व्यावहारिक कानुनको सरल व्याख्या

नेपाल ल क्याम्पस काठमाडौँका सहप्राध्यापक तथा सर्वोच्च अदालत बार काठमाडौँका वरिष्ठ अधिवक्ता मुकुन्द शर्मा पौडेलद्वारा लिखित `दैनिक जीवनमा आवश्यक पर्ने कानुन´ नामक पुस्तक सद्यः प्रकाशनमा आएको छ । पुस्तक अध्ययन गर्दा शर्माले धेरै वर्ष प्राध्यापन गर्दाका अनुभव र खासगरी अधिवक्ताका रूपमा काम गर्दा देखेर, भोगेर र सुनेर प्राप्त गरेका अनुभवका आधारमा यो कृति तयार पारेका हुन् भन्ने बुझिन्छ ।

सैद्धान्तिक ज्ञान र व्यावहारिक अनुभवबाट निःसृत भएका कारण यसमा कोरा सैद्धान्तिक कुराभन्दा पनि दैनिक जीवनमा आवश्यक पर्ने कानुनको सरल र सुस्पष्ट व्याख्या गरिएको छ ।

पुस्तक तीन भाग र बाइस परिच्छेदमा विभाजित छ । भाग एक अन्तर्गत पारिवारिक, सामाजिक, लेनदेन व्यवहार र सम्पत्तिसम्बन्धी कानुनका बारेमा उल्लेख गरिएको छ भने भाग दुईमा आर्थिक, वाणिज्य, बैङ्क, सहकारी, कर र उपभोक्तासम्बन्धी कानुन समेटिएको छ । भाग तीनमा फौजदारी अपराध र सजायका बारेमा चर्चा गरिएको छ ।

परिच्छेद एकमा पारिवारिक कानुनअन्तर्गतका अंशबन्डा, विवाह, अपुताली, धर्मपुत्र/धर्मपुत्री र सम्बन्ध विच्छेदसम्बन्धी कानुनी व्यवस्थाका बारेमा जानकारी गराइएको छ भने परिच्छेद दुईमा सम्पत्ति र लेनदेनसम्बन्धी कानुनी व्यवस्थाका बारेमा उल्लेख गरिएको छ । यसअन्तर्गत घरसारको लिखत, सट्टापट्टा, दानबकस, अचल सम्पत्तिको हक सफा र बन्धकी, फलभोग, सुविधाभार, सरकारी/सार्वजनिक र सामुदायिक सम्पत्ति, घरबहाल आदि विषयसम्बन्धी कानुनका बारेमा जानकारी दिइएको छ । परिच्छेद तीनमा दुष्कृतिसम्बन्धी कानुनका बारेमा जानकारी दिइएको छ भने परिच्छेद चारमा व्यक्ति तथा नागरिकतासम्बन्धी कानुन र जन्म, मृत्यु आदि कुराको दर्तासम्बन्धी कानुनी प्रक्रिया के छ भन्नेबारेमा उल्लेख गरिएको छ । यसैगरी परिच्छेद पाँचमा ज्येष्ठ नागरिक तथा अपाङ्गतासम्बन्धी, परिच्छेद छमा सुरक्षित मातृत्व तथा प्रजनन सेवासम्बन्धी, परिच्छेद सातमा सामाजिक सुरक्षा, रोजगार, कानुनी सहायता, वैदेशिक रोजगार आदि विषयक्षेत्रका बारेमा कानुनी व्यवस्था के छ भन्नेबारे जानकारी दिइएको छ ।

