नेपाली क्रिकेटका पारसमणि

भरतपुर, कार्तिक ७ ।

मिथकमा पारसमणिका बारेमा थुप्रै कहानीहरू सुन्न पाइन्छ । पारस मणिले ढुंगा वा अन्य कुनै धातु छोएपछि त्यो वस्तु सुनमा परिणत हुन्छ रे भन्ने कुरा साँच्चै नै अपत्यारिलो थियो । नेपाली क्रिकेट टोलीसँग नि एउटा त्यस्तै पारसमणि छन् । जसले बामे सर्दै गरेको नेपाली क्रिकेटलाई एउटा उचाइसम्म पु¥याइदिए । उनी हुन् नेपाली क्रिकेट टोलीका पूर्वकप्तान – पारस खड्का । नेपाली क्रिकेट प्रमीका लागि उनी हाल एउटा सुपरिचित पात्र बनिसकेका छन् ।

पारसको जन्म वि.सं २०४४ साल कार्तिक ७ गते काठमाडौँमा भएको हो । सानै उमेरदेखि खेलकूदमा रुचि राख्ने पारस पढाइमा पनि औसत विद्यार्थी मानिने गर्दथे । “सानो छँदा मौसम अनुसारको खेल खेलिन्थ्यो । फिफा विश्वकप चलिरहेका बेला फुटबल खेल्थ्यौँ । क्रिकेट विश्वकप हुँदा क्रिकेट खेल्थ्यौँ”, उनी आफ्नो बाल्यकाललाई यसरी सम्झिन्छन्, “बानेश्वरमा हामी बस्ने ठाउँ नजिकै फाँटैफाँट थिए । छुट्टीका दिन त्यहीँ गएर खेल्थ्यौँ ।” पारसले क्रिकेट खेल्न थाल्दाको समयताका नेपालमा खासै क्रिकेटको विकास भइसकेको थिएन । सामान्य टेनिस बल किन्ने गरेको भएपनि ब्याट भने काठका टुक्राटुक्री जोरजाम गरेर बनाउने गरेको उनी सुनाउँछन् ।

पछि नयाँ वानेश्वरस्थित साउथ प्वाइन्ट बोर्डिङ हाइ स्कुलमा पढ्दै गर्दा एक दिन उनले केबी खत्री अन्तरविद्यालय क्रिकेट प्रतियोगिताका बारेमा पत्रिका पढेर थाहा पाउन पुगे । सो पत्रिकाको कटिङ लिएर पारस आफ्नो विद्यालयका खेलकूद शिक्षकसम्म पुग्छन् । “त्यो बेला खासै धेरै प्रतियोगिता हुँदैन थिए । त्यही भएर मैले नै स्पोर्ट्स टिचरलाई उक्त प्रतियोगितामा हामी पनि भाग लिऔँ न भनेर आग्रह गरेको थिएँ”, पारसले सुनाए । आयोजकसँग पटकपटकको अनुरोधपछि बल्ल पारसको स्कुलले प्रतियोगितामा ठाउँ पायो । त्यहाँबाट पारस औपचारिक रूपमा क्रिकेटर भनेर चिनिन थाले । संयोगले उनको विद्यालय प्रतियोगिताको फाइनलमा मात्रै पुगेन, पारसको कप्तानीमा प्रतियोगिताको उपाधि नै कब्जा गर्न सफल भयो । त्यहाँबाट पारस काठमाडौँको क्षेत्रीय टिममा छनौट हुन पुगे । त्यो घटना उनको लामो क्रिकेट यात्राको पहिलो पाइला मात्रै थियो ।

पारसले नेपाललाई पहिलो पटक सन् २००२ मा संयुक्त अरब एमिरेट्समा आयोजित यू–१५ उमेर समूहको एसिया कपमा प्रतिनिधित्व गरेका थिए । त्यसपछि सन् २००३ मा पाकिस्तानको कराँचीमा आयोजित युथ एसिया कप खेलेका पारसले सन् २००४, २००६ र २००८ गरी तीन संस्करणका यू–१९ विश्वकपमा पनि आफ्नो छाप छोड्न सफल भएका थिए । २००८ को यू–१९ विश्वकपमा पारसले कूल १२ विकेट लिँदै टोलीलाई प्लेट फाइनलसम्म पु¥याएका थिए । पारसले नेपाली सिनियर क्रिकेट टोलीबाट सन् २००४ को अन्तरमहादेशीय कपमा डेब्यु गरेका थिए । उक्त प्रतियोगिता फस्र्ट क्लास फम्र्याटमा खेलाइने गरिन्छ ।

