कोरोना महामारीबीच मनाइँदै चाडपर्व

भरतपुर, १२ कार्तिक ।

यतिबेला संसार नै कोरोना भाइरस महामारीको चपेटामा परेको छ । महामारी सुरु भएको करिब १० महिना नाघिसक्दा पनि संक्रमण फैलने दरमा कमी आउन सकेको छैन । शक्तिशाली भनिएका राष्ट्रहरूले कोरोना भाइरस प्रतिरोधी खोप निर्माणका लागि अनुसन्धान पनि नथालेका भने होइनन् । तर हालसम्म खोपको उत्पादनमा कसैले पनि सफलता पाउन सकेका भने छैनन् । यस्तो अवस्थामा मानिसहरूले अब कारोनासँगै बाँच्न सिक्नुपर्ने विचार राख्न थालेका छन् ।

यो साल कोरोना महामारीका कारण चाडपर्व पनि फिक्का महसुस भए । महामारी सुरु भएपछि न होली पर्वमा कुनै उल्लास थियो न त विजयादशमीमा कुनै रौनक नै । तर पनि धेरै सीमितताका बीच नेपालीले यस पटको दशैँ जसोतसो टारेका छन् । अघिल्ला वर्षहरूका दशैँमा टीका थाप्न आफन्त तथा मान्यजनका घर पुग्ने मान्छेहरूको खुबै घुँइचो लाग्ने गर्दथ्यो । सार्वजनिकदेखि निजी सबै सवारीसाधनमा यात्रुको चाप उस्तै खचाखच हुन्थ्यो । कोरोना संक्रमण फैलाउने क्षेत्र भएका कारण सार्वजनिक सवारीसाधनको सञ्चालनमा विभिन्न कार्यविधि लागू गरिएपछि यस पटक न त उल्लेख्य मात्रामा सवारी चले न त सवारीसाधनमा यात्रुको चाप नै रह्यो ।

कतिपय समुदायमा दशैँको टीका पूर्णिमासम्म नै लगाउने पनि चलन छ । निधारमा टीका र कानमा जमरा सिउरिएर गन्तव्यतिर लाग्नेको भीड पाँचै दिनसम्म देखिन्थ्यो । यो पटक भरतपुरका बस स्टेण्डहरूमा त्यस्ता भीड नगण्य मात्रामा देखिए । चौबिसकोठी चोकमा माडी, मेघौली तथा पूर्वी चितवनतर्फ जाने बस अडिएर बसेका थिए । तर बसमा यात्रुको चाप खासै थिएन । सार्वजनिक सवारी साधन सञ्चालन गर्दा न्यूनतम जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने भनिएको भएपनि सबैले नियम मानेका भने छैनन् ।

लामो दूरीमा चल्ने विशिष्ट प्रकारका डिलक्स तथा पर्यटक चढ्ने बसमा भने आधा सीट क्षमतामा यात्रु चढाइने गरेको छ । ती बसमा यात्रुका लागि फेस सिल्ड, मास्क तथा सेनिटाइजरको व्यवस्था गर्ने गरिएको छ । यात्रुहरू एउटै परिवारका सदस्य भएका खण्डमा बाहेक अन्य बेला एउटा लहरको सीटमा एक जना मात्रै यात्रु राखिने गरेको छ । सो अवस्थामा एउटा यात्रुले दुई वटा सीटको भाडा तिरेर यात्रा गर्नुपर्ने व्यवस्था बनेको छ । डिलक्स बाहेकका सामान्य तथा छोटो दूरीका बसमा भने यात्रुले जोखिम मोलेरै यात्रा गर्ने गरेका छन् । त्यस्ता सवारी साधनमा यात्रा गर्ने यात्रुले मास्क लगाउने गरेको भएपनि शारीरिक दूरी भने कायम गरेको देखिँदैन ।

चाडपर्वका समयमा आफन्तकहाँ जाँदा फलफूल कोसेली लैजाने चलन पनि रहँदै आएको थियो । चितवन लगायत शहरी क्षेत्रमा खास गरी दशैँ तिहारका समयमा स्याउ, केरा लगायत फलफूलहरूको माग सधैं उच्च रहने गरेको थियो । यस पटक भने कोरोना महामारीका कारण फलफूल व्यवसायमा पनि घाटा पुगेको व्यापारी तथा किसानहरू बताउँछन् । कतिपय ठाउँमा बजार नपाउँदा फलफूल खेतमै कुहिने अवस्थामा पुगेका छन् त कतै बजारको नजिकै भएर पनि उपभोक्ताले फलफूल किन्नमा रुचि देखाएका छैनन् । फलफूल तथा तरकारीबाट पनि कोरोना सर्छ भन्ने अफवाहका कारण पनि तिनको बिक्रीवितरण प्रभावित बन्न पुगेको हो । “यस पटक बजारमा मान्छेको चहलपहल नै छैन । व्यापार हुने त कुरा नै भएन”, माडी नगरपालिका घर भई भरतपुरमा फलफूल व्यवसाय चलाउँदै आएका कृष्ण पौडेलले भने ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट