भरतपुर, १३ कार्तिक ।
इण्डियन प्रिमियर लिग आइपिएल टिट्वान्टी क्रिकेटको जारी सीजनको ४८औँ खेलमा मुम्बई इण्डियन्सले जीत हात पारेको छ । बुधबार राति अबु धाबीस्थित शेख जायद अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको खेलमा उसले रोयल च्यालेन्जर्स बेंगलोरलाई ५ विकेटले हराएको हो । यी दुईबीच खेलिएको लिगको पहिलो खेलमा बेंगलोरले सुपर ओभरका सहायताले मुम्बईमाथि जीत हासिल गरेको थियो ।
बेंगलोरले प्रस्तुत गरेको १६५ रनको लक्ष्य मुम्बईले खेल सकिन पाँच बल बाँकी छँदा भेट्टाएको थियो । उसका लागि दायाँहाते ब्याट्सम्यान सूर्यकुमार यादवले सर्वाधिक ७९ रनको नट आउट पारी खेले । यादवले ४३ बलको पारीमा १० चौका र ३ छक्का प्रहार गरेका थिए । उनी म्यान अफ दि म्याच पनि घोषित भए । अन्य ब्याट्सम्यानहरूमा क्विन्टिन डि कक १८, ईशान किसन २५ तथा हार्दिक पाण्डेय १७ रन बनाएर आउट भए । रोहित शर्माको अनुपस्थितिमा टोलीको कमानी सम्हालेका किरोन पोलार्ड भने ४ रनमा अविजित रहे । बेंगलोरका मोहम्मद सिराज र यजुवेन्द्र चहलले दुई–दुई विकेट लिएपनि टोलीका लागि जीत दिलाउन भने सकेनन् । यस्तै क्रिश मोरिसका नाममा पनि एक विकेट रह्यो ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बेंगलोर सुखद सुरुवातका बावजुद पनि मध्यम योगफलमा रोकिन पुगेकोे थियो । उसले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाएर १६४ रनको योगफल तयार पारेपनि खेल जित्न पर्याप्त भने हुन सकेन । उसका ओपनरद्वय जोश फिलिपे र देवदत्त पदिकाल क्रमशः ३३ र ७४ रनमा आउट भएपनि बेंगलोरले लगातार विकेट गुमाउन सुरु गरेको थियो । फिलिपे र पदिकालबीच पहिलो विकेटका लागि ७१ रनका साझेदारी भएको थियो । १३१ रनमा ३ विकेट गुमाएको अवस्थामा रहेको बेंगलोरले थप ७ रन जोड्न ३ विकेट खर्चिएको थियो । पुच्छरमा ब्याटिङ गर्न पुगेका गुरकिरतमान् सिंहले अविजित १४ तथा वासिन्टन सुन्दरले नट आउट १० रन जोड्दै टोलीलाई प्रतिस्पर्धा गर्न लायकको योगफलसम्म डो¥याएका थिए । मुम्बईका जस्प्रित बुम्राहाले उत्कृष्ट बलिङ गर्दै आफ्नो ४ ओभरको स्पेलमा १ मेडेन राख्दै ३ विकेट लिए । जम्मा १४ रन खर्चिएका उनले बेंगलोर विरुद्ध विराट कोहलीको विकेट हात पार्दै आइपिएल करियरमा १०० विकेट पूरा गरे । यस्तै टेण्ट बोल्ट, राहुल चहर र पोलार्डले पनि १–१ विकेट हात पारे ।
जीतसँगै मुम्बई इण्डियन्सले थप दुई अंक जोडेको छ । १२ खेलमा ८ जीत र ४ हारसहित कूल १६ अंक बटुलेको ऊ अंकतालिकामा शीर्षस्थानमा रहेको छ । यसले मुम्बईलाई लिगको अन्त्यमा शीर्ष दुईभित्र रहन थप सहयोग गरेको छ । ८ टिमभरिमा सबैभन्दा उत्कृष्ट नेट रन रेट भएकाले पनि मुम्बईलाई प्ले अफ चरण पुग्न खासै कठिन देखिँदैन । समान १२ खेलमा ७ जीत र ५ हारको नतिजा निकालेको बेंगलोर भने तालिकामा १४ अंकसहित दोश्रो स्थानमा रहेको छ । तालिकामा बेंगलोरसँगै दिल्ली क्यापिटल्सको पनि समान १४ अंक छ । दिल्ली हाल तेश्रो स्थानमा रहँदा १२ खेलबाट १२ अंक बटुलेको पञ्जाब चौँथो स्थानमा छ । उसलाई कोलकत्ता नाइट राइडर्सले १२ तथा सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सले समान १०–१० अंकमा पछ्याइरहेका छन् । १२ खेलबाट जम्मा ८ रन जोडेकोे चेन्नई सुपर किंग्स भने प्रतियोगिताबाट बाहिरिसकेको छ ।
तेह्रौँ संस्करणको आइपिएलको ४९औँ खेलमा आज कोलकत्ता नाइट राइडर्स र चेन्नई सुपर किंग्सबीच खेल हुँदैछ । खेल दुबई मैदानमा नेपाली समयानुसार राति ७ः४५ बजे सुरु हुुँदैछ ।





