।
युएईमा जारी १३औँ संस्करणको इण्डियन प्रिमियर लिग आइपिएल टिट्वान्टीमा आजदेखि प्लेअफ चरणका खेलहरू हुँदैछन् । आज पहिलो क्वालिफार्यसमा डिफेडिङ च्याम्पियन मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सको सामना गर्नेछ । यी दुई बीचको खेल दुबई क्रिकेट मैदानमा नेपाली समयानुसार राति ७ः४५ बजे सुरु हुँदैछ ।
मुम्बईले जारी प्रतियोगिताको लिग चरण पहिलो स्थानमा रहँदै टुंगाएको थियो भने दिल्ली अंकतालिकामा दोश्रो स्थानमा रहेको थियो । लिग चरणका दुवै खेलमा दिल्लीलाई हराएको मुम्बई आज पनि सोही लयलाई कायम राख्न चाहन्छ । दिल्लीलाई भने लिग चरणमा बेहोरेको हारको बदला लिने यो सुनौलो मौका हुनेछ । दिल्लीका शीर्ष क्रमका ब्याट्सम्यान भने खतरा साबित हुनसक्नेतर्फ पनि मुम्बईले ध्यान दिनुपर्ने देखिन्छ । प्रतियोगिताको सुरुवाती चरणमा उत्कृष्ट खेल प्रदर्शन गरेका पृथ्वी शाह, ऋषभ पन्त, कप्तान श्रेयस अय्यर र शिखर धवनबाट दिल्लीले खुबै आश राखेको हुनेछ । यस्तै आरिन्च नोकिया र कागिसो रबाडाजस्ता तीव्र गतिका बलरको प्रदर्शनले पनि दिल्लीले बेहोर्ने नतिजामा प्रभाव पार्नेछ ।
हैदराबाद विरुद्धको लिगको अन्तिम खेलमा हार्दिक पाण्डेय, जस्प्रित बुम्राहा र टे«न्ट बोल्टलाई आराम दिएको मुम्बईले आज भने पहिलो रोजाइको टोली मैदानमा उतार्नेछ । चोटबाट फर्किएका कप्तान रोहित शर्मामाथि पनि मुम्बईको प्रदर्शन निर्भर रहनेछ । गहिरो ब्याटिङ लाइन अप हुनाका कारण ब्याटिङमा भने मुम्बईलाई थप ऊर्जा मिल्नेछ । पहिलो क्वालिफायर्स हार्ने टोलीले फाइनल प्रवेशका लागि एलिमिनेटरको विजेतासँग दोश्रो क्वालिफायर्समा खेल्ने भएकाले आज हार्ने टोलीलाई फाइनलसम्म पुग्न थप एक मौका मिल्नेछ । तर दुवै टोलीको उद्देश्य आजको खेल जितेर फाइनल प्रवेश गर्नु नै हुनेछ ।
मुम्बई र दिल्लीले एकअर्कासँग हालसम्म कूल २६ खेल खेलेका छन् । जसमध्ये १४ अवसरमा मुम्बईले जीत हात पारेको छ भने बाँकी १२ खेलमा दिल्ली हावि भएको छ ।





