भरतपुर, ९ कार्तिक ।
इण्डियन प्रिमियर लिग आइपिएल टिट्वान्टी अन्तर्गत शनिबार राति सम्पन्न खेलमा किंग्स इलवेन पञ्जाबले सनराइजर्स हैदराबादलाई १२ रनले हराएको छ । पञ्जाबले प्रस्तुत गरेको जम्मा १२७ रनको लक्ष्य भेट्टाउन समेत हैदराबाद असफल भएको हो ।
पञ्जाबले दिएको झिनो रनको लक्ष्य पछ्याउने क्रममा हैदराबाद १९.५ ओभरमा ११४ रनमा अल आउट भयो । हैदराबादका कप्तान डेविड वार्नरले अनुकूलको सुरुवात गरेको भएपनि अन्य खेलाडीको प्रदर्शन भने चाखलाग्दो रहेन । वार्नरले २० बलमा ३५ रनको योगदान गर्दा जोनी बेयरस्टो १९ तथा मनिष पाण्डे १५ रनमा आउट भए । हैदराबादका लागि अलराउण्डर विजय शंकरले दोश्रो सर्वाधिक २६ रन बनाए । उसका ६ खेलाडी दोहोरो स्कोर नछोई आउट हुँदा उनीहरूमध्ये ३ जना डक आउट भए । पञ्जाबलाई अप्रत्याशित जीत दिलाउन पञ्जाबका क्रिश जोर्डन र अर्सदीप सिंहले समान ३–३ विकेट लिए । त्यस्तै माहम्मद समी, मुरुगन आश्विन र रवि विस्नोयीले पनि १–१ विकेट चट्काए । म्यान अफ दि म्याच समेत घोषित जोर्डनले आफ्नो ४ ओभरको स्पेलमा जम्मा १७ रन खर्चिएका थिए ।
यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हैदराबादले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएको थियो । पञ्जाबका ब्याट्सम्यान पनि पहिलो पारीमा हैदराबादका बलर विरुद्ध खुलेर खेल्न सकेका थिएनन् । पूरै २० ओभर खेलेको पञ्जाबले ७ विकेट गुमाउँदै जम्मा १२६ रनको योगफल तयार पारेको थियो । उसका लागि कप्तान लोकेश राहुलले २७, निकोलस पुरानले अविजित ३० तथा क्रिश गेलले २० रनको योगदान दिए । यस्तै खेल हुँदाका दिन आफ्ना पितालाई गुमाउन पुगेका मन्दीप सिंह १७ रन बनाएर आउट भए । पञ्जाबलाई कम योगफलमा रोक्न सन्दीप शर्मा, जेशन होल्डर र रसिद खानले २–२ विकेट लिएका थिए ।
हैदराबादलाई हराउँदै २ अंक जोडेको पञ्जाब अंकतालिकाको पाँचौँ स्थानमा पुगेको छ । उसले ११ खेलमा ५ जीत र ६ हारसहित कूल १० अंक जोडेको छ । पछिल्ला ४ खेल खेल्नुअघि जम्मा २ अंकसहित तालिकाको अन्तिम स्थानमा रहेको पञ्जाबले उत्कृष्ट सुधार गरेको हो । उता हैदराबादले भने ११ खेलमा ४ जीत र ७ हारसहित ८ अंक जोडेको छ । ऊ तालिकाको छैटौँ स्थानमा रहेको छ ।