प्रखर नेतृत्व शक्तिका खानी पारसले सन् २००९ देखि भने सिनियर टोलीकै कमानी सम्हाल्न थाले । पुराना कप्तानहरूले मिहिनेत गरेर टोलीलाई जस्तो स्थितिमा ल्याएका थिए, पारसले त्यसमा थप इँटा राख्दै गए । उनको नेतृत्वदायी भूमिका र अन्य खेलाडीको अथक परिश्रमले नेपाली क्रिकेटलाई यो सुनौलो मोडसम्म ल्याएको छ । नेपाली क्रिकेटले प्राप्त गरेको उपलब्धिलाई हेर्ने हो भने पारस हालसम्मका सबैभन्दा सफल कप्तान मानिन्छन् । सन् २०१० मा नेपालले उनकै कप्तानीमा आइसीसी वल्र्ड क्रिकेट लिग डिभिजन फाइभको उपाधि जितेको थियो । त्यसपछि पटकपटकको बडुवा र घटुवा सहँदै नेपाली क्रिकेट पारसकै कप्तानीमा लिग टु सम्म आइपुगेको हो । सो क्रममा नेपालले २०१२ को लिग डिविजन फोर र २०१४ को लिग डिविजन थ्री उपाधि पनि जितेको थियो । सन् २०१८ को लिग डिभिजन टु मा दोश्रो स्थान हात पार्दै नेपालले सोही वर्ष विश्वकप छनौट पनि खेलेको थियो । विश्वकप छनौट प्रतियोगिताको नवौँ स्थानका लागि भएको प्रतिस्पर्धामा पापुवा न्यू गिनीलाई हराउँदै नेपालले पहिलो पटक एकदिवसीय मान्यता पाएको थियो ।

यसअघि सन् २०१४ मा पहिलो पटक टिट्वान्टी वल्र्ड कप खेल्दा चुलिएको नेपाली क्रिकेटको उचाइ एकदिवसीय मान्यता पाएपछि अझै माथि आकाशिन पुग्यो । नेपालले एकदिवसीय मान्यता पाएपछि पहिलो पटक नेदरल्याण्डविरुद्ध दुई ओटा खेलको शृंखला खेल्या । पारसकै कप्तानीमा खेलिएको त्यो शृंखलामा नेपालले १–१ को बराबरी खेलेको थियो । गत वर्षको अक्टोबरमा कप्तानकोे पदबाट राजिनामा दिनुपूर्व उनले कूल ६ खेलमा टोलीको कमानी सम्हालेका छन् । जसमध्ये ३ खेलमा नेपालले जीत हात पारेको थियो । नेपाललाई युएई विरुद्ध पहिलो एकदिवसीय शृंखला जिताउने क्रममा पनि पारसले नेतृत्वदायी भूमिका खेलेका थिए । टिट्वान्टी अन्तर्राष्ट्रियतर्फ भने उनले २६ मध्ये ११ खेलमा नेपाललाई जीत दिलाएका छन् ।

पारसले हालसम्म कूल ६ ओडिआई खेलमा ३९.१६ को औसतमा २३५ रन बनाएका छन् । एकदिवसीय तथा टिट्वान्टी दुवै प्रारूपका क्रिकेटमा नेपालीका हैसियहतले शतक प्रहार गर्ने पारस पहिलो खेलाडी हुन् । पारसले ओडिआईमा भने हालसम्म ६ विकेट लिन सफल भएका छन् ।

झट्टा हेर्दा यी सबै उपलब्धि सजिलै आर्जन गरिएझैँ लाग्छ । नेपाली क्रिकेटको सर्वाेच्च निकाय नेपाल क्रिकेट संघ क्यान निलम्बनमा पर्दाको धमिलो समय होस् या त विदेशी भूमिमा खेल जितेर स्वदेश फर्कँदा नेपालीले दिनेगरेको अविष्मरणीय स्वागत, पारसले हरेक मोडलाई उसै गरी झेलिरहे । आफ्नो पसिनालाई राष्ट्रका नाममा सुम्पिएर सदैव राष्ट्रकै लागि केही गरौँ भन्ने प्रण भएका सम्पूर्ण युवाहरूका आदर्श पुरुष पारस खड्कालाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट