भरतपुर, ११ कार्तिक ।
इण्डियन प्रिमियर लिग आइपिएल टिट्वान्टी अन्तर्गत पछिल्लो खेलमा किंग्स इलवेन पञ्जाब विजयी भएको छ । सोमबार राति सम्पन्न खेलमा उसले कोलकोत्ता नाइट राइडर्सलाई ८ विकेटले हराएको हो । जारी प्रतियोगितामा पञ्जाबको यो लगातार पाँचौँ जीत हो ।
कोलकत्ताले दिएको १५० रनको लक्ष्य पञ्जाबले १८ ओभर ५ बलमा भेट्टाएको हो । उसका लागि मन्दीप सिंहले अविजित ६६ रनको योगदान गरे । ५६ बलको सामना गरेका उनले ८ चौका र २ छक्का प्रहार गरे । कप्तान लोकेश राहुल २८ रनमा आउट हुँदा क्रिश गेलले पनि ५१ रनको पारी खेले । म्यान अफ दि म्याच समेत बनेका गेलले २९ बलमा २ चौका र ५ छक्का प्रहार गरे । बलिङतर्फ भने लोकी फर्गुसन र वरुण चक्रवर्तीले १–१ विकेट हात पारे ।
यसअघि शारजाह मैदानमा टस जितेर पञ्जाबले पहिले फिल्डिङ गर्ने निर्णय लिएको थियो । पञ्जाबको कसिलो बलिङसामु कोलकत्ताले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४९ रन मात्रै बनाउन सक्यो । कोलकत्ताका शुुभमन गीलले ५७ तथा कप्तान इयोन मोर्गनले ४० रन बनाउनु बाहेक अन्यको प्रदर्शन बिर्सनलायक रह्यो । पारीको अन्त्यमा १३ बलको सामना गरेका लोकी फर्गुसन भने २४ रनमा नट आउट रहे । पञ्जाबका मोहम्मद समीले सर्वाधिक ३ विकेट हात पार्दा क्रिश जोर्डन र रवि विस्नोयीले पनि २–२ विकेट लिए । यस्तै मुरुगन अश्विन र ग्लेन म्याक्स्वेलले पनि १–१ विकेट चट्काए ।
जीतसँगै पञ्जाबले थप दुई अंक बटुलेको छ । १२ खेलमा ६ जीत र ६ हार बेहोरेको पञ्जाबले कूल १२ अंक जोडेको छ । एक समय लिगको अंकतालिकामा अन्तिम स्थानमा रहेको उसले पछिल्ला पाँच खेलमा लगातार जीत दर्ता गराएको हो । १२ अंक बटुलेको कोलकत्ताले पनि समान १२ खेलमा ६ जीत र ६ हार बेहोरेको छ । कोलकत्ताको भन्दा राम्रो नेट रन रेट रहेका कारण पञ्जाब तालिकाको चौँथो स्थानमा उक्लिन सफल भएको छ । कोलकत्ता भने पाँचौँ स्थानमा झर्न पुगेको छ ।





