भरतपुर, १४ कार्तिक ।
इण्डियन प्रिमियर लिग आइपिएल टिट्वान्टी अन्तर्गत बिहीबार राति सम्पन्न खेलमा चेन्नई सुपर किंग्सले कोलकत्ता नाइट राइडर्सलाई ६ विकेटले हराएको छ । चेन्नईसँग हार बेहोरेपछि कोलकत्ताको प्ले अफ खेल्ने सम्भावना पनि लगभग समाप्त भएको छ ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कोलकत्ताले दिएको १७३ रनको लक्ष्य चेन्नईले खेलको अन्तिम बलमा भेट्टाएको हो । उसका लागि अलराउण्डर रविन्द्र जडेजाले नाटकीय रूपमा फिनिसिङ गरे । चेन्नईलाई अन्तिम दुई बलमा जीतका लागि ७ रनको आवश्यकता हुँदा जडेजाले दुबै बलमा छक्का प्रहार गरी टोलीलाई जीत दिलाएका थिए । ११ बलमा २ चौका र ३ छक्का जोड्दै उनी ३१ रनमा नट आउट रहे । यस्तै, ओपनर रुतुराज गाइकवादले ७२ रन बनाएको खेलमा अम्बाती रायुडुले पनि ३८ रनको योगदान दिए । रुतुराज म्यान अफ दि म्याच समेत घोषित भए । कोलकत्ताका तर्फबाट भने वरुण चक्रवर्ती र प्याट कमिन्सले समान २–२ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कोलकत्ताले निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाउँदै १७२ रनको योगफल तयार पारेको थियो । उसका लागि नितीश राणाले सर्वाधिक ८७ रनको पारी खेले । ६१ बलको सामना गरेका उनले कूल १० चौका र ४ छक्का प्रहार गरे । यस्तै अर्का ओपनर शुभमन गील २६, कप्तान इयोन मोर्गन १५ तथा सुनिल नरैन ७ रन बनाएर आउट भए । उसका विकेटकिपर ब्याट्सम्यान दिनेश कार्तिक भने २१ रनमा अविजित रहे । चेन्नईका लुंगी निग्धीले २ विकेट हात पार्दा मिचेल स्यान्टनर, रविन्द्र जडेजा र कर्ण शर्माले समान १–१ विकेट लिए ।
प्रतियोगिता होडबाट बाहिरिसकेको चेन्नईले जीतसँगै कोलकत्ताको २ अंक खोसेको छ । चेन्नईले १३ खेलमा जम्मा ५ खेल जित्दै कूल १० अंक बटुलेको छ । अंकतालिकाको पुच्छरमा रहेको चेन्नईले एक खेल खेल्न बाँकी छ जसलाई उसले प्रतिष्ठाको लडाइँका रूपमा लिनेछ । यता चेन्नईसँग हारेपछि पाँचौँ स्थानमा रहेको कोलकत्ताको प्ले अफ खेल्ने चाहना यस पटकको सीजनमा पूरा नहुने देखिएको छ । १३ खेलमा ६ जीत हात पार्दै कूल १२ अंक बटुलेको कोलकत्ताले बाँकी रहेको १ खेल जितेपनि कमजोर नेट रन रेटका कारण अन्य टोलीभन्दा पछाडि पर्ने देखिएको छ । गयरातिको खेलपछि मुम्बई इण्डियन्स प्ले अफ चरणमा पुग्ने पहिलो टोली बनेको छ । आफूले खेलेका १२ मध्ये ८ खेलमा जीत हात पारेको मुम्बई कूल १६ अंकमा तालिकाको शीर्ष स्थानमा रहेको छ । उसले अझै २ खेल खेल्न बाँकी रहेको छ ।





