भरतपुर, १७ कार्तिक ।
इण्डियन प्रिमियर लिग आइपिएल टिट्वान्टी क्रिकेट अन्तर्गत आज रोयल च्यालेन्जर्स बेंगलोर र दिल्ली क्यापिटल्सबीच खेल हुँदैछ । खेल अबु धाबीस्थित शेख जायद अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयानुसार राति ७ः४५ बजे सुरु हुनेछ । मैदान उत्रँदा दुवै टोलीमाथि खेल जित्नैपर्ने दबाब रहनेछ ।
प्रतियोगितामा १३ खेल खेलेको बेंगलोर ७ जीत र ६ हारसहित कूल १४ अंकमा तालिकाको दोश्रो स्थानमा रहेको छ । दिल्लीले पनि समान १३ खेलमा ७ जीत र ६ हारको नतिजा निकाल्दै समान १४ अंक जोडेको छ । बेंगलोरसँग रन रेटका आधारमा पछि परेको दिल्ली तालिकामा तेश्रो स्थानमा छ । यी दुईमध्ये आज हार बेहोर्ने टोलीको प्लेअफ पुग्ने सम्भावना सनराइजर्स हैदराबादको प्रदर्शनमाथि भर पर्नेछ । मंगलबार हुने खेलमा हैदराबादले मुम्बई इण्डियन्सलाई हराएको खण्डमा आज पराजित हुने टोली उपाधि होडबाट बाहिरिनेछ । आजको खेल जित्ने टोलीले भने अंकतालिकामा दोश्रो स्थान हात पार्दै प्लेअफका लागि छनौट हुनेछ ।
बेंगलोर र दिल्लीबीच पहिलो लिगमा खेलिएको खेलमा दिल्ली ५९ रनले विजयी भएको थियो । प्रतियोगिताको मध्यान्तरसम्म आइपुग्दा सुरक्षित स्थानमा रहेको बेंगलोरले पछिल्ला ३ खेलमा लगातार हार बेहोरेपछि उसमाथि फेरि खतराका बादल मडारिन थालेका छन् । यता दिल्लीको हालत पनि बेंगलोरको जस्तै छ । दिल्लीले पछिल्ला ४ खेलमा जीतको स्वाद चाख्न पाएको छैन । बलिङमा सशक्त प्रदर्शन गरेपनि ब्याट्सम्यानले पर्याप्त रन बनाउन नसक्दा दिल्ली र बेंगलोर कमजोर देखिएका छन् । प्रतियोगिताको सुरुवाती चरणमा उत्कृष्ट प्रदर्शन गरेका दिल्लीका पृथ्वी शाह तथा ऋषभ पन्तले सोही लयलाई समाउन सकेका छैनन् । उता बेंगलोरले भने जोश फिलपे र एरोन फिन्चमध्ये ओपनिङमा कसलाई पठाउने भन्ने कुराको निधो गर्न सकेको छैन । दिल्लीविरुद्ध जीत हात पार्न बेंगलोरका कप्तान विराट कोहली तथा विष्फोटक ब्याट्सम्यान एबी डेभिल्लर्सले खुब रन जोड्नुपर्ने देखिन्छ ।
बेंगलोर र दिल्ली आइपिएलमा हालसम्म २४ पटक आमने समाने भएका छन् । जसमध्ये १४ खेलमा बेंगलोरले बाजी मारेको छ । तीमध्ये १ अवसरमा बेंगलोरले सुपरओभरको सहायताले जीत निकालेको हो । यस्तै ९ खेलमा भने दिल्ली हावि भएको छ । यी दुई टोलीबीच खेलिएको एउटा खेल भने अनिर्णित रहेको थियो ।





