भरतपुर, १८ कार्तिक ।
युएईमा जारी १३औँ संस्करणको इण्डियन प्रिमियर लिग आइपिएल टिट्वान्टीको अन्तिम लिग खेलमा आज मुम्बई इण्डियन्स र सनराइजर्स हैदराबादबीच खेल हुँदैछ । खेल नेपाली समयानुसार राति ७ः४५ बजे शारजाह अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ । नतिजापछि प्लेअफ पुग्ने अन्तिम टोलीको टुंगो लाग्ने भएकाले पनि यो खेललाई महत्त्वका साथ हेरिएको छ ।
१३ खेल खेलेको मुम्बई ९ जीत र ४ हार सहित कूल १८ अंकमा तालिकाको शीर्ष स्थानमा रहेको छ । समान १३ खेलेको हैदराबादले भने ६ खेल जित्दा ७ मा हार बेहोरेको छ । १२ अंकमा तालिकाको पाँचौँ स्थानमा रहेको हैदराबादले आजको खेल जित्न सके ऊ १४ अंकमा तालिकाको तेश्रो स्थानमा रहँदै प्लेअफका लागि छनौट हुनेछ । हैदराबादले हारेका खण्डमा भने हाल चौँथो स्थानमा रहेको कोलकत्ता नाइट राइडर्स प्लेअफमा पुग्नेछ । त्यसकारण पनि हैदराबादका प्रतियोगितामा गर या मरको अवस्थामा पुगेको छ ।
जारी प्रतियोगितामा उत्कृष्ट बलिङ र ब्याटिङ गरिरहेको मुम्बईलाई हराउन भने हैदराबादलाई सहज हुनेछैन । पहिलो लिगमा यी दुई टोलीबीच भेट हुँदा मुम्बईले खेल ३४ रनले जितेको थियो । प्रतियोगिताको सुरुवती खण्डमा खेलाडीको उत्कृष्ट संयोजन तयार गर्नबाट चुकेको हैदराबाद ऋद्धिमान् शाहको पुनरागमन पछि भने केही सुगठित बनेको छ । तथापि मुम्बईका जस्प्रित बुम्राहा र टे«न्ट बोल्ट जस्ता आक्रमक तेज बलरबाट जोगिन हैदराबादले थप परिश्रम गर्नुपर्ने देखिन्छ ।
उता मुम्बई भने पहिले नै प्लेअफमा पुगिसकेकाले विना दबाब मैदान उत्रनेछ । उसका लागि हैदराबाद विरुद्धको खेल प्लेअफको तयारी सरह हुनेछ । नियमित कप्तान रोहित शर्मा चोटिल भई बेन्चमा रहेपनि किरोन पोलार्डले उनको अभाव महशूस हुन भने दिएका छैनन् । जारी सीजनमा मुम्बईका ब्याट्सम्यानले पनि हरेक खेलमा उत्तिकै योगदान दिँदै आएका छन् । मुम्बई विरुद्ध जीत हात पार्न हैदराबादका बलरहरू सन्दीप शर्मा, टि नटराजन, रसिद खान, लगायतले पनि उत्कृष्ट प्रदर्शन गर्न आवश्यक छ । यी दुई टोली हालसम्म कूल १५ पटक सँगै मैदान उत्रिएका छन् । जसमध्ये ८ खेल मुम्बईले जितेको छ भने ७ खेलमा हैदराबाद हावि भएको छ ।





