गैंडाकोट, १९ कार्तिक ।
गैँडाकोटबाट हराएका एकै घरका दुई दाजुभाइको शव जयश्री खोलाको दहमा भेटिएको छ । जयश्री खोलाको किनारमा एउटा र दहमा डुवेको अवस्थामा अर्को शव रहेको इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रमुख चन्द्रवहादुर थापाले जानकारी दिए ।
जंगलमा घाँसदाउरा गर्न गएका स्थानीयले पानीमा शव देखेपछि वडा नम्बर ३ का अध्यक्ष शिवकान्त तिवारीलाई खवर गरेका थिए । खबर पाएपछि वडाध्यक्ष तिवारी प्रहरीसहित घटनास्थलमा पुगेका थिए । कपडा र चप्पल खोलेर पाखामा राखेको र पौडी खेल्न प्रयोग गरिने कपडामा उनीहरु भेटिएका हुन् । घटनास्थल पुगेका दाजुभाइका बुवा गोपाल पौडेलले शव आफ्नै छोराहरूको भएको पुष्टि गरे । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख थापाले बताएका छन् ।
गैँडाकोट नगरपालिका वडा नम्बर २ एसपीएम टोलका २६ वर्षीय विजयबाबु पौडेल र उनका भाइ २१ वर्षीय संगम पौडेल सोमबार बिहान खाना खाइवरी घुम्न निस्केका थिए । विजय डेढ महिना अगाडि मात्रै विवाह बन्धनमा बाँधिएका थिए ।





