भरतपुर, १० कार्तिक ।
इण्डियन प्रिमियर लिग आइपिएल टिट्वान्टी क्रिकेट प्रतियोगिताको प्लेअफ चरणका खेलहरूको समयतालिका घोषणा गरिएको छ । भारतीय क्रिकेट बोर्डले तालिकाको घोषणा आइतबार साँझ गरेको हो ।
बोर्डका अनुसार प्लेअफका खेलहरू आगमी नोभेम्वर ५ देखि ९ तारिखसम्म खेलिनेछन् । नोभेम्बर ५ तारिखका लागि तोकिएको पहिलो क्वालिफायर खेल दुबईमा खेलिनेछ । यस्तै ६ तारिखमा इलिमिनेटर र ८ तारिखमा दोश्रो क्वालिफायर खेल खेलिनेछन् । दुवै खेल अबु धाबीमा खेलिनेछन् । फाइनल भने १० तारिखका दिन दुबईमा खेलिने बोर्डले जनाएको छ । सबै खेल त्यहाँको स्थानीय समयानुसार साँझ ६ बजे (राति ७ः४५ नेपाली समय) सुरु हुनेछन् ।
लिगको अन्त्यमा अंकतालिकामा पहिलो र दोश्रो स्थानमा रहेका टोली पहिलो क्वालिफयरमा भिड्नेछन् । सो खेलको विजेताले सीधै फाइनल खेल्ने मौका पाउनेछ । यस्तै तालिकाको तेश्रो र चौँथो स्थानमा रहेका टोली भने इलिमिनेटरमा भिड्नेछन् । सो खेल हार्ने टोली प्रतियोगिताबाट बाहिरिनेछ भने जित्ने टोलीले दोश्रो क्वालिफायरमा पहिलो क्वालिफायरको पराजित टोलीसँग खेल्नेछ । दोश्रो क्वालिफयर खेल जित्ने टोलीको भेट अन्ततः फाइनलमा पहिलो क्वालिफायरको विजयी टोलीसँग हुनेछन् ।
लिगको अंकतालिकामा हाल मुम्बई इण्डिन्स, दिल्ली क्यापिटल्स, रोयल च्यालेन्जर्स बेंगलोर र कोलकत्ता नाइट राइडर्स क्रमशः पहिलो, दोश्रो, तेश्रो र चौँथो स्थानमा रहेका छन् । शीर्ष तीन टोलीको समान १४ अंक छ भने कोलकत्ताको १२ अंक छ । यस्तै पाँचौँ स्थानको किंग्स इलवेन पञ्जाब र छैटौँ स्थानको राजस्थान रोयल्सको पनि समान १०–१० अंक रहेको छ । ११ खेलबाट ८ अंक बटुलेको सनराइजर्स हैदराबाद सातौँ स्थानमा छ भने आठौँ स्थानको चेन्नई सुपर किंग्सको पनि ८ अंक छ । जारी प्रतियोगिताबाट बाहिरिने चेन्नई पहिलो टोली बनेको छ । लिगमा चेन्नई र राजस्थानले हालसम्म १२–१२ खेल खेलेका छन् भने अन्य टोलीले ११–११ खेल खेलेका छन् ।
यस्तै भारतीय क्रिकेट बोर्डले तीन टिम सम्मिलित महिला आइपिएल प्रतियोगिताका लागि पनि समयतालिकाको घोषणा गरेको छ । प्रतियोगिता नोभेम्वर ४ देखि ९ सम्म खेलिनेछ । सबै खेल रातिको समयमा खेलिनेछन् । प्रतियोगितामा सुपरनोभा, भेलोसिटी र टे«लब्लेजर्सले लिग चरणमा एकअर्कासँग एउटाएउटा खेल खेल्नेछन् । शीर्ष दुई टोलीले फाइनलमा उपाधिका लागि भिड्नेछन् ।





