भरतपुर, १८ कार्तिक ।
इण्डियन प्रिमियर लिग आइपिएल टिट्वान्टी अन्तर्गत गएराति सम्पन्न खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई ६ विकेटले हराएको छ । जीतसँगै दिल्लीले प्लेअफ चरणमा आफ्नो स्थान सुरक्षित पारेको छ । यद्यपि बेंगलोर भने हारका बावजुद पनि प्लेअफका लागि छनौट भएको छ ।
अबु धाबीस्थित शेख जायद अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बेंगलोरले प्रस्तुत गरेको १५३ रनको सामान्य लक्ष्य दिल्लीले ४ विकेटको क्षतिमा खेल सकिन १ ओभर बाँकी छँदा भेट्टायो । उसका लागि ओपनर शिखर धवनले ५४ रनको योगदान गर्दा आजिक्य राहाणे ६० रन बनाएर आउट भए । मार्कस स्टोइनिस र ऋषभ पन्त भने क्रमशः १० र ८ रनको व्यक्तिगत स्कोरमा नट आउट रहे । बेंगलोरका शहवाज अहमदले २ तथा मोहम्मद सिराज र वासिन्टन सुन्दरले १–१ विकेट लिएपनि टोलीलाई जीत दिलाउन भने सकेनन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको बेंगलोरले २० ओभरको खेलमा ७ विकेट गुमाएर बोर्डमा १५२ रनको मध्यम योगफल टाँगेको थियो । उसका लागि लयमा रहेका ओपनर देवदत्त पदिकालले ५० रन जोड्दा एबी डेभिल्लर्स भने ३५ रन बनाएर आउट भए । यस्तै कप्तान विराट कोहलीले २४ बलमा २९ रन लगाउनु बाहेक अन्य ब्याट्सम्यानले स्कोररलाई सताउन पाएनन् । दिल्लीका तर्फबाट उत्कृष्ट बलिङ गर्दै आरिन्च नोकियाले ३, कागिसो रबाडाले २ तथा रविचन्द्रन आश्विनले १ विकेट हात पारे । खेलमा नोकिया म्यान अफ दि म्याच समेत घोषित भए ।
जीतपछि २ अंक बटुलेको दिल्लीले लिग चरण दोश्रो स्थानमा सकेको छ । उसले १४ खेलमा ८ जीत र ६ हारको नतिजा निकाल्दै कूल १६ अंक बटुलेको छ । बेंगलोरले भने ७ खेलमा जीत हात पार्दा ७ खेल गुमाउन पुगेको थियो । कोलकत्ता नाइट राइडर्सको भन्दा राम्रो नेट रन रेट रहेकाले ऊ १४ अंकमा तालिकाको तेश्रो स्थानमा छ । समान १४ अंक बटुलेको कोलकत्ता नाइट राइडर्सको प्लेअफ खेल्ने सम्भावना भने मुम्बई इण्डियन्स र सनराइजर्स हैदराबादबीचको खेलको नतिजाले निर्धारण गर्नेछ । सो खेलमा मुम्बई विजयी भएका खण्डमा प्लेअफका लागि कोलकत्ता छनौटमा पर्नेछ भने हैदराबाद विजयी भएका खण्डमा हैदराबाद स्वयम् छनौट हुनेछ । ९ खेलमा जीत र ४ मा हार बेहोरेको मुम्बई भने शीर्ष स्थानमा रहँदै यसअघि नै प्लेअफ चरणका लागि छनौट भइसकेको छ ।