अन्य परिच्छेदमध्ये आठौँमा स्थानीय तहका व्यक्ति र संस्थाको अधिकार केकस्तो छ भन्नेबारे जानकारी गराइएको छ भने नवौँ परिच्छेदमा भूमि, भूउपयोग, आवास र खाद्यअधिकारसम्बन्धी कानुनी व्यवस्थाका बारेमा उल्लेख गरिएको छ ।
अन्य परिच्छेदमध्ये दसौँमा अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी, एघारौँमा सवारी कानुनसम्बन्धी, बाह्रौँमा उपभोक्तासम्बन्धी, तेह्रौँमा बैङ्क तथा वित्तीय संस्था, लघुवित्त, बीमा, सेयर र सहकारीसम्बन्धी, चौधौँमा करकानुनसम्बन्धी, पन्ध्रौँमा उद्योग, व्यवसाय, प्राइभेट तथा साझेदारी फर्म र कम्पनीसम्बन्धी, सोह्रौँमा वनसम्बन्धी, सत्रौँमा मानव बेचबिखन, यौनदुर्व्यवहार, बोक्सीको आरोप, बहुविवाह, बालविवाह र हाडनाता अपराधसम्बन्धी कानुनी व्यवस्थाका बारेमा स्पष्ट पारिएको छ । यसरी नै मदिरा, जूवा, सट्टेबाजी, क्यासिनो, सिसिटिभी र सुर्तीजन्य एवम् धुम्रपानसम्बन्धी कानुनका बारेमा अठारौँ परिच्छेदमा स्पष्ट पारिएको छ भने उन्नाइसौँ परिच्छेदमा जातीय भेदभाव, छुवाछूत, धर्म, घरेलु हिंसाजस्ता कुरामा कानुनी व्यवस्था केकस्तो छ भन्नेबारे स्पष्ट पारिएको छ ।

पुस्तकका बीसौँ परिच्छेदमा लागुऔषध र भ्रष्टाचारसम्बन्धी, एक्काइसौँ परिच्छेदमा ज्यानसम्बन्धी कसुर, कुटपिट, अङ्गभङ्ग, गैरकानुनी थुना, बेपत्ता, अपहरण, बन्धक, कैद, जरिवाना, मिलापत्र, पीडित राहतकोष आदि विषयमा र अन्तिम बाइसौँ परिच्छेदमा सार्वजनिक शान्ति, न्याय, स्वास्थ्य आदि विषयका सम्बन्धमा व्यवस्था गरिएको कानुनका बारेमा जानकारी गराइएको छ ।

यसरी पुस्तकमा हरेक व्यक्तिको जीवनसँग जोडिएका कुरासँग सम्बन्धित कानुनी व्यवस्थाका बारेमा अति सरल तरिकाले व्याख्या गरिएको छ । प्रस्तुत पुस्तक प्रत्येक स्थानीय निकाय र स्थानीय निकायमा काम गर्ने सरोकारवाला व्यक्तिका लागि त अत्यन्त उपयोगी छ नै त्यसका अतिरिक्त जोकोही सर्वसाधारण व्यक्तिका लागि पनि आवश्यक छ । यो पुस्तक कानुनव्यवसायी, अध्यापक/प्राध्यापक, कानुनका विद्यार्थी, मेलमिलापकर्ता, जनप्रतिनिधि र समाजसेवामा लागेका जोकोही व्यक्तिलाई पनि जुनसुकै विषयमा कानुनी व्यवस्था के छ भनी तुरुन्त हेर्नबुझ्नका लागि उपयोगी छ । यसले कानुनका विषयमा धेरैवटा र ठूलाठूला ठेली पल्टाउन पर्ने समस्याको समाधान गरिदिएको छ । केही छुटेका विषयलाई समेट्दै जाने हो र उल्लेख गरिएका प्रावधानबारे कोष्ठकभित्र सन्दर्भ दिने हो भने पुस्तकको महत्त्व अझै बढ्ने देखिएको छ ।

सरल भाषा र शैलीमा कानुनका आँखा खोलिदिने यस्तो उपयोगी पुस्तक प्रकाशन गरेकामा लेखकलाई बधाइका साथै धन्यवाद छ । आगामी दिनमा यो अझ परिष्कृत र परिमार्जित भई आउनेछ भन्ने विश्वासका साथ लेखकको उत्तरोत्तर प्राज्ञिक उन्नयनको कामना गर्दछु ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट