चितवन १६, कार्तिक ।
चितवनको कालिका नगरपालिका वडा नं ९ र १० को सीमानामा पर्ने सिन्ती झरना आन्तरिक पर्यटकको लागि प्रमुख गन्तव्य बन्न थालेको छ । मौसम चिसो हुँदै गएपनि यहाँ आन्तरिक पर्यटकको चाप भने बढ्दै गएको छ । पूर्व पश्चिम राजमार्गको टाँडी बजारबाट १८ किलोमिटरको दूरीमा शक्तिखोरको दोगरा पुग्न सकिन्छ । दोगराबाट साढे दुई किलोमिटर पैदल यात्र गरेपछि सिन्ती झरना पुगिन्छ । कोरोना महामारीबीच पनि दैनिक ३०० भन्दा बढी पर्यटक झरनाको अवलोकनका लागि आउने गरेको कालिका नगरपालिका मेयर खुमनारायण श्रेष्ठले बताए ।
चितवन र आसपासका जिल्लाबाट पर्यटक आउने गरेका छन् । खैरहनीबाट सिन्ती झरना अवलोकन गर्न पुगेकी शर्मिला वाग्लेले झरना पुग्दा निकै आनन्दित भएको बताइन् । टिकटक बनाउन र सेल्फी खिच्न कै लागि युवायुवती झरना पुग्ने गरेका छन् । सिन्ती झरनालाई लक्षित गरेर त्यहाँका स्थानीयहरूले एक दर्जन बढी होटल तथा रेस्टुरेन्ट पनि सञ्चालन गरेका छन् । पर्यटकलाई लक्षित गरेर सुरु गरिएका पसल र होटलले स्थानीयको जीविकोपार्जनमा समेत सहयोग मिलेको मेयर श्रेष्ठले बताए ।

सिन्ती झरनालाई पर्यटकीय स्थलको रूपमा विकास गर्न कालिका नगरपालिकाले डिपीआर बनाएरै काम सुरु गरेको छ । गत आर्थिक वर्षबाट काम सुरु भएको र अहिले सम्म साढे दुई किलोमिटरको रुट, शौचालय र कपडा फेर्ने घर निर्माण भइरहेको कालिका नगरपालिकाका इन्जिनियर राजेश कोइरालाले बताए । सिन्ती झरनाको विकासको लागि एक करोड रुपैयाँ बजेट परेको नगरपालिकाले जनाएको छ । सिराइचुली र उपरदाङगढीको आधार क्षेत्रमा रहेको सो सिन्ती झरनाले पर्यटकको बसाइ लम्ब्याउन भूमिका खेल्न सक्ने नगरपालिकाको दाबी रहेको छ ।





