भरतपुर, ९ कार्तिक ।
इण्डियन प्रिमियर लिग आइपिएल टिट्वान्टी अन्तर्गत आइतबार खेलिएको पहिलो खेलमा चेन्नई सुपर किंग्स विजयी भएको छ । चेन्नईले रोयल च्यालेन्जर्स बेंगलोरलाई ८ विकेटले हराउँदै प्रतियोगिताको चौँथो जीत दर्ता गराएको हो ।
बेंगलोरले प्रस्तुत गरेको १४६ रनको लक्ष्य चेन्नईले खेल सकिन ८ बल बाँकी छँदा भेट्टाएको हो । उसका लागि ओपनर रुतुराज गाइक्वदले नट आउट ६५ रनको पारी खेले । ५१ बलको सामना गरेका उनले आफ्नो खातामा ४ चौका र ३ छक्का लेखाएका थिए । उनी म्यान अफ दि म्याच समेत घोषित भए । अर्का ओपनर फाफ डु प्लेसिस २५ रन बनाएर आउट हुँदा अम्बाती रायुडुले ३९ रनको योगदान दिए । कप्तान महेन्द्र सिंह धोनी भने १९ रनमा नट आउट रहे । बेंगलोरका तर्फबाट १ विकेट क्रिश मोरिसले लिँदा अर्काे विकेट भने यजुवेन्द्र चहलले चट्काए ।
यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको बेंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४५ रनको सामान्य योगफल बनाएको थियो । उसका कप्तान विराट कोहलीले ५० रनको योगदान गर्दा एबी डे भिल्लर्सले ३९ रनको पारी खेले । यस्तै देवदत्त पदिकाल र एरोन फिन्च क्रमशः २२ र १५ को स्कोरमा आउट भए । बेंगलोरका ब्याट्सम्यानलाई आक्रमक खेल प्रस्तुत गर्नबाट रोक्न चेन्नईका अलराउण्डर सेम कुरानले ३ विकेट लिए । दीपक चहरले आफ्नो पोल्टामा दुई विकेट लेखाउँदा मिचेल स्यान्टनरले पनि १ विकेट चट्काए ।
जीतसँगै चेन्नईले थप दुई अंक हात पारेको छ । १२ खेलमा ४ जीत र ८ हारसहित ऊ कूल ८ अंकमा तालिकाको सातौँ स्थानमा उक्लिएको छ । आफूले खेलेका ११ खेलमध्ये ७ मा जीत र ४ मा हार बेहोरेको बेंगलोर भने १४ अंकमा तालिकाको तेश्रो स्थानमा यथावत् रहेको छ ।





